पर्यटक आकर्षित गर्दै ‘होमस्टे’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । चार वर्ष अगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरूको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरूको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका-३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होम-स्टे) संचालन गरे ।

घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नुका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको हो । सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरूमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरूले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरू आफैँ गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत उनीहरूले नै गर्दै आएका छन् ।

घरबास सञ्चालक माया पुन घर्ती भन्नुहुन्छ, ‘होम-स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलो चौकोमै सीमित हुने हामीहरू गाउँ समाजमा आफ्ना कुराहरू राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु–सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।’

उहाँले घरबासलाई व्यावसायिक रूपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताउनुभयो । घरबास आफूहरूको आय स्रोतको माध्यम बन्नुको साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उहाँको भनाइ छ । पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकासका लागि पनि आफूहरू जुटिरहेको घर्ती बताउनुहुन्छ । ‘होमस्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय संभावना बोको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनीहरू एकताबद्ध भएर लागेका छौँ, विस्तारै व्यावसायिक बन्दै पनि छौँ’ घर्तीले भन्नुभयो, ‘होमस्टेले गाउँलेलाई एकताबद्ध बनाउनुको साथै सामाजिक कार्यमासमेत लाग्न प्रेरित गरेको छ ।’

स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाहरूको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरूले घाँस दाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गर्नुभयो । घरबास महिलाहरूका लागि आयआर्जनको स्रोतसमेत बनिरहेको उहाँको भनाइ छ । छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटकहरू भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा पनि परिवर्तन भएको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरूलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीत संगीत र नाचले मनोरञ्जन दिनका लागि आफूहरू निरन्तर लागि परेको बताउनुभयो । छन्त्यालले आफूहरूले अनुभव बटुल्दै, सिक्दै र व्यावसायिक बन्ने क्रममा रहेको बताउनुहुन्छ ।

‘हाम्रा लागि होमस्टे सञ्चालन गर्नु विल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने कामहरू धेरै छन् तर पनि हामी जाने बुझेको हिसाबले काम गरेका छौँ, केही कमी कमजोरी पाहुनाहरूले पनि औँल्याई दिनुहुन्छ, उहाँहरूको सुझावलाई पनि हामीले सहज रूपमा ग्रहण गरेका छौँ र सुधार गरिरहेका छौँ’ छन्त्यालले भन्नुभयो, ‘पाहुनाहरूले हामीबाट केही नयाँ कुराहरू सिक्नुहुन्छ भने हामीहरूले पनि उहाँहरूबाट नयाँ कुराहरू सिकिरहेका छौँ, यसले गर्दा यहाँका दिदीबहिनी र समुदायको पनि धेरै परिवर्तन हुँदै गएको छ ।’

गाउँलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्ष पहिले ‘बेलढुङ्गा सामुदायिक होमस्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । पर्यटकीय क्षेत्र बेलढुंगाको काखमा रहेको धम्जा ओखले गाउँ पनि सम्भावना बोकेको ठाउँ हुँदा आफूहरू सक्रिय रूपमा लागेको श्रीसले बताउनुभयो । घरबास सञ्चालनपछि यहाँका महिलाहरू व्यावसायिक बनेको र नेतृत्व विकाससमेत गरेको उहाँको भनाइ छ ।

गाउँमा १२ वटा घरमा घरबास सञ्चालनमा रहेका छन् । हामेस्टे सञ्चालनका लागि हालसम्म १८ लाख अनुदान प्राप्त भएको अध्यक्ष श्रीसले बताउनुभयो । गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरेको बताउनुभयो । उहाँले गाउँसम्म आउने सडक कच्ची भएको हुँदा बर्खाभर घरबास ठप्प भएको गुनासो पोख्नुभयो ।

उहाँले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा लोकल कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउनुहुन्छ । होमस्टे सञ्चालकहरूले पाहुनालाई मनोरञ्जन दिनका लागि मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ । होमस्टेनजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?