सरकारमा जाने विषयमा नेकपा एस सकारात्मक

एमालेसँग हतारमा एकता गर्न नहुने अधिकांशको धारणा

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्किएर सत्ताको नयाँ समीकरण निर्माण भइसकेको छ । आन्तरिक विवाद मिलाउन नसकेर डेढ वर्षअघि विघटन भएको नेकपाका विभिन्न घटकहरूमा नयाँ तरंग उत्पन्न भएको छ । तत्कालीन नेकपाका विभिन्न घटकहरू फेरि एक ठाउँमा उभिनुपर्ने अवस्थामा आइपुगेका छन् । एमालेले माओवादीको नेतृत्वमा सरकार बनाउन समर्थन गरेपछि लामो समयसम्म चलेको आरोप प्रत्यारोप र गाली गलौजको शृंखला केही दिनयता रोकिएको पनि छ । एमाले-माओवादी दीर्घकालीन सहकार्यदेखि एमाले–नेकपा एसबीच एकताको चर्चाले राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बढ्दो उठबस र नेकपा एसका अध्यक्ष माधव नेपालसँग एमालेका दोस्रो तहका नेताहरूको बाक्लो भेटघाटले त्यसलाई बल पु¥याइरहेको छ । चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको नेकपा एस पुरानो गठबन्धन छिन्नभिन्न भएपछि अप्ठ्यारो स्थितिमा पुगेको छ । पार्टीको आगामी कार्ययोजना र रणनीतिका बारेमा पनि अनिश्चय र अन्योलता देखिन्छ ।

सामाजिक सञ्जालमा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुन लागेको चर्चा भइरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष बेदुराम भुसाल भने एमालेसँग पार्टी एकता हुने तत्काल सम्भावना नभएको बताउनुहुन्छ । ‘अहिले धेरै हल्ला चलेको छ । एकाध साथीहरूले त्यस्तो चाहना नराख्नुभएको पनि होइन । तर, त्यो सम्भावना तत्काल देखिँदैन । हाम्रो उद्देश्य एकीकृत समाजवादीलाई बलियो बनाएर लैजाने भन्ने नै हो । वास्तविकता के हो भने एकाध साथीहरूले त्यस्तो चाहना राख्नुभएको छ । एकता गरेर जान पाए हुन्थ्यो भन्ने प्रस्ताव लिएर हाम्रा अध्यक्षलाई भेटिरहनु भएको छ । तर, तत्कालै पार्टी एकता हुने कुनै सम्भावना म देख्दिनँ । यी सबै फेसबुके हल्ला मात्र हुन् । हामी एकीकृत समाजवादीलाई नै बलियो बनाएर जान्छौँ’, भुसालले भन्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा पनि पार्टीले निर्णय गरिनसकेको उहाँले बताउनुभयो । ‘उहाँलाई समर्थन गर्ने विषयमा भर्खर त सरकार बनेको छ । सरकार बनाउने बेलै सामेल नभएकाले हामीलाई हतारो छैन । हेरौँ न, सरकार कसरी जान्छ भन्ने पनि त क्लियर भएको छैन । के कस्तो नीति योजना लिएर आउँछ, त्यो हेरेर विश्वासको मत लिने बेलासम्म निर्णय गर्छौं ।’

बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठक पनि भएको थियो । छलफलमा सहभागी अधिकांशले सरकारमा जानु ठिक हुने सुझाव पनि दिएका छन् । ‘प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा जानु नै उचित हुन्छ भन्ने धेरैको मत छ’, भर्चुअल बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘तर नेकपा एमालेसँग तत्काल एकतामा जान हतार हुने सुझाव धेरैले दिएका छन् ।’

मलाई राष्ट्रपति बनाउने कुरा हल्ला हो, एकताको विपक्षमा छैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताउनुभएको छ । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेस सँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताउनुभएको हो ।

यद्यपि, उहाँले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताउनुभयो ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ती बजार हल्लामा कुनै सत्यता छैन’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर, बजार हल्लाको पछि लाग्नु हुँदैन ।’ उहाँले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताउनुभयो । ‘दुवै पक्ष तयार हुनुपर्छ । अब पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उहाँले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताउनुभयो । एमालेसँगको विद्रोहदेखि आमनिर्वाचन सम्मका राजनीतिक घटनाक्रमको विश्लेषण सुनाउनुभएका अध्यक्ष नेपालले पछिल्लोपटक फेरिएको राजनीतिक समीकरण र कांग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताउनुभयो । उहाँले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?