नेपाली कांग्रेस : सत्ता विस्थापनको पीडा र अन्तरविरोध

Read Time = 25 mins

✍️ प्रा.पुरुषोत्तम दाहाल

नेपाली कांग्रेस सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल भए पनि यतिखेर सत्ता विस्थापनको पीडा र आक्रामक अन्तरविरोधको उत्कर्षमा छ । यस समयमा नेपाली कांग्रेसले तीनवटा विषयमाथि विमर्श गर्नु आवस्यक छ । पहिलो तत्काल विगतमा सम्पन्न निर्वाचनमा संयुक्त गठबन्धनको आधार र परिणाम, दोस्रोमा निर्वाचन परिणामपछि उत्पन्न अविश्वसनीय परिस्थिति र तेस्रोमा भविष्यका लागि रणनीति ।
(क) सम्पन्न निर्वाचन र संयुक्त चुनावी गठबन्धन :
(क) (१) कांग्रेसका टाउकोमा लात :
२०७८ असार मसान्तमा सर्वोच्च अदालतको परमादेशबाट हात लागेको सत्ता र स्थापित गठबन्धनबाट यति चाँडै हात धुनु पर्ला भनेर सायदै कुनै पनि कांग्रेसजनले सोचेको थिएन होला । खासगरी डेढ वर्षअघि सरकारको नेतृत्व लिइदिन अनुनयविनय गर्ने र अरू पन्ध्र वर्षका लागि संयुक्त सरकार बनाउने उद्घोषसहित चुनावी गठबन्धन गर्न प्रतिबद्धता जनाउने नेपाल कम्युनिष्ट पार्टी माओवादीले परिणामको लगत्तै कांग्रेसविरुद्ध यसरी फर्केर लात हिर्काउनेछ भनेर सोच्ने फुर्सद भएन कांग्रेसजनलाई । यथार्थमा सिद्धान्तविहीन संयुक्त चुनावी गठबन्धन थियो त्यो । सार्वभौम भूगोलमा रहेका स्वतन्त्र र सार्वभौम जनतालाई विभिन्न दलले आफ्नो पैतृक सम्पत्तिसरह अंशवण्डा गर्नु लोकतन्त्रको सार्वभौम मूल्यविपरीत थियो ।

यस कुरालाई यो पंक्तिकारले पहिलो दिनदेखिनै प्रखर रूपमा उठाएको थियो । यो प्रश्नसँगै त्यस समयमा निरन्तर उठाइएको प्रश्न के थियो भने ः निर्वाचनमा शक्ति आर्जन गरी अर्को दिनमा माओवादी पार्टीसहित सबै कम्युनिष्ट पार्टीहरू एका ठाउँ हुने र लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई कित्ताकाट गरी एक्ल्याउने काम हुने छैन भन्ने कसले ग्यारेन्टी गर्ने ? त्यसको जिम्मेदार को हुने ? तर, यो प्रश्न उठाउनासाथ सत्ताका लागि सदा मरिमेट्ने, नेतृत्वमा बसेर कुण्डली जमाउने, अहंकार र सत्ताभोकले निरन्तर अतृप्तहरूको दिमागी घैंटोमा कुनै घाम लागेन ।

कांग्रेसले आफ्नै मतदाताहरूलाई अर्को पार्टीमा भर्ती गराउँन उर्दी जारी गर्‍यो । भोलिका दिनमा यो काम कांग्रेसका जीवनमा भयानक प्रत्युत्पादक हुने निश्चित छ । पार्टीमा निरन्तर भर्ती आवश्यक हुन्छ । तर, कांग्रेसले कांग्रेसमा भर्ती हुन चाहने लाखौं युवाहरूलाई अर्को पार्टीतिर प्रेरित गर्‍यो ।

यतिसम्म कि पार्टी नेतृत्वसँग असहमति राख्ने, तथाकथित फरक र परिवर्तनकारी, रूपान्तरण, पुस्तान्तरण, हस्तान्तरणका प्रतिपादकहरूले समेत विद्रोहको धम्की प्रवाह गर्दा सिद्धान्तका विषयमा नभएर उम्मेदवारको अंशवण्डा र केही आफन्तलाई समानुपातिकका लागि हो भन्ने सिद्ध गरे ।

(क) (२) पुरानालाई पन्छाउने नयाँलाई ल्याउन नसक्ने :
कांग्रेसका स्वयम्भूहरूले एकातिर इतिहास भएकालाई पाखा लगाउने, जसरी पनि उनीहरूका टाउकोमा गिरखेल्ने अनि अर्कातिर विगत २०४८ साल अर्थात् करिब बत्तीस वर्षदेअि नै सत्तामा बसेर इतिहासको ब्याज र स्याजसमेत खानेहरूले आफन्त, परिवारका सदस्य, श्रीमती, भाइ, सासु, भतिज अनेक रूप र नाममा पुनः आप्mनै हातमा सत्ताको साँचो बनाउने प्रयास गरे । यो राज्यसत्ता सदावर्त आफ्नै हातमा राख्न जालझेलका साथ रचना गरिएको ब्युह थियो संयुक्त चुनावी गठबन्धन ।

यस अवस्थामा नेपाली कांग्रेसले चुनावी संयुक्त गठबन्धनको विषयलाई सूक्ष्मतापूर्वक समीक्षा गर्नु जरुरी देखिन्छ । चुनावी संयुक्त गठबन्धनले जनतालाई अंशबण्डामा राख्यो, वर्तमान परिवर्तनमाथि अझै शंका गरिरहेको, कहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपति त कहिले वैज्ञानिक समाजवादको नारा लगाउने माओवादीसँग हात मिलायो र भन्यो ः अब कांग्रेसको रूख, माओवादीको हंसिया हथौडा, समाजवादीको कलम आदि केही पनि छैन । सबै एक भएका छन् । हामी सबै एक भयौँ । तेस्रो गम्भीर विषय थियो : जसले कांग्रेसको उम्मेदवारी चाहे र रूखमा मतदान गर्न अडान राखे उनीहरूलाई पार्टी कारबाहीमा पारियो । अहिले पनि सिद्धान्तहीन गठबन्धनविरुद्ध बोल्नेहरूलाई अनुशासनको तरबार लट्काएको अवस्था छ ।

(क) (३) कांग्रेसका नयाँ मतदाता अब कता ?
यस पटक नेपाली कांग्रेसले ७६ स्थानमा संघीय उम्मेदवार बनाएन भने करिब १३० स्थानमा प्रदेशमा कांग्रेसको उम्मेदवार थिएनन् । ती स्थानका मतदातालाई अरू कुनै चुनाव चिहृनमा मत दिन आदेश दिनाले परिणाम निकै फरक भयो । २०७४ को निर्वाचनका समय १३ वर्षदेखि अठार वर्ष समूहका करिब सत्ताईस लाख युवाहरू पहिलो पटक मतदाता भएका हुन् र तीमध्ये आधाभन्दा बढीले कांग्रेसलाई मतदान गर्ने सम्भावना थियो ।

तर, कांग्रेसले आफ्नै मतदाताहरूलाई पार्टीमा भर्ती गर्नुभन्दा अर्को पार्टीमा भर्ती गराउन उर्दी जारी गर्‍यो । भोलिका दिनमा यो काम कांग्रेसका जीवनमा भयानक प्रत्युत्पादक हुने निश्चित छ । पार्टीमा प्रशिक्षित र दीक्षित सदस्यहरू हुनुपर्छ र निरन्तर भर्ती आवश्यक हुन्छ । तर, कांग्रेसले कांग्रेसमा भर्ती हुन चाहने लाखौं युवाहरूलाई अर्को पार्टीतिर प्रेरित ग¥यो । अर्को चुनावपछि पनि उनीहरूको मन फर्काउन कठिन हुने छ ।

(क) (४) गैरसंसदीय बेमौसमी बाजा :
संसदीय प्रणली र सिद्धान्तविपरीत केही उम्मेदवारहरूले आफैँ निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार भएको भन्दै बेमौसमी बाजा बजाउने काम गरे । युवादेखि पुराना अनुहारसमेत यस्तो बाजा बोकेर मतदाता सामु मत माग्न पुगे । पुरानाको चाहना जित्नेमात्रै थियो होला तर नयाँ दाबी गर्नेहरूले आफ्नो उमेर समूहभन्दा माथिका सबैको भूमिकालाई अस्वीकारमात्रै गरेनन्, उनीहरूले माथिका सबैले विश्राम लिनुपर्ने नारा लगाए । अर्थात् तथाकथित युवापुस्ता सत्तामा जानुको अर्थ त्यसमाथिका सबैका ढोका बन्द हुनु हो भन्ने अर्थ लाग्यो र चुनावी परिणाममा असर पुग्यो ।

अनि माथिकालाई अस्वीकार गर्नेहरूले नयाँ मतदाताको मन जित्न सकेनन् । नयाँ मतदाताको मत अन्तै गयो । समाुनपातिक मत बढ्ने अवस्थामा घट्नुको मूल कारण हो यो । यसमा समानुपातिकमा प्रधानमन्त्रीपत्नी, गृहमन्त्री पत्नी, पार्टीमा सभापतिको सर्वाधिक प्रिय भएर पनि जनतामा पुग्न असमर्थ पदाधिकारीहरूको तस्वीरले विपक्षतर्फ मत बढाउने काम गरेको थियो । केही अपवादलाई छाडेर उम्मेदवारीमा पक्षपात, समानुपातिक उम्मेदवारीमा विवेकहीनता, माओवादीसँगको चुनावी गठबन्धन, सभापतिको न्यून प्रभावकारिता र अलोकप्रिय व्यवहार, चुनावमा भएको अपार खर्च आदिले कांग्रेसलाई घात भएको छ । जरा कुहेको, पात पहेलिएको, चुरोमा धमिरो लागेको र ऐँजेरुले छपक्क भएको रूखको हालतमा यतिखेर नेपाली कांग्रेस छ । राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय मित्रशक्तिहरूसँग कांग्रेसको कुनै गाढा सम्बन्ध छैन ।

(क) (५) अस्तव्यस्त सचिवालय :
नेपाली कांग्रेसमा सचिवालय छैन । भवन छ, केही अत्यन्त परिश्रमी सचिवहरू छन् तर यथार्थमा राष्ट्रिय पार्टीको सचिवालयको रूप कांग्रेसले लिन सकेको छैन । मुख्यसचिव सभापतिको पिएमात्रै लाग्छन् । सचिवालय चुस्त गराउनुपर्ने महामन्त्रीहरू नै भाषण गरेर चर्चा पाउने काम मात्रैमा व्यस्त छन् । उनीहरू पनि कांग्रेस पार्टीको महामन्त्री नभएर सभापतिका घरेलु सहयोगीबाहेक आफूलाई केही मान्दैनन् भन्ने तथ्यलाई गठबन्धनको सरकार अभ्यास हुँदै गर्दा, नेपाली कांग्रेसको सत्तारोहणका लागि जीवनमरणको प्रश्न उठिरहेको समयमा सभापतिको फोन पर्खेको, नआएको हुनाले अपमान अनुभव गरी राजधानीबाहिर हिँडेको प्रतिक्रियाले नै सिद्ध गरेको छ ।

सचिवालय एक प्रकारले थोत्रो ओडार सिद्ध भएको छ । आन्तरिक अवस्थामा यी सबै विषय हुन् कांग्रेसले निर्वाचनअघिको समीक्षा गर्ने हो भने । अरू दलको उदय, स्थापना अभियान र मतदाताको मूडको समीक्षा अलि समयपछि गर्दा पनि हुनेछ ।

(ख) निर्वाचन परिणाम र आजको अवस्था :
(ख) (१) पथभ्रष्ट राजनीतिको संकेत :
निर्वाचन परिणामले नेपाली कांग्रेसलाई पहिलो स्थान आए पनि आवश्यक बहुमत वा बहुमत स्थान आउन सकेन । उल्लेखित पहिलो शीर्षकमा उठाइएका विषयहरूकै कारण समानुपातिक मत पनि घटेका हुन् । अन्यथा पैतीस लाखको हाराहारीमा कांग्रेसको मत घट्ने थिएन । बहुमत नआएको हुनाले सरकार गठबन्धनको नै हुनेछ । यसअघि चुनावी गठबन्धन गर्दा के सहमति भएको थियो, त्यसबारे कांग्रेस वा माओवादी दुवै पक्षले केही भनेका थिएनन् । तर, निर्वाचन परिणामले कांग्रेस र एमालेलाई ठूलो र निर्णायक बनायो ।

२०५१ सालको राष्ट्रिय प्रजातन्त्र पार्टी, २०६४ को मधेसकेन्द्रित दलहरू र २०७०, २०७४ को माओवादी जस्तै गरी यसपटक माओवादी, रास्वपा, र राप्रपाको संसदीय स्थान आयो । कांग्रेस र एमालेबीच सहकार्य भएमा अपवित्र राजनीतिको मौलो दोहोरिने थिएन होला । यो सम्भावना अन्त्य भएर ३२ स्थान भएको दलको नेतृत्व थेग्नकै लागि पनि अब पूर्णरूपमा बजारमा माघे संक्रान्तिका दिन राखिएका घोडाघोडीसरह क्रयविक्रयको खेल निश्चित हुने अवस्था छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा पनि घोडा बजारको कथा उस्तै र अझ खराब रूपमा हुने थियो । एक प्रकारले संसदीय प्रजातन्त्रको भविष्य अनिश्चित भनेर देखाउनेहरूका लागि यो परिणाम सुखद् होला । तर, संसदीय व्यवस्थाका पक्षधरका लागि दुःखद् भएको छ ।

जे भए पनि सत्ताका लागि सबै अवसरवादका ढोका खोल्दै सिद्धान्तहीन चुनावी गठबन्धको अन्तिम बलमा कांग्रेस बोल्ड आउट हुनपुग्यो । कसको कारणले हो ? यो महत्वपूर्ण प्रश्न हो । पहिलो कारण सभापति तथा प्रधानमन्त्री देउवा, दोस्रो कारण पुष्पकमल दाहाल प्रचण्ड, तेस्रो कारण एमाले अध्यक्ष केपी शर्मा ओली, चौथो कारण नेपाली कांग्रेसका पदाधिकारीहरू, पाँचौं कारण अन्य साना दलहरू र छैटौं कारण भारत र अमेरिकी स्वार्थ र चीनको प्रत्यक्ष पहुँचबाट कांग्रेसका हातमा आउनै लागेको सरकारको नेतृत्व गुम्यो ।

(ख) (२) प्रचण्डको फड्को र ओलीको चतुर्‍याइँ :
उल्लिखित सबै कारणहरूबारे अर्को कुनै समयमा बहस होला । तर, आजको प्रसंगमा थोरै भए पनि चर्चा गर्नै पर्ने हुन्छ । चुनावका समयमा एक भएको नारा दिएपनि देउवा वा नेपाली कांग्रेसले प्रचण्डले मारेको फड्को गन्न सकेको देखिएन । २०४८ पछि प्रत्येक अवसरमा उहाँले फरक–फरक खुड्किलो उपयोग गरिरहनु भएको छ । २०५२ पछि सशस्त्र हिंसाको नेतृत्व गर्दासमेत अनपत्यार शैलीमा उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरू, नेपालका राजनीतिक दलका नेताहरू, सबैका ढाडमा पुग्नु भएको थियो । जमिनी आधार त छँदै थियो ।

२०६२ पछिका दिनमा बाह्रबुँदे र २०६३ को बृहत् शान्ति सम्झौता, २०६४ को निर्वाचन र गिरिजाप्रसाद, त्यसपछि एमाले, कांग्रेस कति पटक कतिका ढाडमा चढेर उहाँले गन्तव्य तय गर्नुभएको छ ? कांग्रेस मूर्खतापूर्ण रूपले यहीँनेर चुक्यो । कमसेकम २०७२, २०७४, २०७८ मा माओवादीले परिवर्तन गरेको पाइलाको हेक्का गर्नसकेको भए कांग्रेसको रोइलो सुन्नुपर्ने थिएन । हिजोका दिनमा प्रचण्डको पाइला सही वा गलत जे भए पनि यसपटक भने उहाँ सही हुनुहुन्छ । अन्तिम सत्य सत्ताका लागि सिद्धान्तहीन उपयोगितावादमा आधारित चुनावी संयुक्त गठबन्धनको मर्मलाई उहाँले राम्ररी बुझ्नु भयो र मौकाको उपयोग गर्ने साहस गर्नुभयो ।

त्यसमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चतुरताले काम गर्‍यो । ओलीले एकै वाँणले अनेकौं चराहरू एकैपटक खसाल्ने काम गर्नुभयो । आफ्नाविरुद्ध निरन्तर प्रतिगामी भन्दै मत माग्ने पुष्पकमल दाहाललाई शीर झुकाउने पार्नुभयो, कांग्रेसका देउवालाई अदालतमा आदेश लिन गएको प्रतिशोध लिनुभयो, पाँच दलीय संयुक्त चुनावी गठबन्धन निरर्थक भएको स्थापित गराउनुभयो, विगतमा उहाँबाट भए गरेका संसद् विघटनदेखि अनेक संवैधानिक नियुक्तिहरू सही भएको प्रमाणित गराउनुभयो, उहाँको नेतृत्वमा भएका अनेक विवादास्पद कामहरूको बहसलाई अप्रासंगिक गराउनु भयो र आफ्नो राष्ट्रभक्तिको अंकमा केही थप गर्न पाउनु भयो ।

(ख) (३) सरकार र शक्ति गुमाएको कांग्रेस :
२०७४ मा सरकार र शक्ति गुमाएको कांग्रेसलाई २०७८ को संसद् विघटन, पुनःस्थापन, कम्युनिष्ट पार्टी विभाजन र गठबन्धनले केही राहत मिलेको थियो । सत्ताको विस्थापनले पारेको घाउमा केही मलम लगाएको थियो । २०७९ को चुनावी परिणामबाट त्यो घाउ पूरै विसेक हुने आशामा बसेका कांग्रेसका लागि माओवादीको युटर्न र एमालेको चतुर्‍याइले झन् गहिरो खाडल बनाएको छ । अहिले प्रधानमन्त्री, सभामुख, केही थान मन्त्रीहरू, प्रदेशमा चार मुख्यमन्त्री र केही दर्जन मन्त्रीहरू, नियुक्ति पाउन मुख बाएर बसेका परिवारजन, आफन्त, कामदार, धन, डनका सेवक, कतिपय प्रतिष्ठान र आयोगमा दौडधूप थालेका आसामुखीहरू सबै नुन खाएको कुखुराको हालतमा पुगेका छन् । करिब एक हजार कांग्रेस जनको रोजगारी पुष्पकमल दाहालको यो पाइलामा किचिन पुग्यो ।

फरक स्वार्थको योग कार्यान्वयनमा कांग्रेसको नेतृत्व सफल हुन कठिन हुने स्पष्ट थियो । अब यी सबैको कार्यान्वयनमा नेपालका ठूला र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू अनि राष्ट्रवादको नारा लगाउने परम्परागत दलहरूको काँधमा पुगेको छ वा पुर्‍याएको छ ।

यसभन्दा पनि नेपाली कांग्रेसमा निर्णय सामथ्र्य क्षीण भएको, विस्वसनीयता कमजोर रहेको, नयाँ वा पुराना नाममा अन्तरविरोध विकासबाहेक केही रचनात्मक योगदान वा परिकल्पना र संकल्प नभएको देखाएको छ यस घटनाले । कांग्रेसबाट कुनै लाभ नपाए पनि कम्युनिष्ट कार्यकर्ताको पेलाइमा निरन्तर परेका कर्मचारी वा अरू संस्थानका कर्मचारी शिक्षकहरू भने सही अर्थमा अभिभावकविहीन जस्तो भएको सुनिन्छ । आफ्नै हातले सत्ताको श्रीपेच उठाए पनि अर्काको टाउकामा लगाइदिनु परेको पीडा देखिन्छ कांग्रेसमा ।

(ख) (४) विस्थापनको सम्भावित कारण :
कांग्रेसको विस्थापन हुनुपर्ने सम्भावित कारणमा एमसिसी, नागरिकता विधेयक, विआरआईको सफल प्रयोग आदि हुन् । फरक स्वार्थको योग कार्यान्वयनमा कांग्रेसको नेतृत्व सफल हुन कठिन हुने स्पष्ट थियो । अब यी सबैको कार्यान्वयनमा नेपालका ठूला र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू अनि राष्ट्रवादको नारा लगाउने परम्परागत दलहरूको काँधमा पुगेको छ वा पु¥याएको छ । अर्थात् जुनसुकै मूल्यमा पनि कांग्रेस सत्ताबाहिर रहनै पर्ने थियो र भयो ।

(ग) कांग्रेसका लागि उपयुक्त बाटो :
(ग) (१) तन्दुरुस्त सचिवालय :
यस परिस्थितिका कांग्रेसको भावी बाटो कस्तो हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन । नेतृत्वमा पुगेका पुराना र अनुहारले नयाँहरूको अन्तरविरोधले कांग्रेस यतिखेर थचक्कै बस्ने अवस्थामा पुगेको छ । पार्टी कार्यालयमा पुग्ने, जुट्ने र सामयिक विषयमा विमर्शको प्रचलन कांग्रेसले त्यागेको लामो समय भयो । घरघरमा पार्टी कार्यालय खोलेर नेताहरू बसेका छन्, उनीहरूलाई भेट्न चाहनेहरूले हजारौं खर्च गरेरमात्रै भेट्नसक्ने सम्भावना छ । हुम्लाबाट आएको पार्टीको सदस्य सभापतिदेखि पदाधिकारीहरूलाई भेट्न करिब महिना दिन कुर्नुपर्ने र उत्तरदक्षिण गर्दै हजारौं रुपैयाँ सक्नुपर्ने अवस्थामा पुग्छ । यसैकारण पहिले सचिवालय तन्दुरुस्त पार्नुपर्ने र सबै पदाधिकारीहरू पार्टी कार्यालयमै उपलब्ध हुनुपर्ने वातावरण जरुरी छ ।

(ग) (२) कारबाही फिर्ता गर्नु उचित :
रूख चिहृनका पक्षमा रहेर पार्टी उम्मेदवारको माग गर्दै असन्तुष्टि पोखेर अनुशासनको कारबाहीमा परेका सबैलाई कांग्रेसमा तत्काल समेट्नु कांग्रेसको हितमा हुने छ । पार्टीको विधानअनुरूप विभागहरूको संरचना निर्माण, भ्रातृ संस्थाहरूको महाधिवेशन र नेतृत्व चयन, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन र देशव्यापी प्रशिक्षण अभियान कांग्रेसको ऊर्जा हुनसक्छ । आफन्तवाद, व्यभिचार, भ्रष्टाचार, अहंकारवाद, मालिकवाद, देवत्वकरणबाट पार्टीलाई मुक्त राख्न सामूहिक प्रयत्न हुनु आवश्यक छ । संगठनका लागि प्रशिक्षण, सूचना सम्पर्क र कार्यक्रम अभियान महत्वपूर्ण हुन्छन् ।

योगदानको सम्मान र नवीनतालाई स्नेह गर्दै संगठनको खाका विस्तार जहिले पनि जरुरी हुन्छ । विपक्षमा बस्दाको सक्रियता, संसदमा हुने उपस्थिति र विचार प्रक्षेपण पनि महत्वपूर्ण मानिन्छन् । यसर्थ यतिखेर बैठक बसेर एकअर्काको नाकमा औंलो पुर्‍याउने र दोषी खोज्ने होइन प्रत्येकले आफ्नो भागमा पर्ने दोष पत्ता लगाउने र त्यसको जिम्मा सबै नायकहरूले लिन सकेमा कांग्रेसको पुनर्जन्म हुनसक्छ । अन्यथा ः डुब्न लागेको मानिसको सहारा तृण पनि हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. praiseworthy surgery
    मदौरि ले माड़ खाये मात्र वैद्यको औषधी काम लगला

रिलेटेड न्युज

छुटाउनुभयो कि ?