काठमाडौं । आगामी टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा अधिकांश युवा खेलाडीले अवसर पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको १५ सदस्यीय स्क्वाडमा युवा खेलाडीको बर्चस्व छ । रोहित पौडेलको कप्तानीमा घोषित टिममा युवामात्रै होइन अनुभवी खेलाडीहरू पनि छन् । नेपालको ओपनिङ जोडीमा नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेख नै रहनुहुनेछ । वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रूपमा अनिल साहलाई टिममा स्थान दिइएको छ । उहाँ विकेटकिपर पनि हुनुुहुन्छ । नेपालले इतिहासमै दोस्रोपटक टी-२० विश्वकप खेल्दैछ । १० वर्षपछि छनोट भएर नेपालले आगामी महिना वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने विश्वकप खेल्न लागेको हो ।
टोलीमा स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर साह अन्तिम १५ मा स्थान बनाउन सफल हुनुभएको छ । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि नै लगभग पक्का थियो ।
सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले ब्याटिङ र बलिङ दुवैमा ध्यान दिएको छ । नेपालको टोलीमा पाँच प्रमुख ब्याटर कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल र सन्दीप जोरा हुनुहुन्छ । तीन प्रमुख अलराउण्डरमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहनुभएको छ । दुई बलिङ अलराउण्डरमा करण केसी र सोमपाल कामी तथा पाँच बलरमा कमलसिंह ऐरी, सागर ढकाल, ललित राजवंशी, प्रतिश जिसी र अभिनाश बोहरा हुनुहुन्छ । १५ मध्ये ललित, अभिनाश र सागरबाहेक अन्य १२ खेलाडी ब्याटिङमा पनि सम्भावना भएका खेलाडी हुन् । नेपालको बलिङमा पनि १२ खेलाडीको विकल्प छ । सन्दीप जोरा, आसिफ शेख र अनिल साहबाहेक अन्य सबैले नियमित बलिङ गर्दै आएका छन् । कुशल भुर्तेल लेग स्पिन र रोहित पौडेलले अफ स्पिनर बलिङ गर्दै आउनुभएको छ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रमुख स्पिनरको भूमिका निर्वाह गर्नुहुन्छ । नेपालको प्लेइङ-११ मा बलिङमा कम्तीमा ७ विकल्प हुनेछ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, गुल्शन झा र कमलसिंह ऐरी हुनुुहुन्छ । सोमपाल र करणले नयाँ बलका साथ बलिङ गर्नुहुनेछ भने अभिनाश डेथ ओभर स्पेलिष्ट हुनुहुनेछ ।
कमलबाहेक अन्य १५ खेलाडी पछिल्लो डेढ वर्षदेखि नेपाली टोलीमा लगभग सँगसँगै खेल्दै आएका छन् । एक/दुई खेलाडी मात्रै थपघट हुँदै आएका थिए ।
नेपालले टी-२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्ट इण्डिजमा खेल्नेछ । विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्स, दोस्रो खेल श्रीलंकासँग जुन १२, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १५ र चौथो खेल बंगलादेशसँग जुन १७ मा खेल्नेछ ।
मध्यक्रम सुदृढ, पुछारसम्मै ब्याटिङ पावर
नेपालको मध्यक्रम निकै सुदृढ छ । सम्भवतः एसोसियट क्रिकेट टिमहरूमध्ये नै बलियो हुनसक्छ । कप्तान रोहित पौडेलले तेस्रो नम्बरमा आएर नेपालको इनिङलाई स्थिरता दिनुहुनेछ । उहाँ लामो इनिङ खेल्न सक्ने र आवश्यक पर्दा तेजिलो आक्रमण पनि गर्न सक्ने क्षमता भएका ब्याट्सम्यान हुनुुहुन्छ ।
रोहितपछि युवा ब्याट्सम्यानहरू सन्दीप जोरा र कुशल मल्ल मध्यक्रममा हुनुहुन्छ । नेपालको फिनिसरका रूपमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहनुहुनेछ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल दीपेन्द्र नेपालका थ्रिडी ब्याट्सम्यानका रूपमा पनि परिचित हुनुहुन्छ । नेपालसँग पुछारसम्म नै ब्याटिङ पावर छ । नवौँ-दशौँ नम्बरमा आउने सोमपाल कामी र करण केसी पनि आवश्यक पर्दा ब्याटबाट टिमलाई योगदान दिन सक्ने खेलाडी हुनुहुन्छ ।
नेपालको टिम अलराउण्डरहरूले भरिएको छ । नियमित प्लेइङ ११ मा पर्नसक्ने अधिकांश खेलाडीहरू ब्याटिङ र बलिङ दुवै गर्न सक्छन् । स्पिनतर्फ नेपाल अलराउण्डरमै बढी भर पर्ने देखिन्छ । ललित राजवंशीलाई दीपेन्द्र, दुई कुशल र रोहितले साथ दिनुहुनेछ । अतिरिक्त स्पिनरका रूपमा सागर ढकाललाई स्क्वाडमा राखिएको छ ।
सोमपाल दुइटा विश्वकपमा प्रतिनिधित्व गर्ने नेपाली क्रिकेटर
घोषित टिममा रहनुभएका सोमपालले यसअघि पनि विश्वकप खेलिसक्नुभएको छ । सोमपाल दुइटा टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र क्रिकेटर बन्नुहुने भएको हो । । सोमपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकप खेल्नुभएको थियो । नेपाली टोलीबाट डेब्यु गरेको एक वर्ष पनि नबित्दै उहाँले त्यतिबेला विश्वकप खेल्नुभएको थियो । सोमपालले ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७.१९ को इकोनोमीमा ५८ विकेट लिनुभएको छ भने ३१५ रन पनि बनाउनुभएको छ ।
२० टिम, ५५ खेल
समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ । नेपाल रहेको समूहका खेल अमेरिका र वेष्ट इण्डिजमा हुनेछन् । अमेरिका र वेष्ट इण्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदैछन् । विश्वकपमा ५५ खेल हुनेछन् । सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको छ । ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन् ।
नेपालका खेल
नेदरल्याण्ड्सविरूद्ध - जुन ४- अमेरिका, डालास ।
श्रीलंकाविरूद्ध - जुन ११ -अमेरिका, फ्लोरिडा ।
दक्षिण अफ्रिकाविरूद्ध -जुन १४ -सेन्ट भिसेन्ट ।
बंगलादेशविरूद्ध- जुन १६- सेन्ट भिसेन्ट ।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्याण्ड
समूह बी : इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड, ओमान ।
समूह सी : न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगाण्डा, पपुवा न्युगिनी ।
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड्स, नेपाल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच