एमाले सत्ता वा प्रतिपक्ष जहाँ रहेपनि देश र जनतामा समर्पित रहन्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सत्ता वा प्रतिपक्ष जहाँ रहेपनि देश र जनतामा समर्पित रहने बताउनु भएको छ ।

पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । आफ्नो पुरानो अभिव्यक्ति पनि यही रहेको बताउँदै उहाँले एमाले सत्ता बाहिर होस् या सत्तामा होस् सधैँ जनता र देश केन्द्रीत भएर अघि बढ्ने उहाँले बताउनु भयो ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्दै अध्यक्ष ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको बताउनु भयो ।

उहाँले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गर्नुभयो ।

ओलीले भन्नुभयो, 'अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन कम्पाउण्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ । हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं,यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन ।'

अध्यक्ष ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको भन्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताउनु भयो ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढन पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताउनु भयो ।

पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यतिबजे उपस्थित हुनु पर्दछ ।संसदीय अन्य गतिविधिहरुमा जति बजे बोलाइएको छ, त्यतिबजे उपस्थित हुनु पर्छ । समयसीमाको पालना गर्नु पर्दछ । त्यसमा सबै साथीहरुले ध्यान दिनु पर्दछ ।’

अध्यक्ष ओलीले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढनुपर्ने समेत बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?