द्विविधा छैन रवि लामिछानेको प्रतिभाका बारे । उहाँको योग्यता र क्षमतामा पनि शंका गर्ने ठाउँ छैन । उहाँले लामो समयदेखि आफ्नो प्रतिभा र क्षमता टेलिभिजनका माध्यमबाट देखाउँदै आउनुभएको हो । तर, एकाएक उहाँ नेपालको राष्ट्रिय राजनीतिको मूल धारतिर मिसिन चाहनुभयो र पर्टी खोल्नुभयो । त्यसका पछाडि केही कारण वा उहाँको अति महत्वाकांक्षा रहेको हुनसक्छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा आममानिसको अनुमानविपरीत गत स्थानीय तहको निर्वाचनमा बालेन्द्र साहले विजय प्राप्त गरेपछि नेपालको राजनीतिक क्षेत्रमा केही हलचल आएको थियो । धरान उप-महानपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क सामपाङ विजयी बन्नुभयो । उहाँहरूको आकर्षण बढिरहेका बेला केहीले यस मौकालाई आफ्नो पक्षमा पार्ने कोसिस गरे जसमा रवि लामिछाने पनि पर्नु हुन्छ ।
उहाँमा महत्वाकांक्षा त थियो नै, त्यसलाई भजाउने सही अवसर यही हुनसक्छ भनेर उहाँले पार्टी दर्ता गरिहाल्नुभयो । स्थानीय निर्वाचनमा स्वतन्त्र युवाहरूले केही ठाउँमा विजय गरेका कारण उहाँले आफ्नो पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राख्नुभयो । यसबाट अब केही भइहाल्छ कि भन्ने अपेक्षा धेरैमा पैदा भयो । यही जनसहानुभूति लामिछाने र उहाँको पार्टीले पाएको हो । उहाँका अग्रगमनका पाइलाहरू जसरी उत्ताउलिएका थिए त्यो उम्लिएको पोखिन्छ, दगुरेको लड्छ भन्ने भनाइ अनुसार नै भयो । उहाँलाई सर्वोच्च अदालतले प्रक्रिया पुर्याएर नागरिकताको प्रमाणपत्र लिन निर्देशन प्राप्त भयो तर उहाँले यसको आसय राम्ररी नबुझेर ‘अब मत अनागरिक भइहालेँ, मलाई प्रश्न नसोध्नुस्’ भनेर पत्रकारहरू सामु आफ्नो अपरिपक्वता प्रदर्शन गर्नुभयो ।
तर, फेरि तुरुन्तै नागरिकताको प्रमाणपत्र लिनुभयो र राहदानी फिर्ता पनि गर्नुभयो । अदालतले उहाँको सांसद पद खारेज गरिदियो । पार्टी अध्यक्ष पद पनि अवैधानिक ठहर गर्यो । जब उहाँले नागरिकता लिनुभयो तब तुरुन्तै आफ्नो पार्टीको अध्यक्षमा बहाली गर्नुभयो तर उहाँसम्बन्धी अनेकौं प्रश्नहरूको विद्यमान अहिले पनि छँदैछ । उहाँको राहदानीमै वैधानिक नभएका कारण उहाँले यसरी गरेको अवैधानिक कार्य एउटा जधन्य अपराध हो भन्दै उहाँलाई यसबापत पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ । सो निवेदन उपर उहाँका बारेमा केही निर्णय पक्कै नै हुनेछ र राहदानी प्रकरणमा समेत उहाँको सजाय निर्धारण हुन सक्छ । अर्को कुरा उहाँको नागरिकता अमान्य भयो ।
उहाँले पक्रिया पुर्याएर नयाँ नागरिकता लिनुभयो तर उहाँले पार्टी दर्ता गरेका बेला त उहाँको नागरिकता अर्कै थियो । त्यसैले यसरी दर्ता गरेको पार्टीसमेत वैधानिक नहुने हुनसक्छ । त्यसका लागि निर्वाचन आयोगमा उजुरीसमेत परिसकेको छ । भोलि यदि उहाँको पार्टी अवैधानिक भएको ठहर भयोे भने उहाँ र उहाँको पार्टी ‘पुनर्मुसिको भव’ को अवस्थामा पुग्नेछ । त्यसबेला ‘जो आस लाग्दो उही जेठाजु पर्दो’ भन्ने नेपाली उखान उहाँ र उहाँको पार्टीका हकमा लागू हुनपुग्छ । त्यसबेला अहिलेको प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट आएका उहाँको पार्टीका सबै सांसदको पद खारेज हुनसक्छ । उहाँले मन्त्रीबाट हट्नासाथ नागरिकता लिनुभयो र नागरिकता लिनासाथ गैरसांसदकै हैसियतमा भए पनि पुनः गृहमन्त्रीमा फर्किन हतारो गर्नुभयो । यसका लागि प्रधानमन्त्रीलाई समयसीमा समेत तोकेर दबाब दिनुभयो ।
तर, प्रधानमन्त्री यसका लागि अनिच्छुक रहेको पाइयो । उहाँका र उहाँको पार्टीको चौतर्फी कानुनी वैधानिकताका बारेमा यसरी प्रश्न उहाँको नागरिकताको प्रकरणबाट उठ्ने मौका पायो । रविमा भरोसा देख्नेहरू समेत अहिले उहाँको परिपक्कवता देखिरहेका छन् । त्यमाथि आफ्नो सांसद पदसमेत जाँदा पनि मन्त्री बन्न हतार गरेका कारण उहाँमा बालहठ देखिएको धेरैको ठम्याइ छ । सहानुभूति घट्दैछ । यसरी लहरो तान्दा पहरो गर्जिने अवस्थाको कारक भने उहाँ आफैं हुनुहुन्छ । उहाँमा दोष थिएन भने अरूको आलोचनाले मात्रै केही हुन सक्ने थिएन । अब भने रविले आपूm र आफ्नो पार्टीलाई वैधानिक रूपमा बलियो बनाएरमात्र पाइला अगाडि बढाउनुमै उहाँ र उहाँको पार्टीका लागि श्रेयष्कर देखिन आउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच