रोनाल्डो नासरसँग अनुबन्धित

Read Time = 4 mins

रियाद । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित हुनुभएको छ । २०२५ सम्मका लागि रोनाल्डो वार्षिक १७७ मिलियन युरोमा नासरसँग अनुबन्धित हुनुभएको बिबिसीले जनाएको छ । रोनाल्डोले यो हालसम्मकै उच्च मूल्यको तलबसमेत पाउनुभएको हो । साउदी पुगेसँगै रोनाल्डोले आफू एसियामा नयाँ यात्रा सुरु गर्न तयार रहेको बताउनुभयो । ‘मैले युरोपमा सबै उपाधि जितेँ । मलाई लाग्छ एसियामा अनुभव साट्न यो सही समय हो । नयाँ लिगमा अनुभव बटुल्न चाहन्छु,’ सम्झौतापछि रोनाल्डोले भन्नुभएको छ ।

नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासर क्लबले यो इतिहास रच्ने सम्झौता भएको बताएको छ । केही समयअघिमात्रै रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोड्नुभएको थियो । युनाइटेडमा रोनाल्डोले ३४६ खेल खेल्दै १४५ गोल गर्नुभएको थियो । त्यसअघि रोनाल्डो युभेन्ट्सबाट म्यानचेस्टर आउनुभएको थियो ।

साउदी लिगको नियमअनुसार हरेक टोलीले लिगमा आठ विदेशी खेलाडी दर्ता गर्न पाउँछ । नासरले यस सिजनका लागि रोनाल्डोसहित आठ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

क्यामरुनले ब्राजिललाई हराउँदा एकमात्र गोल गर्नुभएका फरवार्ड भिन्सेन्ट अबुबकार अल नासरको सहयात्री बन्नुहुनेछ । त्यस्तै, आर्सनल र नेपोलीबाट खेलिसक्नुभएका कोलोम्बियन गोलरक्षक डेबिड ओस्पिना पनि क्लबमा अनुबन्धित हुनुभएको छ । ब्राजिलको राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका मिडफिल्डर लुइज गुस्टाभो पनि अल नासरबाट खेल्नुभएको छ ।

यसबाहेक ब्राजिलियन फरवार्ड एन्डरसन टालिस्का, स्पेनिस डिफेन्डर अल्भारो गोन्जालेज, आइभरी कोस्टका घिल्सेन कोनान र अर्जेन्टिनी पिटी मार्टिनेज अल नासरमा हुनुहुन्छ ।

सुआरेज ग्रेमियोमा
यस्तै, उरुग्वेका फरवार्ड लुइस सुआरेज ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित हुनुभएको छ । ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा दुई वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उहाँ सन् २०२४ को अन्त्यसम्म ग्रेमियोमा रहनुहुनेछ । उहाँले यसअघि डच क्लब आयाक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट खेलिसक्नुभएको छ ।

सुआरेजले आयाक्सबाट १५९ खेलमा १११ गोल, लिभरपुलबाट १३३ खेलमा दुई गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?