नेपालको राजनीतिमा पछिल्लो समय सार्वधिक चर्चामा रहेको नाम हो रवि लामिछाने । उनी सञ्चारकर्म छोडेर राजनीतिमा आएदेखि नै चर्चामा छन् । त्यसो त सञ्चारकर्ममा छँदा पनि उनी चर्चामा आउने गर्थे । टेलिभिजनमा कार्यरत छँदा नै उनका एकजना सहयोगीले चितवनको एक होटलमा गरेको आत्महत्यामा पनि उनलाई दुरुत्साहनको अभियोग लाग्यो । त्यो समयमा पनि उनी निक्कै चर्चामा आएका थिए । उनले सञ्चारकर्ममा रहेर गरेका राम्रा कामले निक्कै तारिफ पनि बटुलेको थियो । त्यसैको जगमा उनी राजनीतिमा होमिए र धेरै युवाले साथ दिए । तर, अनेक झमेलामा फस्दै आएका रवि यी झमेलाबाट निस्कने कोसिस गर्दा एकपछि अर्को झमेलामा पर्ने गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर नेपाली राजनीतिमा व्याप्त विकृति सफा गर्ने देखिएका रवि धेरैका आशाका केन्द्रका रूपमा देखापरे । खासगरी भ्रष्टचारविरोधी उनका अभिव्यक्तिलाई मतदाताले साथ दिए र राजनीति सुरु गरेको छोटो समयमै लाभको पदमा पुगे तर उनी त्यहाँ धेरै दिन रहन सकेनन् । नागरिकता विवादको मुद्दामा लामिछानेले १३ माघमा सांसद पद गुमाए । सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएपछि लामिछानेले केही दिनअघि पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका छन् । नागरिकता प्राप्त गरेसँगै लामिछाने रास्वपाको सभापतिमा फेरि चयन भइसकेका छन् । नागरिकता प्रकरणको आदेशको पूर्णपाठ आइसकेको छैन भने निष्क्रिय नागरिकता प्रयोग गरी दोहोरो राहदानी लिएको विषय अझै बाँकी छ । उनी फेरि गृहमन्त्रीमै फर्किन अनेक दौडधुप गरिरहेका समाचार पनि सार्वजनिक भइरहेका छन् ।
यसबैबीचमा रविले आफू अभिमन्यु नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला’, उनले भनेका छन्, ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
अभिमन्यु महाभारतका एक पात्र हुन् । अर्जुनपुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन । त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो । तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् ।
अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन । त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो । तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् । अभिमन्यु अर्जुन र सुभद्राका छोरा हुन, जसलाई महाभारत युद्धको १३औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरूले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ब्युहको प्रयोग भएको थियो जसमध्येको चक्रब्युह गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरूलाई अगाडिको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरू बीचतिर र पछिल्लो घेरामा ।
अभिमन्युले चक्रब्युहको कथा उनी आमाको गर्भमा हुँदा नै सुनेका थिए । अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निधाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भए पनि कसरी निस्कने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो, एक्लो अभिमन्युसँग सात जना नामी सारथीहरू लडे, जुन युद्धको नियमविपरीत थियो । महाभारतमा बुँदागत रूपमा युद्धका नियमहरू बनाइएका थिए, सूर्य उदाउनुअघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैनथ्यो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढीले लड्न नपाउने नियम पनि थियो । अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरूले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए, किन रोकिएको ? भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भने, ‘कर्ण अहिले रथको खुट्टानिर छन्, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु, रथ बाहिर भएको योद्धासँग लड्नु युद्धको नियमविपरीत हो । अर्जुनको भनाइमा श्रीकृष्णको जबाफ थियो, के अभिमन्युलाई मार्ने बेलामा यिनीहरूले युद्धको नियम पालना गरेका थिए ? त्यसपछि अर्जुनले कर्ण र अन्य धेरैमाथि बाण चलाए, पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरूको जित भयो ।
रविले भनेजस्तै उनी अभिमन्यु नभएर कसरी यहाँ उम्किन सफल हुनेहुन् त्यो त आउँदा दिनमा नेपाली राजनीतिका घटनाक्रमले तय नै गर्नेछ तर उनले उच्च नैतिकता देखाउनुपर्ने थियो त्यस्तो भएको पाइँदैन । पदका लागि अलिक आशक्ति देखाएको पाइन्छ । सत्ताबाहिर रहेर सशक्त प्रतिपक्षको भूमिका निभाउँदै नेपाली राजनीतिका विकृतिलाई पर्दाफास गर्दै गएको भए अझ राम्रो हुनेथियो भन्नेहरू पनि धेरै छन् । जवाहरलाल नेहरू भन्नुहुन्छ, ‘महान् नेताहरूमा यस्तो गुण हुन्छ, जो सम्पूर्ण राष्ट्रलाई प्रेरणा दिन्छन् र उनीहरूलाई महान् कार्य गर्न प्रेरित गर्दछन् ।’ अत्यन्त छोटो समयमै नेपालको राजनीतिमा चर्चित बनेका लामिछाने कानुनी हैसियतले नेपालका नागरिक हुन् कि होइनन् ? भन्ने गम्भीर प्रश्न उठनुमा उनको लापरबाही देखिन्छ । उनले समयमै यसको समाधान गरेर राजनीतिमा आउनुपर्ने थियो । मंसिर ४ मा मतदान गर्नेदिन आउनुभन्दा ६ दिनअघिमात्र उनको नागरिकताको वैधानिकताबारे विवाद निकाल्दै निर्वाचन आयोगको चितवन कार्यालयमा उजुरी परेको थियो । नागरिकता विवाद विचाराधीन रहेकै अवस्थामा लामिछाने गृहमन्त्री बने ।
पार्टीको संसदीय दलको नेतासमेत रहेका लामिछाने मन्त्री बनेपछि उनको नागरिकतामाथि हुने अनुसन्धान प्रभावित हुने आशंका धेरैको थियो । अमेरिकी नागरिकता नत्यागी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप उनीमाथि थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप थियो । नेपाली राजनीतिप्रति युवा पुस्ताको वितृष्ण बढ्दै गएको अवस्थामा युवपुस्ताको आशाका केन्द्र बन्दै गएका रविका अनेक प्रसंगले युवाहरूको राजनीतिप्रतिको मोहभंग अझ बढाएको छ । राजनीतिमा नैतिकता, इमानदारी, सदाचार, सरल आचरण, स्पष्टवक्ता, वचनमा पक्का आदि महत्वपूर्ण पक्ष मानिन्छन् । नीतिहरूमा सबै नीतिको राजा भएकाले नै राजनीति भनिएको हो । राजनीतिमा नैतिकता मात्र छोडेमा त्यो राजनीति नभएर अराजनीति हुन जान्छ । हाम्रो राजनीतिमा अराजनीति बढदै गएको छ । यही अराजनीतिमा मा युवापुस्ताले नयाँ आएका राजनीति दललाई यो निर्वाचनमा आफ्नो अमूल्य मत जाहेर गरेका थिए ।
सुशासन जनताको नैसर्गिक अधिकार हो । सुशासन नभए शासन गर्ने वैधता पनि सकिन्छ । यसका निम्ति राजनीतिमा नैतिकता र कर्मचारी प्रशासनमा व्यावसायिक दक्षता आवश्यक पर्छ । नैतिकता गुमाएको राजनीति र व्यावसायिक सीपविनाको कर्मचारी प्रशासनले मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न सक्दैन ।
तर, ती मतदाता यतिबेला निराश हुन थालेका छन् । अनैतिकता, बेइमानी, भ्रष्टाचार, दूराचार, भ्रष्ट आचरण र बोलीको ठेगान नभएकादेखि दिक्क भएका आमनेपालीमा फेरि निराशा देखिएको छ । राजनीतिक नैतिकता र इमानदारीको कसीमा हाम्रा नेता खरो उत्रन सकेका छैनन् । यही नै हाम्रो विडम्बना हो । अनैतिकताको पराकाष्ठा नै नाघेका छन् । पञ्चायती व्यवस्थालाई गाली गरेर नथाक्ने नेताहरू आफूहरूले पनि उच्च नैतिकता देखाउन सकेनन् । लोकतान्त्रिक र सभ्य संसारका नागरिक भनिरहँदा ‘यो त सबै भन्ने कुरा न हो’ जस्तो देखिएको छ ।
नेपाली राजनीतिमा धोका र बेइमानीका साथै राष्ट्रघातले प्रश्रय पाउँदैजानु भोलिका लागि पक्कै राम्रो होइन । सुशासन जनताको नैसर्गिक अधिकार हो । सुशासन नभए शासन गर्ने वैधता पनि सकिन्छ । यसका निम्ति राजनीतिमा नैतिकता र कर्मचारी प्रशासनमा व्यावसायिक दक्षता आवश्यक पर्छ । नैतिकता गुमाएको राजनीति र व्यावसायिक सीपविनाको कर्मचारी प्रशासनले मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न सक्दैन । सबै कुराको मुख्य जड भनेको राजनीति रहेछ । अनैतिक राजनीतिले कहिल्यै निकास दिँदैन । नेपाली राजनीतिकर्मीमा नैतिकता वरण गर्ने सामथ्र्य नहुने हो भने भविष्य पक्कै उज्यालो हुँदैन । राजनीतिमा देखिएको विकृतिलाई समयमै सच्चाइएन भने यसमा पलाएको ऐँजरुले विस्तारै यसलाई आफ्नो कब्जामा पार्ने देखिन्छ ।
यस्ता प्रवृतिलाई समयमै सच्चाएर अघिबढनु नै आजको आवश्यकता हो । समयमै नेपाली राजनीतिमा देखिँदै गएको विकृतिलाई नसच्चाउने हो भने हामी गम्भीर दुर्घट्नामा पर्ने निश्चित प्रायः छ । थोमस जेफर्सन भन्नुहुन्छ, ‘जब कुनै मानिसले सार्वजनिक पदको अभिभारा बहन गर्छ भने उसले आफूलाई सार्वजनिक वस्तुको रूपमै हेर्नुपर्छ ।’ नैतिकताविहीन राजनीतिले समाजलाई अस्थिर बनाइराख्छ र समाजको कल्याण गर्न सक्दैन । राजनीतिमा नैतिकता समाप्त हुनुभनेको व्यक्तिगत स्वार्थ हाबी हुनु हो । समयममै सबैमा चेतना भया । ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच