स्वर्गद्वारीको ९५८ बिघा जमिन व्यक्तिको कब्जामा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । धार्मिक गुठी स्वर्गद्वारी आश्रमको ९५८ बिघा जमिन कब्जामा परेको छ । विभिन्न व्यक्तिले उक्त जमिन कब्जा गरेका हुन् । सशस्त्र द्वन्द्व सुरु भएपछि आश्रमको जग्गा व्यक्तिले कब्जा गर्न थालेका थिए । सशस्त्र द्वन्द्वको समाप्तीपछि मुक्त गराउन प्रशासन र अदालत धाउँदासमेत फिर्ता भएको छैन । आश्रमले देउखुरीमा रहेको ९९८ मध्ये ४० बिघा मात्र उपभोग गर्न पाएको छ । कतिपय जग्गाको उब्जनी ०४५ सालदेखि नपाएको आश्रमले बताएको छ ।

कुन जग्गामा को बसेको भन्ने पनि आश्रमलाई थाहा छैन । लमही नगरपालिका–३, अर्नहवास्थित जग्गामा सबैभन्दा बढी जग्गा कब्जा भएको छ । त्यहाँको ४० बिघा जग्गामा ८५ मोही थिए । आश्रमका नाममा ९९८ बिघा चार कठ्ठा सात धुर जग्गा छ । त्यसमा २८९ मोही छन् । ७७६ बिघा सात कठ्ठामा मोही लागेको छ । ३६७ बिघामा मोही छैन । दाङका अलावा आश्रमको नाममा प्युठानको खालमा २८ हजार ६७० रोपनी जंगल क्षेत्र छ । प्युठानकै अरङ खोला क्षेत्रमा १५५ रोपनी खेतीयोग्य जमिन छ । रोल्पाको रुन्टीमा १३ रोपनी छ । यीमध्ये रोल्पा र प्युठानको जग्गामा समस्या नभए पनि दाङको जग्गा कागजमा मात्रै छ । आश्रमले उपयोग गर्न पाएको छैन ।

दाङको टरिगाउँमा ७२ बिघा सात कठ्ठा साढे १० धुर जग्गा छ, जसमा १७ मोही छन् । सौडियारमा ९५ बिघा चार कठ्ठा १९ धुर जग्गामा ४९ मोही छन् । रामपुरमा १७६ बिघा १२ कठ्ठा दुई धुर जग्गामा ८७ मोही छन् । लमहीको चैलाहीमा ३७४ बिघा सात कठ्ठा १६ धुर जग्गामा ८५ मोही छन् । लमहीको सतबरियामा ९४ बिघा नौ कठ्ठा १० धुर जग्गामा १७ मोही छन् । घोराहीको ढोडेनी र झिंगौरामा १८५ बिघा दुई कठ्ठा १० धुर जग्गा छ, जसमा ३४ मोही छन् । आश्रमको जग्गामा मोही लागेका किसानको संख्या २८९ छ, तर जग्गा कब्जा गर्नेहरू आठ सयभन्दा बढी छन् । मोहीले पनि आयस्ता तिर्ने गरेका छैनन् ।

घोराही-१४, झिंगौरास्थित ९० बिघा जग्गामा पनि मनपरी छ । केहीले मोहीका नाममा, केहीले व्यवसाय गर्ने नाममा जग्गामा ठूला संरचना बनाइरहेका छन् । केही जग्गामा संरचना बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने भनेर घोराही उपमहानगरपालिकाले जिम्मा लिए पनि आश्रमले केही पाउन सकेको छैन । प्युठानको खालस्थित स्वर्गद्वारी मन्दिर राप्ती अञ्चलकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र हो । मन्दिरमा बर्सेनि देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत तीर्थयात्रु आउँछन् ।

आम्दानीको स्रोत बन्द भएपछि तीर्थयात्रुको बसोबासमा समेत समस्या हुन थालेको छ । धर्मशाला र गौशाला निर्माणको योजना भए पनि आर्थिक अभावमा अलपत्र परेको आश्रमले जनाएको छ । सरकारले आश्रमको सम्पत्ति सुरक्षामा ध्यान नदिँदा मनपरी बढदै गएको आश्रमको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?