लामिडाँडा विमानस्थलमा उडान नहुँदा व्यवसायी मारमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

खोटाङ । खोटाङको लामिडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका-३ लामिडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो । २०२८ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेका छन् । विमानस्थलका कारण आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको लामिडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताउनुभयो । दुई-चारवटाबाहेक अन्य होटलहरूमा ताला लागेको छ । होटल तथा पसलअगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेसा खेतीपातीतिर फर्किएका छन् ।

खोटाङका तीनवटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो हो । पर्यटकीय सिजनमा लामिडाँडा विमानस्थलमा एकैदिन हवाईजहाज र हेलिकोप्टर गरी ६० देखि ६८ फ्लाइट हुन्थ्यो । यात्रुको ओहोर-दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे । फ्लाइट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे । तर, कच्ची र धुलाम्मे विमानस्थल हुँदा नियमित उडान भइरहेको विमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामिडाँडाका वडा सदस्य महेशकुमार श्रेष्ठले बताउनुभयो ।

कालोपत्रे गरिएपछि लामिडाँडामा २०७६ असार ३ गते परीक्षण उडान गरिएको थियो । त्यसयता विमानस्थललाई परीक्षण उडानमै सीमित राखिएको छ । २०७३ असोज १९ गतेदेखि सुरु गरिएको विमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो । सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामिडाँडामा उडान बन्द भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका-४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनुअगाडि लामिडाँडा विमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामिडाँडामा दैनिक यात्रुको घुइँचो लाग्ने गरेको थियो । होटल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो । होटलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दै आएका थिए । तर, हिजोआज बैंकमा आउने सेवाग्राहीका कारण मात्र लामिडाँडामा केही जमघट हुने गरेको देखिन्छ । उडान नहुँदा रावाबेंसी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभिर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् । यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै असर परिरहेको छ । उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेंसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।

सोलुखुम्बु, पाथिभरा, हलेसी सिजनमा लामिडाँडामा पार्किङ अभावमा जहाज र हेलिकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो । पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोरदोहोर गर्ने जहाजलाई लामिडाँडामा ‘वेटिङ फ्लाइट’ गराइन्थ्यो । तर, कालोपत्रे विमानस्थलमा परीक्षण उडानपछि सीता एयरको जहाजले दुईपल्ट उडान भर्नुबाहेक अन्य उडान हुन सकेको छैन । यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलिकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाइट’ गरेको स्थानीय बताउँछन् ।

पछिल्लो समय खोटाङमा वैकल्पिक विमानस्थल सञ्चालनमा आए । सँगसँगै गाउँ–गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए । अहिले यात्रु लिनका लागि घर-घरमै जिप पुग्न थालेको छ । त्यसका कारण पनि लामिडाँडा विमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?