साँखुमा लाग्ने शालीनदी मेलाको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा एकमहिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधव नारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालीनदीमा एकमहिने व्रत बस्न चाहने व्रतालुहरूको अधिक सेवा र सुविधाका लागि पहिले नै लगत संकलनका लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

व्रतालुहरूलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट क्लब क्रुलगायत बन्दोबस्तीका सामानसहित स्वयंसेवकहरू परिचालित गर्ने बताइएको छ ।

साँखु शालीनदी पुग्नका लागि पर्याप्त बसहरूको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादरसमेत टाँसेर सेवासुविधा दिने, सुरक्षाका लागि शालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै, भक्तजनहरूका लागि स्वास्थ्यकर्मीहरूसहितको प्राथमिक उपचार कक्ष राखी निःशुल्करूपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरूका लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिले अपेक्षा गरेको छ । शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?