दाङ । दश वर्षअघि चार हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु-याउने उद्देश्यले शुरु भएको देउखुरीको बड्कापथ सिंचाई आयोजना अहिलेसम्म अधुरै छ । साविकको गोबरडिहा, गंगापरस्पुर र गढवा गाविसका सात हजार घरधुरीको चार हजार हेक्टर जमिन सिंचित गर्ने लक्ष्य थियो तर अहिले आयोजना निर्माणको काम निकै सुस्त गतिमा छ । जसले गर्दा किसानको राप्ती नदीको पानीबाट धान, गहुँ, मकै, तरकारी, फलफूल खेतीमा सिंचाई गर्ने सपना अधुरै छ । हाम्रो पुस्ताले राप्ती नदीको पानीले सिंचाई गर्ने सपना देखेको छ तर अहिले भइरहेको कामको गतिले राप्तीको पानीले सिंचाई गर्ने सपना पूरा नहुने देख्छु’– गढवा गाउँपालिका–१ का किसान नवराज शर्माले भन्नुभयो– ‘अहिले कामको गति सुस्त छ । मूल नहरको काम नै अधुरो छ । वडहरासम्म मूल नहर बनाउने काम बल्ल शुरु छ तर रुख कटान नहँुदा कामले गति पाएन ।’
इन्टेकदेखि मानपुर खोलासम्म ३० किलोमिटर लामो मूल नहर बन्नुपर्ने हो तर अहिले मूल नहरको काम ७.३०० किलोमिटर मात्रै सम्पन्न भएको छ । दश वर्षको प्रगति सन्तोषजनक छैन । ‘आयोजना त शुरु भयो तर यसलाई पूरा गर्न सरकारले प्राथमिकतामा राखेन । बजट अभावदेखि अन्य प्रक्रियागत काममा ढिलाइ हुँदा आयोजना अधुरै छ’– बड्कापथ सिंचाई आयोजना मूल जल उपभोक्ता समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले भन्नुभयो– ‘हामी किसान सिंचाईको लागि पानी पर्खिएर बस्नुपरेको छ । सरकारले आयोजनालाई गति दिन पर्याप्त बजेट र रुख कटानको अनुमति दिनुपर्ने छ ।’
सिंचाई आयोजनाअन्तर्गत १३ वटा शाखा नहर र ५३ वटा प्रशाखा नहर बनाउनुपर्ने छ । अब १४.४५० किलोमिटर सम्म काम गर्न दुईवटा ठेक्का लागेको छ तर निर्माण कम्पनीले कामलाई गति दिन सकेका छैनन् । एउटा निर्माण कम्पनी काम गर्ने स्थलमा छैन भने एउटा कम्पनीले मात्रै काम गरिरहेको छ । कनकाई कर्ण जेभीले निर्माणको काम जारी राखेको भए पनि नहर क्षेत्रमा पर्ने रुखहरु नहटाउँदा फूलफेजमा काम गर्न नसकेको प्रतिनिधि खेमबहादुर कार्कीले बताउनुभयो । ‘हामी काम गर्न फिल्डमा छौं । हामी पूर्णरुपमा काम गर्न चाहेका छौं तर यहाँ पूर्णरुपमा काम शुरु गर्न पाएनौं’– उहाँले भन्नुभयो– ‘आयोजनाले साइड क्लियर गरेर दिन सकेन । जग्गा विवाद, वन क्षेत्रका रुखहरु नहटाउँदा समस्या भयो । खुम्चिएर काम गर्दा कहाँ गति दिन सकिन्छ ।’
बड्कापथ कुलो सिंचाई आयोजनाको काम सम्पन्न गर्न तीन अर्ब ५८ करोड ४४ लाख ५६ हजार लाग्ने गुरुयोजना बनेको थियो । जसअनुसार अहिलेसम्म एक अर्ब ५८ करोड २५ लाख ७१ हजार खर्च भएको बड्कापथ कुलो सिंचाई आयोजना कार्यालय लमहीले जनाएको छ । आयोजना शुरु हुनुभन्दाअघि तयार पारिएको गुरुयोजना हो । अहिले आयोजनाको लागत बढ्ने देखिन्छ । यो दश वर्षको अवधिमा ७.३०० किलोमिटर सम्म मूल नहर निर्माण, भालुबाङ बजार क्षेत्र सुरक्षित गर्न १.२ किलोमिटर तटबन्ध, इन्टेक संरक्षण गर्न २०० मिटर तटबन्ध, मलमला गाउँ संरक्षण गर्न १.५ किलोमिटर तटबन्ध, वनघुस्री गाउँ संरक्षण गर्न १.६ किलोमिटर तटबन्ध, पर्शमपुरे खोला संरक्षण गरिएको छ । सिंचाई क्षेत्र बचावट कार्यक्रम समेत चलाइएको छ । जसबाट परम्परागत कुलाहरु खैरेनी, दंगाली छाप कुलो मर्मत गरिएको आयोजना कार्यालयले जनाएको छ ।
तर अहिले आयोजनाले बजेट समस्या भोगेको छ भने पुरक इआइए वन मन्त्रालयबाट स्वीकृत भएको छैन । जसले गर्दा आयोजनाभित्र पर्ने तीन हजार आठ सय ७९ रुख हटाउन सकिएको छैन । रुख नहट्दा मूल नहरको समेत काम अघि बढाउन नसकिएको बड्कापथ सिंचाई आयोजनाका प्रमुख इञ्जिनियर सुदिन मोक्तानले जानकारी दिनुभयो । ‘रुखहरु कटान गर्न बाँकी छ । जग्गा विवाद पनि समाधान गर्दै जानुपर्ने छ’– उहाँले भन्नुभयो– ‘हाम्रो तर्फबाट काम गरिरहेका छौं । आयोजनालाई गति दिनेगरी नीतिगत समस्याहरुलाई फुकाउँदै अघि बढ्नुपर्ने जिम्मेवारी छ ।’ यस्तै आयोजना कार्यालयका इञ्जिनियर रामपुकार शाहले आयोजनाको पानीले सिंचाई सुविधा पु¥याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
मलमला र वनघुस्रीमा व्यक्तिको जग्गा परेको हुनाले विवाद थियो । अब समस्या समाधान गरेर अहिले ६०÷७० बिगाह जग्गालाई पानी दिन सकिन्छ’– उहाँले भन्नुभयो– ‘तर आयोजनाको काम ढिलो हुनुको मुख्य कारण बजेटको कमी, नहरको रेखांकनमा व्यक्तिका जग्गा पर्दाखेरी छलफल गरेर टुंग्याउँदा समय लाग्यो । अहिले भइरहेको ठेक्कामा वनको समस्या हो ।’ रुख कटानको लागि जिल्लातहबाट पठाउनुपर्ने सबै सिफारिस गरिएको तर अहिले वन मन्त्रालयमा रहेको फाइल सिंचाई मन्त्रालयमा पुगेको छ । मन्त्रिपरिषद्ले यसको टुंगो लगाउन बाँकी छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा बड्कापथ सिंचाई आयोजनाको लागि २२ करोड ४३ लाख बजट थियो । जसमध्ये २० करोड २३ लाख ३१ हजार खर्च भयो । चालु आर्थिक वर्षमा ३० करोड बजेट छ तर यसपालि बजेट खर्च सोचेअनुसार नहुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच