मधेश प्रदेश सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

इटहरी । मधेश प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मधेश प्रदेश अन्तिम चारमा प्रवेश गरेको हो ।

जितका लागि १०८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनाउन सक्यो । लुम्बिनीका लागि मधु डिसीले १७ बलमा तीन चौकासहित २१, रञ्जु श्रेष्ठले २८ बलमा दुई चौकासहित २१ रन बनाउनुभयो ।

त्यसबाहेक लक्ष्मी चौधरीले १७ बलमा एक चौकासहित १२, आश्मा पुलामी मगर र कप्तान सरस्वती घर्तीमगर ११-११ रनमा आउट हुनुभयो । मधेश प्रदेशका भूमि सिंहले चार ओभरमा ११ रन खर्चेर दुई तथा कविता गौतमले एक विकेट लिनुभयो ।

त्यसअघि इटहरीको जनता पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा पाँच विकेट गुमाउँदै १०७ रन बनाएको थियो । मधेशका लागि साना प्रविनले ६४ बलमा पाँच चौकासहित सर्वाधिक ४६ र रोजी कडारीले १५ रन बनाउनुभयो । लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र विभस्ना बिसीले एक–एक विकेट लिनुभयो ।

यस्तै, दिउँसो भएको अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३७ रनले हरायो । बागमतीले दिएको १ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा पाँच विकेट गुमाएर ९८ रनमात्रै बनाउन सक्यो ।

गण्डकीका लागि सिमाना केसीले अविजित ३६ तथा कप्तान सृष्टि जैसीले ३४ रन बनाउनुभयो । बागमती प्रदेशका अश्मिना कर्माचार्यले तीन तथा विपिशा शाही र साबिका यादवले एक-एक विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा पाँच विकेट गुमाएर १३५ रन जोडेको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । त्यस्तै, कप्तान अश्मिना कर्माचार्यले १८ रन जोड्दा सोनी पाख्रिनले १३, अश्मिता खरेलले १२ र हेलिसा गुरुङले ११ रन जोड्नुभयो । गण्डकीका कुसुम गोदार, सृष्टि जैसी, निरुता जिटी र सिमाना केसीले एक-एक विकेट लिनुभयो ।

योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा सुदूर र मधेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।

समूह ‘ए’ बाट सुदूर तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहृयो । एपिएफ तीन खेलमा दुईमा जित र एकमा हारसहित दोस्रो स्थानमा रहृयो । समूह ‘बी’मा प्रदेश १ तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहृयो । मधेश तीन खेलमा दुईमा जित र एकमा हारसहित दोस्रो स्थानमा रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?