हिउँदमा जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखको कुर्सी खाली

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । हिउँदे याम सूरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ ।

सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी सहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्के अनुगमनले जनस्वास्थ्य सेवा कार्यालय,संघन शहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र नेपाल टेलिकम शाखा कार्यालय जुम्लामा छड्के अनुगमन गरिएको सांसद् कठायतले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुख बाँहेक अन्य सरकारी कार्यालयमा प्रमुख विहिन अवस्थामा रहेको भेटिएको छ ।

सांसद् कठायतले भन्नुभयो,“नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयहरुमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भयो यदी जाने हो भने, सरकारी कार्यालयका कर्मचारीहरुले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घरविदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर जानुपर्छ ।’

सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत अनिवार्य लिन आग्रह गरिएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयका सूचना अधिकारीको फोन नम्बर क्रमबद्ध गरिने भएको छ । हिउँदको समयमा कार्यालयमा नबस्ने कार्यालय प्रमुखलाई कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

शहरी तथा भवन निर्माण आयोजना कार्यालयका सव–इन्जिनियर चन्द्रबहादुर खड्काले कार्यालयको कामले प्रमुख काठमाडौं जानु भएको हो । जुम्ला लगायत कर्णालीका जिल्लालाई हेर्ने कार्यालय भएकोले सबै जिल्लाको काम विशेषले कार्यालय प्रमुख बाहिर जानु भएको कार्यालय सव–इन्जिनियर खड्काको भनाइ छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटा मंसिर २४ गते भने कार्यालयको कामले सुर्खेत जानुभएको थियो ।

कार्यालयमै रहँदा जिल्लाका स्थानीय तहमा तालिम र अनुगमन गर्न गएका कारण काेहीबेला हाजिर गर्न छुटेको कार्यालय प्रमुख सापकोटाले  बताउनु भयो ।

नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले छ वटा कार्यालयमा आइतबार अनुगमन गरिएको थियो । जिल्लाका ५६ वटा सरकारी कार्यालयहरु रहेकाछन् । जाडो महिनामा सरकारी कार्यालयका प्रमुख जिल्ल्लामा बस्दैनन् भन्ने जनगुनासो आएपछि यी कार्यालयमा अनुगमन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?