थप तीन मुलुकमा उडान सम्झौताको तयारी

Read Time = 3 mins

काठमाडौं । सरकारले थप तीन मुलुकमा सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ । अमेरिका, स्विट्जरल्याण्ड र रुवाण्डामा सिधा हवाई उडान सेवा सञ्चालनको तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को २४औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिका, स्विट्जरल्याण्ड र रुवाण्डामा हवाई उडान सेवा सम्झौता प्रक्रियालाई अघि बढाएको जानकारी दिनुभएको हो । बाहृय पर्यटकको संख्या नेपालमा बढ्दै गएकाले पनि ती मुलुकहरूमा सिधा हवाई उडान आवश्यक रहेको उहाँको भनाइ छ ।

अमेरिका, स्विट्जरल्याण्ड र रुवाण्डामा सिधा हवाई उडान सेवा सञ्चालन तयारी भइरहेको पर्यटन सचिव अधिकारीले जानकारी दिनुभएको छ ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले दुर्गम क्षेत्रमा उडान भर्ने वायुसेवा कम्पनीलाई आर्थिक राहत पुर्‍याउन अतिरिक्त समय सञ्चालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताउनुभयो । दुर्गम क्षेत्र हवाई कोष सञ्चालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायुसेवा कम्पनीको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइएको उहाँको भनाइ छ । क्यानले नेपालगञ्ज विमानस्थलबाट दुर्गम क्षेत्रमा महँगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

सो अवसरमा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न ट्रेड युनियनहरूलाई आग्रह गर्नुभयो । हवाई सेवाको कामले गति लिनेबित्तिकै त्यसबाट आउने मुनाफा ट्रेड युनियनको हितमा हुने उहाँको दाबी थियो । थापाले क्यानले हवाई उडानलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?