नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने

Read Time = 5 mins

काठमाडाैँ । नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने उक्त कार्यक्रमका लागि विश्वभरका नेपाली भाषीले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्नेछन् ।

नक्साल स्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ । १८ बर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भन्नुभयो, “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।”
यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्नेछन् । प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुबै शोहरुको आवेदन दिने मिति जनवरी को अन्तिम तारिक तोकिएको छ ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् ।

साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने बताइएको छ ।

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले रु एक करोड पाउनेछन् ।

फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि रु एक करोड पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ ।

फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ ।
हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ ।

फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?