काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधबार काठमाडौंसहित देशभर पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । दिवसको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।
राजतन्त्रको अन्त्यसँगै पृथ्वी जयन्तीका दिन बिदा दिन छाडेको सरकारले २०७४ सालमा एकपटक बिदा दिएकोमा त्यसयता पुनः बिदा कटौती गरिएको थियो । जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको शालिकमा पुष्पहार एवं माल्यार्पण गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र शालिकमा समेत माल्यार्पण गर्नुभएको थियो । राष्ट्रपति भण्डारी सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी दहचोक पुग्नुभएको थियो । शाहप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भिड लागेको थियो । जयन्तीका अवसरमा बाजागाजा, शंख, घण्ट ध्वनिले पश्चिम मूलढोका अघिको क्षेत्र गुञ्जायमान भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज लगायतको सहभागिता थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले दिवसका अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्याली निकालेको थियो । र्यालीपछि राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राप्रपा अध्यक्षदेखि नेता कार्यकर्ता र अन्य विभिन्न पार्टीका शीर्ष नेताहरूको सहभागिता थियो ।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । (वि.सं.१७७९-१८३१) शाहले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्नुभएको थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिष्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
सार्वजनिक बिदा दिने निर्णय राम्रो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गर्नुभएको स्मरण गर्दै बिदा दिने सरकारको निर्णय राम्रो भएको बताउनुभयो । ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा अगुवाइ र नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । एकीकरण भयो,’ उहाँले भन्नुभयो, ‘एउटा देश भयो । नेपाल भयो । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुसियालीमा सरकारले बिदा दियो । राम्रो ।’
पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएर ऐतिहासिक सत्यलाई राज्यको तर्फबाट स्थापित गर्ने काम गरेको बताउनुभएको छ । राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले नेपालको भैगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका स्वतः स्पष्ट रहेको बताउनुभयो । नेपालमा फेरि एकपटक ऐतिहासिक तथ्यहरूलाई सबैले स्वीकार्ने बनाउनका निम्ति राम्रो निर्णय भएको उहाँको भनाइ थियो । ‘नेपालको भैगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका स्वतः स्पष्ट छ,’ उहाँले भन्नुभयो, ‘त्यो भूमिकालाई राज्यद्वारा पुनस्र्थापित गर्न हामीले पृथ्वी जयन्तीको दिनमा बिदा दिने निर्णय गरेका हौँ ।’
राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरवको विषय : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरवको विषय भएको बताउनुभएको छ । पृथ्वीनारायण शाहको दिव्योपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरूले मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको आवश्यक्ता छ भनेर मैले भन्दै पनि आएको थिएँ । त्यही अनुसारको अभ्यास हामी गर्दै पनि छौँ,’ उहाँले भन्नुभयो, ‘नेपाल राष्ट्रलाई एकीकरण गरेर हामीलाई नेपाली बन्न अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको जन्मदिवस हामी मनाइहेका छौँ । यो अत्यन्त खुसी र नेपालीका लागि गौरवको विषय हो । औपचारिकता पूरा गर्न मात्रै एकता दिवस मनाउने होइन साँच्ची नै हाम्रो राष्ट्रलाई एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ ।’ उहाँले आफ्नो पार्टी सरकारमा सहभागी नहुने पनि स्पष्ट पार्नुभयो ।
सरकारले सुुकार्यको प्रारम्भ गरेको छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताउनुभएको छ । राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने भन्दै यो दिनलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताउनुभयो । यद्यपि, पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उहाँले बताउनुभयो । ‘उपेक्षामा परिराखेको पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा केवल सार्वजनिक बिदा दिने मात्र होइन, यसलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनु पर्दछ ।’ राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरूको लागि यो विजयोत्सवको दिन पनि भएको उहाँले बताउनुभयो ।
आधुनिक नेपाल निर्माणमा भूमिका खेल्नेलाई कहिल्यै बिर्सिनु हुँदैन : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायण शाहले विदेशीसँग लडेर आफ्नो भूमिको रक्षा गरेको बताउनुभयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको लागि भूमिका खेलेको भन्दै उहाँको योगदानलाई बिर्सनु नहुने बताउनुभयो । ‘जसले विदेशीसँग लडेर आफ्नो देशको भूमिको रक्षा गर्यो । आफ्नो देशलाई विस्तार गरेर पछिल्लो कालमा आधुनिक नेपालको निर्माण गर्ने काममा भूमिका खेल्यो । त्यसको योगदानलाई त कहिल्यै बिर्सिने कुरै आउँदैन,’ उहाँले भन्नुभयो, ‘उहाँको विचार, मान्यताको मैले चर्चा गरेकै हो ।’
राष्ट्रिय एकता दिवस राज्यस्तरबाटै भव्य रूपमा मनाउनुपर्छ : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राज्यस्तरबाटै राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने बताउनुभएको छ । नेपाली भन्ने नाम र पहिचान पृथ्वीनारायण शाहले दिएको उल्लेख गर्दै प्रत्येक नागरिकले शाहप्रति सम्मान व्यक्त गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पृथ्वीनारायण शाह केवल एउटा राजनीतिक व्यवस्था वा राजनीतिक विचारसँग सम्बन्धित होइनन् । उनले हामीलाई नेपाली भन्ने नाम र पहिचान दिएका छन्,’ उहाँले भन्नुभयो, ‘प्रत्येक नागरिकले राष्ट्र निर्माताप्रति सम्मान व्यक्त गर्नुपर्दछ । राष्ट्रिय एकता दिवस राज्यस्तरबाटै भव्य रूपमा मनाउनुपर्छ ।’ केही समयअघि राप्रपा त्यागेर अर्को पार्टी गठन गर्नुभएका अध्यक्ष थापाले राप्रपामा आफूले रगत र पसिना बगाएको भन्दै राप्रपाको कार्यक्रममा आउन पाउँदा खुसी र गौरवको अनुभूति हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच