एपिएफको तेस्रो जित

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा एपिएफले आर्मीलाई तीन-एकको सेटमा पराजित गर्दै अपराजित रहेर शीर्षस्थानमा रहन सफल भएको हो ।

पहिलो सेट २५-१७ ले जितेको एपिएफले दोस्रो सेट २२-२५ ले गुमाउन पुगेको थियो । त्यसपछिका दुवै सेटमा एपिएफले सहजै २५-१६ र २५-१५ ले जित्न सफल भयो । यस जितसँगै एपिएफ तीन खेलबाट नौ अंक जोडेर शीर्षस्थानमा रहृयो । आर्मी तीन खेलबाट ६ अंक जोडेर दोस्रो तथा होंगान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले तीन अंक बटुल्दा घरेलु टोली गण्डकी प्रदेश अंकविहीन बन्यो । बुधबारै डायमण्डले गण्डकीलाई १९-२५, २५-१५, २५-१४ र २५-११ को सेटमा हराएर लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै, गण्डकी प्रदेशलाई पराजित गर्दै न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले पनि महिलातर्फ तेस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउण्ड रोबिन लिगको खेलमा डायमण्डले गण्डकीलाई तीन-एकको सेटमा पराजित गरेको हो । डायमण्डले पहिलो सेट १९-२५ ले गुमाए पनि त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

दोस्रो सेटमा २५-१५ को सहज जित हात पारेको डायमण्डले तेस्रो सेटमा २५-१४ को सहज जित हात पार्न सफल भयो । चौथो सेटमा १०-९ को स्थितिबाट लगातार १३ अंक जोडेर जिततर्फ अग्रसर बनेको डायमण्डले २५-११ को सहज जित निकाल्न सफल भयो ।

यस जितसँगै डायमण्डले तीन खेलबाट तीन अंक बटुल्दा पराजित गण्डकी राउण्ड रोबिन लिगमा अंकविहीन रहृयो । डायमण्डले यसअघि आर्मी र एपिएफसँग हार बेहोर्दा गण्डकीले तीन टोलीसँग हारको नतिजा आत्मसात गर्‍यो । एपिएफ र आर्मीको दुई खेलबाट समान ६ अंक छ ।
यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्षस्थानमा रहेको एपिएफले पुछारमा रहेको गण्डकीसँग तथा दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानमा रहेको न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल बिहीबार हुनेछ । तेस्रो स्थानको खेल शुक्रबार तथा फाइनल शनिबार हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होंगवान्जी न्यु डायमण्ड स्पोटर््स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता छ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ च्याम्पियन टोलीले पाँच–पाँच लाख र उपविजेता टिमले समान नगद दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले जानकारी दिनुभयो । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक विधाका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई दश-दश हजार रुपैयाँ र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?