नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछुः आइएफआरसी महासचिव चापागाईं

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।”

चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ गर्नुभएको थियो । महासचिव चापागाईंले भन्नुभयो, “रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।”

आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड-१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो ।

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि सो संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गर्नुभएको थियो । उक्त संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ ।

“विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटापन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उहाँले भन्नुभयो । भ्रमणका क्रममा महासचिव चापागाईंले सो संस्थाको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रसले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिएको थियो । उहाँले आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । ‘ख’ वर्गका सो एम्बुलेन्सले बिरामी तथा घाइतेहरुलाई स्वास्थ्य सस्थासम्म पुर्‍याइ जीवन रक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासचिव चापागाइँले आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण गर्नुभयो । ‘विश्वास , समता र स्थानीय कार्य’ नामक सो प्रतिवेदनमा कोभिड-१९ महामारीले उत्पन्न गरेका स्वास्थ्य सङ्कट र सङ्कटकसँग जुध्न गरिएका विश्वव्यापी अनुभवलाई औँल्याइएको छ । भविष्यमा हुन सक्ने विपद्हरूलाई राम्रोसँग व्यवस्थापन गर्न कोभिड-१९ बाट महत्वपूर्ण सिकाइ भएको कुरा प्रतिवेदनले औँल्याएको छ । विश्वास, समता र स्थानीय कार्यहरू नै विपद् पूर्वतयारीका महत्वपूर्ण पक्ष भएको प्रतिवेदनले जनाएको छ ।

भ्रमणका क्रममा महासचिव चापागाईंले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग अलग अलग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । साथै राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफल गरी रेडक्रस अभियानलाई सुदृढ बनाउन आग्रह गर्नुभएको थियो । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्‍याउने गर्दछ ।

कोभिड-१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद उहाँले सङ्कटापन्न समुदायलाई मानवीय सहायता पुर्‍याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ । स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनाका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?