जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङदेन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताउनु भएको छ ।

अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासात गरेर आफूहरुले मिलेर सरकार बनाउनु परेको उहाँको भनाई थियो । आफूसहित पार्टीबाट बनेका नवनियुक्तमन्त्रीहरुसहित पशुपतिनाथ दर्शन गर्न पुग्नु भएका उपप्रधानमन्त्री लिङदेनले नेपाली जनताले कुनै एक पार्टी, विचार वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनु परेको समेत स्पष्ट पार्नु भयो ।

उहाँले सत्तारुढ दलहरुले मुलुकको आवश्यक्ता अनुसार ठिक ढंगले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दावी समेत गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री लिङदेनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘पहिलो त, हाम्रो आस्थाको कुरा हो । हामी ईश्वरमाथि, भगवानमाथि, सनातन परम्परामाथि विश्वास गर्छौं । र, कुनै पनि शुभकार्य गर्न भन्दा अगाडि र पछि पनि त्यसको स्थायित्वको लागि कुनै पनि कर्म गरिसकेपछि त्यसको स्थायित्वको लागि पनि हामीले आफ्ना पृत्रीहरुलाई, आफ्ना भगवानहरुलाई सम्झने हाम्रो सनातन परम्परा छ । त्यसै बमोजिम आज राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नवनियुक्त हामी मन्त्रीहरुले आफ्नो कार्य प्रारम्भ गर्नु अघि हामी सबैको आस्थाको केन्द्र पशुपतिनाथको दर्शन गरेर आफ्नो काम प्रारम्भ गर्नु राम्रो हुन्छ, शुभ हुन्छ भन्ने ठानेर हामी पशुपति दर्शन गर्न आएको हौं । अहिलेको संसदमा सिद्धान्त मिल्नेहरुमात्रैको त कसैको पनि सरकार बन्ने अवस्था नै छैन । जनताको आदेश नै अहिलेको संसदीय निर्वाचनमा यस्तो भयो कि कुनै एउटा राजनीतिक पार्टीमाथि मात्रै, कुनै एउटा विचारमाथि मात्रै जनताको विश्वास रहेन । जनताले तिमीहरु मिलेर काम गर्नु प¥यो । तिमी अलगअलग पार्टीहरु, अगलअगल विचारका मानिसहरु अहिले आफ्नो विचार भन्दा, सिद्धान्तभन्दा देश र जनतालाई केन्द्रमा राखेर खासगरी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर जाने म्यान्डेट प्राप्त भएको छ । र, अहिले जुन सहकार्य हामीले प्रारम्भ गरेका छौं । त्यसमा पनि अलगअलग विचार, अलगअलग दृष्टिकोण भएका भएर पनि मैले अघि भनेको मुद्धामा एक भएर देशलाई अस्थिरताबाट जोगाउने, राष्ट्रियतालाई मजदुत बनाउने, सुशासन कायम गर्ने, विकासलाई तीव्रता दिने, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने भनेर हामीहरु एकठाउँ भएका छौं । यो कुनै पनि प्रकारको बेमेल प्रकारको सहकार्य होइन । हामीले अहिले देशको आवश्यक्ता अनुसार ठिक ढंगले यो सहकार्य गरेका छौं । हामी कुनै पनि काम नराम्रो गर्दैनौै ।’

उपप्रधानमन्त्री लिङदेनले आफूले रोजाई अनुसारकै मन्त्रालय पाएको समेत बताउनु भयो । उहाँले शुभ कार्य गर्नु अघि देवीदेवताको दर्शन गर्ने चलन अनुसार नै आफूहरुले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथको दर्शन गरेको पनि उल्लेख गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?