काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्वार सुरु गरेको छ । २०२३ सालदेखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार करिब ७५ करोड अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत् विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरण आधुनिक तथा स्वचालित बनाइनेछ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवा हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको हो ।
साथै जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । हाल सोही बाइपास नहरमार्फत् विद्युत् उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिरहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।
गत वैशाखबाट सुरु भएको जलाशयको पुनस्र्थापना फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत्गृह स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने बताइएको छ । उक्त कार्यका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनका क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनस्र्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ ।
जलाशयको पुनस्र्थापनापछि विद्युत्गृहलाई विद्युत्को माग बढी हुने समय अर्थात् पिकमा दैनिकरूपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिनेछ । हिउँदमा पिकिङका लागि बाइपास नहरबाट र जलाशयमा सञ्चित पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ ।
वर्षायाममा जलाशय प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएकाले विगतजस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताउनुभयो ।
विदुर नगरपालिकाले जलाशयवरिपरि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरुयोजना तयार गरेको छ । जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बगैंचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाले बनाएको छ ।
भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो । अर्धजलाशययुक्त त्रिशूली जलविद्युत्् केन्द्रबाट वार्षिक १६ करोड ३० लाख युनिट उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा विद्युत्गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रदेखि पाँच अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ ।
भारतीय रुपैयाँ १४ करोडमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि क्षमता विस्तार गरी २४ मेगावाट पु¥याइएको हो । त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडका रूपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच