![बबिताको नेतृत्वमा म्युजिक भिडियो निर्देशक समाज](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Music-vidio-nirdesak-samaj.jpg)
गैँडाकोट नगरपालिका-५, पारिजात टोल निवासी विशाल ढकाल रोजगारीका सिलसिलामा अष्ट्रेलियामा बस्दै आउनुभएको छ । उहाँले २०५६ सालदेखि संगीत यात्रामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । ‘पिरतीको नाउँमा सधैं..’ उहाँले संगीत भरेको पहिलो गीत थियो । यो गजल वरिष्ठ कवि गोविन्दराज विनोदीको सिर्जना हो । ढकालले १९ वर्षसम्म शिक्षण पेशामा पनि बिताउनुभयो । गैँडाकोटस्थित बालविकास स्कुलमा शिक्षण गर्नुभएका ढकाल नेपाल रोयल्टी संकलन समाजका सदस्य हुनुहुन्छ । उहाँले वरिष्ठ संगीतकारहरू अम्बर गुरुङ, नातिकाजी, गोपाल योञ्जन, भक्तराज आचार्य, शम्भुजित बाँस्कोटालगायतको संगीतबाट आफू प्रभावित बनेको बताउनुभयो । ढकाल अहिलेसम्म दुई सयवटा गीतमा संगीत भरेको दाबी गर्नुहुन्छ । उहाँको संगीतमा राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिव परियार, दीपक लिम्बू, जगदीश समाल, अञ्जु पन्त, माण्डवी त्रिपाठी, प्रवीन वेदवाल, रामचन्द्र काफ्ले, अस्मिता अधिकारी, निशान भट्टराई, मिलन अमात्य, रिमा गुरुङलगायतले स्वर दिनुभएको छ । खासगरी गजल र आधुनिक गीतमा संगीत भर्नुभएका ढकालले ‘जोश’ र ‘बादशाह’ जस्ता चलचित्रमा पनि संगीत दिनुभएको छ । विदेशमा रहेर पनि सांगीतिक जीवनमा सक्रियताका साथ लागिपर्नुभएका ढकाल अन्य विभिन्न स्थानीय एवं राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ । नेपाल सरकारबाट २०७५ सालको नवलपरासी जिल्लाको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित ढकालले ‘पिरतीको नाउँमा सधैं’ र ‘जहाँ स्वर्गभन्दा प्यारो..’ जस्ता गीतबाट उत्कृष्ट संगीतकारका रूपमा राष्ट्रिय उपाधिसमेत प्राप्त गर्नुभएको छ । पिता कुलप्रसाद ढकाल र माता दुर्गामाया ढकालको सुपुत्रका रूपमा जन्मिनुभएका उहाँका श्रीमतीसहित छोरी श्रुति र छोरा श्रवणले गीतसंगीत कार्यमा साथ सहयोग पुर्याउँदै आउनुभएको छ । श्रोता दर्शकले कस्तो नेपाली गीत संगीत खोजिरहेका छन् भन्ने कुरालाई मनन गर्नुपर्छ भन्नुहुने संगीतकार विशाल ढकालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
आजकल केमा व्यस्त हुनुहुन्छ, निकै भयो नयाँ गीत नसुनिएको ?
हो, यहाँले भने जस्तै पछिल्लो समय मेरा गीत श्रोता/दर्शकमाझ आउन केही ढिला भएको छ । गतवर्ष कामको व्यस्तताले अलि ढिला भए पनि नयाँ सिर्जनात्मक सांगीतिक कोशेलीहरू यो वर्ष आउँदै छन् ।
नेपाली गीतसंगीतको अहिलेको अवस्था पहिलेभन्दा धेरै फराकिलो र सुगम हुँदै गएको छ । धेरै नयाँ सर्जकको यो क्षेत्रमा आगमन भएको र नयाँ प्रविधि धेरै भित्रिएको हुँदा अझ सहज भएको छ । नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न त्यसको संख्यात्मकभन्दा गुणात्मक र आफ्नो संस्कृति अनि श्रोता दर्शकले के-कस्तो नेपाली गीतसंगीत खोजिरहेका छन् भन्ने कुरालाई मनन् गर्नुपर्छ ।
नयाँ र पुराना पुस्तासँग काम गर्दाको फरक अनुभव ?
नयाँ संगीत सर्जकहरू अलि हतारमा देखिएका जस्ता र कालजयी संगीतभन्दा पनि छिटो चर्चामा आउन खोज्ने होडमा अगाडि बढेको देखिन्छ ।
यो क्षेत्रमा नयाँलाई पुरानाले कत्तिको सहयोग गर्छन् ?
नेपाली सुगम संगीतलाई अझ उचाइमा र अझ फराकिलो बनाउन पुरानो पुस्ताले नयाँ पुस्तालाई अवश्य साथ दिनुपर्छ जस्तो लाग्छ ।
यहाँलाई मनपर्ने संगीतकार, गीतकार, गायक, गायिकामा ?
आदरणीय सर्जकमा स्वरसम्राट नरायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य, गोपाल योञ्जन, नातिकाजी, शम्भुजित बास्कोटालगायत हुनुहुन्छ ।
नेपाली संगीतको हालको अवस्था कस्तो छ ? नेपाली गीतसंगीतलाई विश्व बजारसम्म पुर्याउन के गर्नुपर्ला ?
नेपाली सुगम संगीतको अहिलेको अवस्था पहिलेभन्दा धेरै फराकिलो र सुगम हुँदै गएको छ । धेरै नयाँ सर्जकको यो क्षेत्रमा आगमन भएको र नयाँ प्रविधि धेरै भित्रिएको हुँदा अझ सहज भएको छ । नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न त्यसको संख्यात्मकभन्दा गुणात्मक र आफ्नो संस्कृति अनि श्रोता दर्शकले के-कस्तो नेपाली गीतसंगीत खोजिरहेका छन् भन्ने कुरालाई मनन् गर्नुपर्छ जस्तो लाग्छ ।
यहाँको भावी योजना ?
यो वर्ष मेरा केही सांगीतिक कोशेली श्रोता दर्शकमाझ आउँदै छन् र मेरो सपना भनेको नै नेपाली सुगम संगीतलाई अझै फराकिलो र कालजयी संगीतहरू ल्याउने नै हो ।
यो क्षेत्रमा आउन चाहने नयाँलाई यहाँको सुझाव ?
संगीतलाई अन्तरमनदेखि नै बुझेर र यही क्षेत्रमा नै केही गर्छु भनेर आउनुहोस् भन्न चाहन्छु ।
अन्त्यमा ?
नेपाली संगीतलाई सानो भए पनि योगदान दिन सकूँ र मेरो पनि सानो योगदान छ है नेपाली संगीतप्रति भन्न सकूँँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच