महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो ।

ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताउनु भयो । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।

उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा गर्दै आएका आरोप छ ।

कसरी गर्थे अपराध?

पदमराज भट्ट सशस्त्र प्रहरी बलका भगौडा व्यक्ति हुन् । अहिले उनि सुदूरपश्चिममा नटवरलालको नामबाट परिचित छन् । उनी पाँच वर्षदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा बसेर संगठित रुपमै फरक/फरक अपराधमा संलग्न छन् । भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरुसँग नजिक भएर संगठित रुपमै ठगी गर्दै आएका छन् ।

समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर छन् । उनी विशेष गरी महिलाहरुलाई ठग्न संगठित रुपमै लागेका छन् । उनले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन् । उनले कहिले नेपाल बैंकको प्रबन्धक भएको परिचय दिने, कहिले प्रहरी अधिकारी भन्दै परिचयपत्र देखाउने मात्र नभएर संयुक्त राष्ट्र संघीय कार्यक्रमको प्रमुख भनेर परिचय दिँदै भट्टले सुदूरपश्चिमबाट करोडौंको ठगी गरिसकेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका घर भई धनगढी बस्दै आएका नटवरलाल कञ्चनपुरको शुक्लाफाँटा नगर रडाहाकी एक महिलाको घरजग्गा बिक्री गराउन लैजाँदै थिए । स्थानीयले शंका लागेर सोधपुछ गर्दा उनको बदनीयत खुलेपछि समातिएका थिए । त्यसबेला स्थानीयको कब्जाबाट फुत्किन सफल नटवरलाल अहिले पक्राउ परेका हुन । दर्जनौको संख्यामा महिलाहरुलाई आर्थिक प्रलोभन देखाएर भट्टले करोडौं ठगी गरेको खुलेको छ ।

उनले एकल महिला, लामो समयदेखि श्रीमानबाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका युवतीहरु सबैभन्दा बढी ठगीको निशानामा हुन्थे र भएका छन् । ठगीको सिकार भएका महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर उनले जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउनेसम्म गरेको खुलेको छ । धेरैलाई त बैंकमा जागिर लगाइदिने प्रलोभनमा पारी लाखौं ठगी गरेका घटना बाहिर आएका छन् ।

प्रहरीका अनुसार भट्टले ४ विवाह गरेको खुलेको छ । जेठी श्रीमती सशस्त्र प्रहरीमा छिन्। अरु तीन जनाले ठग भएको थाहा पाउने बित्तिकै सम्बन्ध विच्छेद गरिसकेका छन् । उसको सम्बन्ध प्रहरीका अधिकारी, अपराधी, अदालतका कर्मचारी र नेतासँग भएको पीडित बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?