मधेश प्रदेशमा कृषि र औद्योगिक उत्पादन घट्यो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मधेश प्रदेशमा कृषि तथा औद्योगिक उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कृषि उपज खाद्य तथा अन्य बालीले ढाकेको भू-क्षेत्रफल ०.३० प्रतिशतले घटेर ११ लाख ६३ हजार २९ हेक्टरमा झरेको छ । उल्लेखित वस्तुको कुल उत्पादन ०.५३ प्रतिशतले घटेर ६३ लाख ८२ हजार छ सय १२ मेट्रिकटनमा झरेको छ । तर, दूध उत्पादन ६.०३ प्रतिशत, मासु, अण्डा र छाला उत्पादन क्रमशः ६.४९, २.३३ र ४.८५ प्रतिशतले बढेको छ । माछा उत्पादन पनि ६.४२ प्रतिशतले बढेको छ । सो अवधिमा मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड पुगेको छ, जुन कुल कर्जाको १२.५५ प्रतिशत हो ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन आव २०७८/०७९ अनुसार समीक्षा वर्षमा प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग औसतमा ६३.९८ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसत ५.२३ प्रतिशत रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २.९५ प्रतिशतले घटेर एक खर्ब दुई अर्ब १३ करोडमा झरेको छ । मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर-खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२.३९ प्रतिशत, कृषि-वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ७.६२ प्रतिशत, निर्माण उद्योगतर्फ ७.२७ प्रतिशत, खानी उद्योगतर्फ १.६६ प्रतिशत र विद्युत्, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८ प्रतिशत कर्जा प्रवाह भएको छ ।

त्यसैगरी पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारी संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.४३ र २५४.५९ प्रतिशतले बढेको छ भने घरजग्गा रजिष्ट्रेसन संख्या १७.११ प्रतिशत बढेको छ तर घरजग्गाको राजस्व ३३.२२ प्रतिशतले घटेको छ । स्थानीय तहबाट जग्गा वर्गीकरणको काम नभएसम्मका लागि कित्ताकाट रोकिएकाले नयाँ बिक्रीबापतको रजिष्ट्रेसन कम भई अंशपासबापतको तथा महिलाको नाममा बढी रजिस्ट्रेसन हुने गरेका कारण रजिष्ट्रेसन संख्यामा वृद्धि भए पनि रजिष्ट्रेसनबाट संकलित राजस्वमा कमी आएको बताइएको छ । बैंक तथा वित्तीय संस्थाले समीक्षा वर्षमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई दुई खर्ब ६१ अर्ब ८१ करोड पुगेको छ भने प्रवाहित कर्जा १६.७० प्रतिशतले वृद्धि भई चार खर्ब ३० अर्ब नौ करोड पुगेको छ ।

सो अवधिमा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या एक लाख ६९ हजार पाँच सय २१ रहेको छ, जुन संख्या मुलुकभरबाट श्रम स्वीकृति लिने संख्याको २६.९० प्रतिशत हुन आउँछ । त्यस्तै, प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं-तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेका छन् ।

राष्ट्र बैंकको प्रदेश कार्यालय जनकपुरले तयार गरेको प्रस्तुत प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि असारसम्मको वार्षिक विवरणमा आधारित रहेको राष्ट्र बंैकले जनाएको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाबाट स्थलगत र गैरस्थलगत सर्वेक्षणको माध्यम प्रयोग गरी तथ्यांक संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?