‘नाहं वसामि बैकुण्ठे न योगी हृदयेनच
मद्भक्तान् यत्र गायन्ति तत्र तिष्ठामि नारदः’ ।।
यो भनाइ भगवान विष्णुको हो । नारदले तपाईं सधैं क्षीर सागरमा नै बस्नुहुन्छ ? भनेर सोधेपछि विष्णुले उनलाई उत्तर दिँदा यसरी दिएछन्–‘म त बैकुण्ठमा पनि बस्दिन र ठूला योगी त्यागीका हृदयमा पनि बस्दिन म त मेरा भक्ततले जहाँ राख्छन् त्यहीँ बस्छु’ भनेर उत्तर दिएका रहेछन् । मानवीय सभ्यताका उषाकालमा मानवले गरेका सबै कुरा कतै कुरान, कतै बाइबल, कतै बुढापेष्ट त कतै जरथ्रुस्त अनि कतै चाहिँ वेद पुराण र उपनिषद् आदिका नामबाट संसार प्रसिद्ध छन् ।
कतिपय पौराणिक आख्यानलाई मिथ, मिथोलोजी भनेर संकेत गरियो भने तिनै पुराणका आख्यानलाई पश्चिमीका देखासिखीमा हजारीप्रसाद द्विवेदीले त्यसलाई भारतीय उपमहाद्वीपीय साहित्यमा स्वार्थमा ‘कन’ प्रत्यय गरेर ‘मिथक’ शब्दबाट त्यसलाई उल्लेख गर्ने प्रचलन चलाएका थिए । नेपाली समाजमा पनि केही आर्य, केही भोटचिनियाँ, केही अग्नेली, केही द्रभिडेली केही अनार्य, केही मंगोल अनेकौं १२५ प्रकारका संस्कार संस्कृतिसँग सम्बद्ध नागरिक बसोबास गर्दछन् । जति धेरै भाषा त्यति नै धेरै संस्कार संस्कृति र धारणा अनि धर्मले पनि जरा फैलाउने अवसर लाभ गरेकै हुन्छ । जहाँ धेरै मान्छे वस्तु त्यहाँ एकअर्कासँग टक्कराएर अनेकौं ध्वनि निक्लनु पनि साधारण नै कुरो हो ।
मौरी एउटै रानु या रानी मौरीका दास बनेर मह बनाउँछन् । घार छाडेर हिँड्ने उपयुक्त स्थानमा घार खोज्ने काम सबैले गर्नेगरेको देखिन्छ । बारुलो, अरिंगाल, बच्छ्युँ, भीरमौरीको सिद्धान्त कम्युनिष्टले अपनाएका छन् । थोरै जाति, भाषा, संस्कार संस्कृति भएका स्थानमा यो सफल भएको देखिन्छ । अहिले यिनमा पनि बाघ, हात्ती, बाँदर तथा स्यालको जस्तो तागतवरले नेतृत्व (जो जीता वही सिकन्दर) गर्ने प्रथाको विकास भएको देखिन्छ ।
केपी ओलीले माधव नेपाललाई लखेटेको लखेटै पारे । चीनमा पनि दङ्स्याओ पिङले गरेका सुधारलाई सिजी पिङ्ले जरैदेखि उखेलेर फ्याँकिदिए । पुटिन विस्तारै पूर्वसोभियत संघका धङधङीका आनन्दमा अन्धो बनेर युक्रेनमाथि बर्सिएका बर्सियै छन् । ओली दुनियाँका जुनसुकै कर्म गर्न तयार छन् तर माधवसँग गएका आफ्नै बिरादरीलाई फर्काउन तयार छैनन् । भगवान् भक्त र नेता तथा कार्यकर्ताको अनमेल चरित्र यहाँ देखिन्छ ।
ईश भक्ति जस्तै नेता भक्ति :
यो राजनीति भन्ने कुरो र भगवान तथा भक्त भनाउँदाका क्रियाकलापसँग मिल्नेएकै सिक्काका दुई पाटा जस्ता लाग्दा रहेछन् । राजनीति गर्नेको पनि विवेक बुद्धिभन्दा आपसी लेनदेन, नसनाता, चाकरी चाप्लुसी, नजराना नेताभक्ति र नेताको ममता नभए भगवानले भक्तलाई नजोगाउँदा जुन प्रकारको हरिबिजोक हुन्छ त्यसभन्दा बदत्तर हुँदोरहेछ कार्यकर्ताको । रामले पक्षपात गरेनन् भनेको सुनेर मलाई अचेल आश्चर्य लाग्न थालेको छ । सीताका लहैलहैमा लागेर ताडका मार्नु, सूर्पणखाको नाक कान काट्नु, सुग्रीवका कुरा सुनेर बालीलाई छलपूर्वक मार्नु, रावणका रिसले आफ्नै चाकरीदार विभीषणलाई लंकाको राजगद्दीमा बसाउनु पक्षपोषण होइन भनेर कसरी मान्ने ?
डा. शेखरसँग धेरैले आस गरेका थिए तर प्रतिपक्षमा बसेर गर्जन छाडेर प्रचण्डका पाउमा सिंगो कांग्रेसलाई लगेर भेटी चढाउँदा चुँ नबोलेको देखेर नेपाली जनता तीनछक छन् । प्रचण्डलाई मतदान गरेर दशौं वर्ष मेची-महाकाली गरेर बनाएको छवि एकाएक सखाप पारेको देखियो ।
विचरो शम्बुकले रामको के बिगारेको थियो र त्यो निदोर्षको हत्या गरे ? आफ्नै चाकडीदारलाई जोगाएको नभए यो के हो त ? भाइका लहैलहैमा लागेर लवकुशलाई वनतिर लखेटेर लक्ष्मण र शत्रुघ्नका छोरालाई राजगद्दी दिएर आफ्ना छोरालाई कुसुण्डा र राउटे बनाएको भने निष्पक्षता हो भनेर कसरी मान्ने ? यसको अर्थ रामको राजकाज चलाउने बुद्धिविवेक नभएको कुरो कैकेयीलाई पहिले नै थाहा रहेछ र पो उनले यिनलाई १४ वर्ष वनवास र भरतलाई राजकाज मागेकी रहिछन् ।
सुशील कोइरालाले प्रकाशमान जो शेरबहादुर देउवासँग थिए, उनलाई ल्याएर डा. शशांक र डा. शेखरलाई राजनीतिको कुनै पनि हाइ¥यांकीमा आउन नदिएको देखेर नेपाली जनता तीनछक थिए । आज डा.शशांक र डा. शेखर दुवै देउवाका दौराको फेर समातेर ताल न तुकका क्रियाकलापमा मौन बसेको देख्दा त के सुशील दाले यी टेक्नोक्र्याटको चरित्र बुझेका रहेछन् ? भनेर मान्ने कि ? यिनीहरू पनि महका ढुंग्रामा डुबेका माखा बने भनेर शंका गर्ने ? समूहले समूहलाई हाँक्दैन । समूहलाई त्यही व्यक्ति (नेता) ले हाँक्दोरहेछ ।
त्यो व्यक्तिजस्ता प्रकारको क्षमता भएको छ समूह, पार्टी पनि त्यसै अनुसारको बन्दोरहेछ । पार्टीका इतिहासले पार्टी चल्दो चलाउँदोरहेनछ । वर्तमान कांग्रेसले यो कुरो स्पष्ट पार्यो । डा.शेखरसँग धेरैले आस गरेका थिए तर प्रतिपक्षमा बसेर गर्जन छाडेर प्रचण्डका पाउमा सिंगो कांग्रेसलाई लगेर देउवाले भेटी चढाउँदा चुँ नबोलेको देखेर नेपाली जनता तीनछक छन् । प्रचण्डलाई मतदान गरेर दशौं वर्ष खटेर मेची-महाकाली गरेर बनाएको छवि एकाएक सखाप पारेको देखियो । केही दिनपछि आएर त्यो गल्ती महसुस पनि गरेको सुनियो । त्यसपछिका सभामुख, उपसभामुख आदिमा कांग्रेसलाई भासरक गधाको लात्ती प्रचण्ड र ओलीले दिएपछि अब अर्को लात राष्ट्रपतिका निमित्त उम्मेदवार दिएर चाख्ने मनसाय देखाएको छ कांग्रेसले ।
सत्ताबेगर दुई दिन बस्न नसक्ने चरित्र प्रदर्शन गरेको देखेर विश्व चक्ति भएको छ । युवकहरू पनि चुके नराम्रोसँग । यिनका पनि धेरै कुर्लने नैतिक बल रहेन । लोभ पाप र महत्वाकांक्षा देखिएपछि लोकविश्वासको जग कमजोर हुन्छ नै । ओलीका फन्दाबाट राष्ट्रपतिको पद उम्काउन सके प्रचण्डले डा. बाबुरामलाई ल्याउनेछन् । जानी–जानी आफ्नो मान्छे मित्रलाई ल्याउन छाडेर वर्गशत्रुका पोल्टामा कसैले कुराउनी चिउरा हाल्छ ?
कहिले तल कहिले माथि हुन्छ स्थिति :
राजनीति र भक्ति विचित्रको चरित्रका हुँदारहेछन् । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् पनि भनिन्छ र वैचारिक दूरीलाई अस्वीकार पनि गरिन्छ । भक्तित पनि यस्तै विरोधाभासी रहेको देखिन्छ । एउटा वरदान दिने अर्को मार्न जाने । अनि हामी तीन एक हौं हामीमा विभेदबुद्धि गर्ने नरकमा अवस्य पर्छ भनेर पनि कुर्लने । खाने बेलामा नेपालका तारे तिल्के सबै मिल्छन् तर जनताको भलो र देशलाई दूरगामी परिणाम दिने खालका काममा भने तीन तिरहुतिया तेरह पाक चरित्रार्थ गराउँछन् । खान र खुवाउनका निमित्त नागरिकता विवादमा परेको मान्छे उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेको छ ।
सयौं विकास निर्माणका ठेक्कामा घोटाला गरी कालो सूचीमा परेको ठेकेदार आज त्यसैको नेतृत्व गर्ने मन्त्री बनेको पनि देखियो । निजी विद्यालय चलाएर मुनाफा कमाएर हुँदा न खाँदाको लिष्ट पठाएर अभिभावकको मेरुदण्ड खुस्काउने, नेपाली बोलो भनेर छात्रछात्रालाई घण्टौंघण्टा कुखुरा बनाएर चउरमा सेकाउने मन्त्री बनेको पनि यसै देशमा देखे जनताले । प्रहरीलाई एक्ल्याएर कुटीकुटी मार्ने मान्छे माननीय भएर सपथ लिएको र प्रहरी तथा गृहमन्त्रीले पौंठाजोरी खेलेको पनि हामीले देख्यौं । गृहमन्त्री भएर प्रहरी प्रशासनका विरुद्ध विज्ञप्ति निकाल्ने गृहमन्त्रीलाई कारबाही नगरेर के हेरेर बसेका छन् प्रधानमन्त्री ? म्यानपावर व्यवसायी श्रममन्त्री बन्ने देश पनि नेपाल नै देखियो ।
प्रधानमन्त्री निवासको जग्गा जमिन बेचुवा उपप्रधान मन्त्रीसहितको अर्थमन्त्री दुनियाँका कुनै देशमा भएको इतिहास छ ? दाजु मार्ने र भाइलाई राजगद्दी दिने काम रामायणमा भएको छैन र ? बाबुलाई मारेर छोरालाई शत्रुहीन राजा नृसिंहले प्रहृलादलाई बनाएको हामीले पढेका छैनौं र ? नारदलाई शुद्रयोनीमा जन्मनु भनेर शिव श्राप दिने गणेश गएर गाण्पत्य सम्प्रदायी बनाएर देवर्षि प्रदान गर्ने भक्तिका कुरा र प्रचण्डेली राजनीतिका कुरा कत्तिको मिले भनेर हेर्नुस् त तुलनात्मक किसिमले ।
हिजो ओलीका दम्भले २३ सिट भएका देउवा वाम वैशाखीमा प्रधानमन्त्री बनेर ओलीलाई ङिच्च पारेका थिए भने आज परिस्थिति उल्टिएको छ । आज पनि देउवाकै दम्भले ओली ताइँन तुइँका दारासिंह बनेका हुन् नेपाली संसद्मा ।
यसरी हेर्दा हामी हाम्रा पुराण उपनिषत् र वेदवेदान्तकै कारणले त बिग्रेका होइनौं भनेर प्रश्न गर्न मन लाग्न लाग्यो । लोग्नेलाई काटेर आँगनमा लडाएर स्वास्नी बोलाएर खोरबाट खसी निकालेर काटेर हामीलाई मासुभात खुवा भनेर आदेश दिने यिनै माओवादीका मिलिसिया होइनन् र ? कोरोनाका बेला औषधि नपाएर खान नपाएर अलपत्र परेका बेलामा जनता भोकले मरे सरकार कता हरायो ? औषधि नपाएरै जनता धेरै मर्न लागे भनेर आबाज उठाउनेलाई नै औंल्याएर ओलीले यिनलाई अरिंगाल बनेर चिल भनेर आफ्ना कार्यकर्तालाई निर्देश दिएको होइनन् र ? बौद्धिक समुदायलाई मैले बोलेभने बुद्धिजीवीहरू ढल्छन् भनेर यिनैले प्रतिक्रिया दिएका होइनन् र ?
यिनै अहिले नेपाली राजनीतिका महाशिरोमणि बनेर प्रकट भएका छन् । हिजो ओलीका दम्भले २३ सिट भएका देउवा वाम वैशाखीमा प्रधानमन्त्री बनेर ओलीलाई ङिच्च पारेका थिए भने आज परिस्थिति उल्टिएको छ । आज पनि देउवाकै दम्भले ओली ताइँ न तुइँका दारासिंह बनेका हुन् नेपाली संसदमा । पौरस्त्य वेद, पुराण, उपनिषत्, स्मृतिले मानेका तीन महाशक्ति ब्रहृमा, विष्णु र महेश्वर आ–आफ्नै बौद्धिक कमजोरी, आफ्नै महत्वाकांक्षा, आआफ्नै आसेपासेका उलामालामा लागेर यिनीहरू बेलाबेलामा हिस्स बुढी हरिया दाँत र कहिले सर्वशक्तिमान् पनि बनेका चित्रणका उपमान उपमेय देख्न, पढ्न पाइन्छ ।
अहिलेका नेपालमा पनि देउवा, ओली र प्रचण्डका प्रतापाग्निमा राजनीतिको रथ कहिले सडकबाट त कहिले सडकभन्दा बाहिर यिनकै सनकअनुसार चलेको देखिन्छ । यिनीहरूकै दलका अरू र अन्य राजनीतिक चिन्तक विश्लेषकले अब त सुरुवाल फुकालेर सारी लाए पनि हुन्छ होला जस्तै देखिन लागेको छ । काहिँ नभएको जात्रा हाँडी गाउँमा । काहिँ नभएको खेल भक्ति र नेपाली राजनीतिमा देख्न, भोग्न पाएर मजस्ता गिदीहीन नेपाली मक्ख्ख होलान् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच