घरघरमै स्वास्थ्य सेवा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 9 mins

सिन्धुली । उमेर ढल्कियो । तन्नेरी रसरंग सकियो । श्रीमान् दश वर्ष पहिल्यै वित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेकन रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।

घ्याम्पाटार सामुदायिक स्वास्थ्य इकाई प्रमुख तथा अहेव विनाकुमारी यादव उहाँको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहनु भएको थियो । महेँलले कट्कटिएको वस्त्र र शरीरबाट दुुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरी झिँगा भन्किरहेका थिए ।

स्वास्थ्यकर्मी यादवले विरामी ठूलीमायाको स्वास्थ्य जाँच गर्नुभयो । उहाँलाई रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेको छ । सामान्य विरामी र दिर्घरोगीहरुलाई खुवाउने औषधी तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामाग्री बोकेको झोलामा भोक मेटाउने औषधी थिएन । नत थियो, फेराइदिने सुकिलो लुगा ।

काइँयो खोजेर कपाल भने कोरिदिनुभयो । सफा भएर बस्न सुल्झाउनुभयो । ज्वरो र झाडापखलाले सिकिस्त हुनुभएको ठूलीमायालाई औषधी दिएर उहाँ अरु घरका विरामीको स्वास्थ्य जाँच तथा उपचारमा लाग्नुभयो ।

घिसिङ टोलकै असलीमाया मोक्तानको सासुआमा ६८ बर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ । विरामी परिरहने उहाँलाई उपचारको लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारी मोक्तान आउनु हुन्छ । बेलाबेलामा फोन गरेर पनि उहाँको स्वास्थ्य अवस्था बुझ्ने गर्नुभएको असलीमायाले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सासुआमा हिड्डुल गर्न सक्नुहुन्न । विरामी परिरहनु हुन्छ । नजिकै भनेको स्वास्थ्य इकाई पुग्न पनि दुई घण्टा लाग्छ । सवारीसाधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ, अहिलेत वडाले बेलाबेलामा स्वास्थकर्मी घरघरमै पठाउने वा फोन गरेर विरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ ।’

घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ बर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो । त्यो बेला उहाँको सन्तान साथमा कोही थिएनन् । स्वास्थ्यकर्मी पियारीनै उहाँको सन्तान बनेर पुग्नुभयो । घाउमा टाँका लगाइदिनुभयो । घाउ निको बनाउन मलम दिनुभयो । सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर उहाँ अरु विरामीको सेवामा खटिनुभयो ।

कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारीकाअनुसार सुनकोशी गाउँपालिका–१ को वडा कार्यालयले हप्ताको एक पटक गाउँघर क्लीनीकअन्र्तगत टोलटोलमा प्राथामिक उपचार तथा सहायता कक्षा स्थापना गरेर सेवा प्रवाह गदैँ आएको थियो । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन हप्ताको एक पटक घरघरमा पुगेर सेवा दिन थालिएको छ । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा पुरुष र अपाङगता भएकाहरुलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो ।

‘हामी घरघरमा पुगेपछि आवश्यकताअनुसार सबैले सेवा लिनुहुन्छ । यो सेवाको विशेष लाभग्राही गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा एकल पुरुष र अपाङगता भएकाहरुनै हुनुहुन्छ, उहाँहरुको हकमा वडाको यो अभियान निकै प्रभावकारी देखिएको छ,’ उहाँले भन्नुभयो ।

वडाध्यक्ष रामकुमार श्रेष्ठकाअनुसार यस वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य इकाई एक वटा गरि जम्मा दुई वटा स्वास्थ्य संस्था छन् । जसमा तीन जना अहेव र तीन जना अनमी कार्यरत छन् । घुम्ती शिविरमा उहाँहरु पालैपालो प्रत्यके शुक्रबार दुई/दुई जना बाडिएर घरघरमा सेवा दिन जाने गर्नुभएको छ । गत फागूनदेखि शुरु गरिएको यो सेवा हालसम्म २९७ जना विरामीले लिइसकेका छन् ।

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको पदका लागि मत माग्न घरदैलो गर्ने क्रममा विविध कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका विरामीहरु प्राथामिक उपचार पाउनबाट समेत बन्चित भएका, सामान्य विरामी हुँदा समयमै उपचार नपाएर ठूलो जोखिममा रहेका लगायतका समस्या बाक्लै देखेकाले सुनकोसी गाउँपालिकामै पहिलो पटक आफ्नो वडाले यस प्रकारको सेवा प्रवाहमा जोड दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

भन्नुभयो, ‘स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परिक्षण गरी उपलब्ध भएसम्म औषधी दिने, खाने तरिका सिकाउने, आवश्यकताअनुसार अस्पताल जान सुल्झाउने र विरामिको फओअप गर्ने गर्दछन् । हामी थप सेवा प्रवाहका लागि कोशिस गरिरहेको छौँ ।’

दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उहाँको भनाई छ । वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मकता जगाएको छ ।

वडाबासी ठूलबहादुर मोक्तान स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परिक्षण र औषधी वितरण गर्नुले स्थानीय सरकारप्रति भरोसा बढेको बताउनुभयोे । ‘आफै स्वास्थ्य संस्था धाउन नसक्ने दीर्घरोगी र असक्त नागरिकलाई सेवा दिन वडाले औषधीसहित स्वास्थ्यकर्मी घरघरै पठाउन थालेको कुराले खुशी लागेको छ । यस्तो सेवा अरु ठाउँमा पनि दिइन आवश्यक छ,’ उहाँले भन्नुभयो ।

सुनकोशी गाउँपालिकामा सात वटा वडाहरु छन् । हप्ताको एक पटक अनिर्वाय घुम्ति शिविर मार्फत घरघरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच तथा गर्भवती, सुत्केरी, बालबालिका, एकल महिवा वा एकल पुरुष, अपाङगता भएकाहरू लगायत विरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने वडा नम्बर १ पहिलो वडा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?