बाँकी जीवन आर्थिक विकास, समृद्धि अनि सामाजिक न्याय र सुशासनलाई जनतासँग कबुल गरेको छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 8 mins

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आईतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले बाँकि जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामू कवुल गरेको उल्लेख गर्दै सोही अनुसार आफूले काम गर्ने बताउनु भएको हो ।

उहाँले पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नु भयो । प्रधानमन्त्री दाहालले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै आफैले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत बताउनु भयो । उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरीमा नगरी पोखरामा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ । मैले शान्ति सम्झौतामा आएदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री भएदेखि नै लगातार पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको बारेमा यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग, विभिन्न राजनीतिक दलका नेताहरु, कार्यकर्ताहरु, उद्योग व्यवसायीहरु र आम जनतासँग निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएका ती दिनहरु मैले स्मरण गरेको छु । यो अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, संघर्ष, अनसनहरु, ती अनसन तोडनका लागि म आफैले लिएका पहलकदमी र भूमिकाहरु पनि आज मैले स्मरण गरिराखेको छु । साथसाथै मैले पहिलो पटक प्रधानमन्त्री हुँदा या दोस्रो पटक प्रधानमन्त्रीको रुपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दुतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेताहरुसँग मैले लगातार गरेका संवादहरु, अन्तरक्रियाहरुहरु स्मरण गरिरहेको छु । तपाईहरुसँगै हामी सबैका सपना यो अन्तराष्ट्रिय विमानस्थल निर्माण होस् । राम्रोसँग गुणस्तरीय रुपमा निर्माण होस् । र, यसले हाम्रो समग्र आर्थिक विकास एउटा नयाँ योगदान पोखराले गर्न सकोस् । यसै पनि पोखरा नेपालकै एउटा पर्यटकीय केन्द्रको रुपमा विश्वभरी परिचित त छदैछ । तर त्यसको सम्वद्र्धन र प्रवद्र्धनका निम्ति आजको जमानामा आवश्यक पर्नेभनेको कनेक्टिभिटी हो । भौतिक पूर्वाधार र जोडने संरचनाहरुनै हो । हाम्रो जस्तो भुपपरिवेष्ठित देशमा त्यो कनेक्भिटीमा थुप्रै माध्यामहरु छन । बाटोघाटो, रेलवे लाईन, ती सबै मध्ये पनि हाम्रो लागि अझ बढि आवश्यक र प्रभावकारी भनेको हवाई सेवा नै हो । र, त्यस क्रममा यसले कनेक्टिभिटीको क्षेत्रमा यो पोखरा अन्तराष्ट्रिय विमानस्थलले अव गर्दैछ आजदेखि । त्यसले यस जिल्लाको यस महानगरको र सिंगै राष्ट्रको पनि आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा कसैले पनि दुइमत राख्दैन । मलाई आज यसको उद्घाटन प्रधानमन्त्रीको हैसियतमा गर्दैगर्दा यो पटक खुसी हुनुको अर्को कारण पनि बनेको छ । मैले अहिले गण्डकी प्रदेशकै जनप्रतिनिधिको रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेको छु । र, गण्डकी प्रदेशप्रतिको मेरो जिम्मेवारी विशेष छ भन्ने मलाई यसै पनि महसुस छ । मेरो आफ्नो जन्मस्थल हुनुको नाताल कास्कीप्रति मैले सपथ लिनुभन्दा केही दिन अघि मात्रै म कास्की आएको थिए । र, यहाँका जनताले छिट्टै मलाई प्रधानमन्त्रीको रुपमा देख्न पाउँ भनेर हृदयदेखि नै भनेको ताजै छ मेरो मानसपटलमा । आज यहाँका जनताले चाहेजस्तै छिट्टै नै मैले तेस्रो पटक जनताको सेवा गर्ने प्रधानमन्त्रीको हैसियतमा अवसर पाएको छु । मैले भनेको छु–यो पटक हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने अठोट गरेका छौं । यहाँहरुलाई थाहा छ–मैले निर्वाचनका अभियानको दौरानमा देशैभरी घुम्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी, पूर्व एक नम्बर सबैतिर जाँदा पनि सामाजिक न्याय, सुशासन र विकास नै अव देशको एजेण्डा बन्नेछ, बन्नु पर्दछ । र, मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि मैले बाँकी जीवन अव आर्थिक विकास र समृद्धिमा, बाँकी जीवन अव सामाजिक न्याय र सुशासनमा भनेर मैले जनताको अगाडि कवुल गरेको छु । आज पोखरामा मेरो जन्मस्थानमा यो अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्दैगर्दा र तपाईहरुको यो भव्य र विशाल उपस्थिति देख्दैगर्दा एउटा नयाँ उर्जा फेरी कास्कीबाट, गण्डकीबाट प्राप्त भएको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटीको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तराष्ट्रिय विमानस्थलको त्यसमा ठोस योगदान पु¥याउने स्पष्ट पार्नु भयो । कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पु¥याउनु भएको पूर्वपर्यटनमन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?