हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना महिलाको पाठेघरको शल्यक्रिया गरिदिने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना पाठेघर खसेका महिलाहरूको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । १ माघदेखि ९ माघसम्म नगरको ११ वडामै स्वास्थ्यकर्मी पुगेर महिलाहरूको पाठेघरसम्बन्धी रोगको परीक्षण गर्दा पहिचान भएका पाठेघर खसेका महिलाहरूको निःशुल्क शल्यक्रिया गरिदिने भएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेका अनुसार पाठेघर खसेका ३२ जना महिलासँग नियमित सम्पर्कमा रहेर १ फागुनमा शल्यक्रिया गर्न बनेपा लगिनेछ । कुन अस्पताल भन्ने खुल्न बाँकी छ । पाठेघर खसेका महिलाहरूको शल्यक्रिया खर्च र उनीहरूको कुरुवाको सबै खर्च नगरपालिकाले बेहोर्नेछ । नगरपालिकाले नौ दिन घर-घरमा पुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका थिए । तीमध्ये ३२ जनाको पाठेघर खसेकोमा शल्यक्रिया गर्नुपर्ने देखिएको हो । तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी (पाठेघरसम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ । आवश्यकताअनुसार औषधि वितरण र परामर्श दिइएको थियो ।

एकादुई लजाउने, धकाउनेबाहेक अधिकांशले पाठेघरसम्बन्धी रोगको उपचार तथा सेवा लिएका थिए । पाठेघरमा देखिने रोगलाई कतिपय महिलाहरूले लुकाउने गर्नाले पनि शून्यमा झार्न नसकिएको स्वास्थ्य संयोजक घिमिरेको भनाइ छ । तर पनि नगरपालिकाको प्रयास भने निरन्तर जारी रहेको उहाँको भनाइ छ ।

आठ वडाका महिलाको पाठेघर खसेको पाइयो
नगरपालिकामा जम्मा ११ वडा छन् । बाहुनीडाँडा, बडहरे, मंगलटारबाहेक अन्य वडाका महिलाको पाठेघर खसेको पाइएको छ । डिकुवामा दुईजना, च्यास्मिटारमा पाँचजना, दुर्छिममा नौजना, महादेवस्थानमा पाँचजना, धितुङमा दुईजना, सल्लेमा दुईजना, अर्खौलेमा चारजना र राजापानीमा तीनजना गरी ३२ जना महिलाको पाठेघर खसेको पाइएको नगरपालिकासँग तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?