युवा बक्सर थाइल्याण्ड प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एएसबिसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान तीन-तीन पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ४६-४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०-८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्नुहुनेछ ।

महिला ४५-४८ केजीमा सुष्मा तामाङ, ५४-५७ केजीमा हेमा राई र ७०-७५ केजीमा त्रिशा जवेगुले खेल्नुहुनेछ । सुष्माको चौथो तथा इन्द्रको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी चारले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लाग्नुभएको हो ।

प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहनुभएको छ । प्रतियोगिताका दौरान हुने इन्टरनेशनल टेक्निकल अफिसर कोर्समा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्सका लागि रामचन्द्र थापा मगर र धनकुमार मैनाली पनि टोलीसँगै थाइल्याण्ड जानुभएको छ ।

प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाउनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?