भारतमाथि वेस्टइण्डिजको जित

Read Time = 3 mins

दिल्ली । नाटकीय खेलमा वेस्टइण्डिजले दोस्रो टी-२० आई खेलमा भारतमाथि दुई विकेटको जित हात पारेको छ । योसँगै घरेलु टोली वेस्टइण्डिजले पाँच खेलको सिरिजमा २-० को अग्रता लिएको छ । जितका लागि १५३ रनको मध्यम विजयी लक्ष्य वेस्टइण्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । वेस्टइण्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्कासहित ६७ रन जोड्नुभयो ।

कायल मेयर्सले ७ बलमा २ चौका र १ छक्कासहित १५ रन जोड्नुभयो । चौथो विकेटका लागि रोभम्यान पावेल र निकोलस पुरनले ३७ बलमा ५७ रनको साझेदारी गर्नुभएको थियो । पावेल १९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्याच आउट हुनुभयो । हेटमायर २२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट हुनुभयो ।

अकिल हुसेन १० बलमा २ चौकासहित १६ तथा अल्जारी जोसेफ ८ बलमा १ छक्कासहित १० रनमा नट आउट हुनुभयो । भारतका हार्दिक पाण्ड्याले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिनुभयो । युजभेन्द्र चहलले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिनुभयो । त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

भारतका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित ५१, विकेटकिपर इशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७, कप्तान हार्दिक पाण्ड्या १८ बलमा २ छक्कासहित २४, सञ्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट हुनुभयो । वेस्टइण्डिजका स्पिनर अकिल हुसेनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिनुभयो । अल्जारी जोसेफले २ ओभरमा २८ रन खर्चेर २ विकेट हात पार्नुभयो । पहिलो खेलमा वेस्टइण्डिज चार रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार, चौथो खेल शनिबार र पाँचौँ खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?