सर्वोच्चको एक फैसला : रविका सबै पदलाई झड्का

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतको आजको एउटा फैसलाले छोटो समयमा देशको मुख्य जिम्मेवारी लिन सक्षम रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री र सांसद पद गुमाउनु भएको छ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उहाँको उप्रधान एवं गृहमन्त्री र सांसद पद गुमेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उहाँलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उहाँको पद गुमेको हो ।

सर्वोच्चका अनुसार अब अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले लामिछानेले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भएका छन् ।

उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने सर्वोच्चको ठहर छ । साथै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहन पनि उहाँ अयोग्य हुनु भएको छ ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

इजलासमा कामु प्रधानन्यायाधीश कार्की तथा न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा हुनुहुन्थ्यो ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बन्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?