संकटालाई आहा रारा गोल्डकपको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । शहीद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलको अतिरिक्त समयमा भुटनिज युथलाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो । अतिरिक्त समयको २७ औँ मिनेटमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिल बलले संकटाका लागि निर्णायक गोल गर्नुभएको थियो । सुनिल यही सिजन लिग च्याम्पियन मच्छिन्द्र एफसी छाडेर संकटामा अनुबन्ध हुनुभएको थियो ।

त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । खेलको ३५ औँ मिनेटभित्रमै संकटाले २ गोलको अग्रता बनायो । सुरजज्यू ठकुरीले आठौँ मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाउनुभयो ।

विदेशी मेसुके ओलामोउले ३५ औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । त्यसको दुई मिनेटमै रेने सान्टिलोनको गोलमा भुटनिज युथ क्लब खेलमा फर्कियो । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको बराबरी गोल फर्काउनुभएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन र अतिरिक्त समयमा पोखराले बाजी मार्‍यो ।

संकटा क्लबका कप्तान सुनिल बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गर्नुभयो । अन्य व्यक्तिगत अवार्डमा पनि विजेता संकटाकै खेलाडीको दबदबा रहृयो । संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन विनोङ उत्कृष्ट फरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित हुनुभयो । धरान एफसी फेयर प्ले टोली चुनियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले विजेता, उपविजेता टोलीका खेलाडी र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नुभयो । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेता संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?