प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, शपथ आज

हिमालय टाइम्स
Read Time = 6 mins

निर्मल ढुंगाना/हिटा
विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेता कार्कीलाई आइतबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रमुख खापुङले नेता कार्कीलाई संविधानको धारा १६८ को २ अनुसार नियुक्त गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले मुख्यमन्त्री कार्कीलाई सोमबार दिउँसो २ बजे शपथग्रहण गराइने जानकारी दिनुभयो ।

धारा १६८ को १ अनुसार मुख्यमन्त्री र सरकारका लागि कुनै एक दलले स्पष्ट बहुमत नपुर्‍याएको हुँदा दुई वा दुईभन्दा बढी दलको समर्थनमा २ अनुसार कार्की मुख्यमन्त्री हुनुभएको हो । कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र समाजवादी जनता दल गरी अन्य तीन दलको समर्थन छ । प्रदेश १ मा कुल सांसदको संख्या ९३ छ । जसअनुसार सरकार बनाउन ४७ जनाको बहुमत चाहिन्छ । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी सत्ता पक्षमा ६० जना पुगेका छन् ।

यसअघि, आइतबार नै नेता कार्कीले अन्य तीन दलका संसदीय दलका नेताको हस्ताक्षर सहितको दाबी प्रमुख खापुङसमक्ष पेस गर्नुभएको हो । पत्रमा कार्कीसहित माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षर थियो । नवनियुक्त मन्त्री कार्कीले सोमबार सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको मन्त्रिपरिषद्को गठन गरिने जानकारी दिनुभयो । कार्कीले अहिलेको भन्दा धेरै मन्त्रालय बनाउने पक्षमा आफू नरहेको बताउनुभयो ।

यस्तो छ कार्कीको राजनीतिक यात्रा
२०२१ असोज ११ मा झापाको गौरादह नगरपालिका-३ मा जन्मिनुभएका कार्कीले एसएलसी सम्मको अध्ययन गौरादहकै जनता माविमा गर्नुभएको थियो । कार्की विद्यालयमा अध्ययनरत रहँदै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुभयो । यसैबीच २०३६ जेठ १० मा जनमत संग्रहको घोषणा गरियो । यसपछि देशभरि पञ्चायतविरोधी राजनीतिक गतिविधि तीव्र बन्यो । कार्की यही बेला माले पार्टीको सम्पर्कमा आउनुभयो । स्कुले जीवन सकेपछि उहाँ कानुनको अध्ययन गर्न धरानको महेन्द्र बहुमुखी क्याम्पस २०४२ सालमा पुग्नुभयो । त्यहाँ उहाँले आइएलको पहिलो ब्याजसम्म मात्र अध्ययन गर्नुभयो । त्यसपछि काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस भर्ना हुन जानुभयो । कार्कीले कानुनमा स्नातकोत्तर तह (एल एल एम)-सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

उहाँ २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुनुभएको थियो । यसअघि क्याम्पसमा प्रारम्भिक कमिटी, काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य र मेची अञ्चल समन्वय कमिटीको सदस्य लगायतका जिम्मेवारी उहाँले सम्हालिसक्नु भएको छ ।

कार्की २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको हो । त्यस महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उहाँले २०७१-२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इञ्चार्जको जिम्मेवारी बहन गर्नुभयो । पार्टीको संरचना २०७४ पछि संघीयता अनुसारको भएपछि उहाँले प्रदेश १ को प्रचार विभागको प्रमुखको भूमिका पनि निर्वाह गर्नुभयो ।

उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । यसपछि २०७४ फागुन ३ गते कार्कीले प्रदेशको स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनुभयो । उहाँ हाल नेकपा (एमाले)को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह-इञ्चार्जका भूमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?