काठमाडौं टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आयोजकको दुईसहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक आठ स्वर्ण, दुई रजत र एक कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब ‘बी’ दोस्रो भयो । जैशीदेवलले तीन स्वर्ण, एक रजत र तीन कांस्य जित्यो । तेस्रो स्थानको भक्तपुर नगरपालिकाले दुई स्वर्ण र चार कांस्य हात पार्‍यो ।

प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बू तथा महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुम्सेको पुरुषमा गोदावरी नगरपालिकाका पिरव महर्जन तथा महिलामा बुढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट चारैले एक सय अमेरिकी डलर नगद पुरस्कार पाउनुभयो ।

काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक तथा भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बन्नुभयो । दुवैले जनही १५० अमेरिकी डलर पुरस्कार हात पार्नुभयो । विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा तीन सय खेलाडी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?