पाल्पामा सामूहिक बेल विवाह र व्रतबन्ध

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । नेवार समुदायमा बालिकाको इही अर्थात् बेल विवाह गर्ने प्रचलन छ । त्यही प्रचलनअनुसार, पाल्पामा पनि सामूहिक बेल विवाह गरिँदै आइएको छ । यहाँ बसोवास गर्ने नेवार समुदायले परम्परागत बेल विवाहलाई निरन्तरता दिँदै आएका छन् । गत वैशाखमा यहाँको रामपुरमा सामूहिक बेला विवाह भएको थियो । नेवाः समाज रामपुरको आयोजनामा कन्या (कुमारी) हरूको इही र बटुक (कुमार)हरूको व्रतबन्ध नेवारी संस्कृति र परम्पराअनुसार गरिएको थियो । तानसेनका नेवार समुदायले पनि बिहीबार र शुक्रबार दुुई दिन बेल विवाह र व्रतबन्ध गराएका छन् ।

तानसेनस्थित भगवती मन्दिरमा तानसेन नेवा गुठीको आयोजनामा गरिएको सामूहिक बेल विवाहमा ६ देखि १० वर्षसम्मका १० कन्या सहभागी भएका थिए । उनीहरू दुलहीझैँ सिंगारिएर इही अर्थात् बेल विवाहको मण्डपमा सरिक भएका हुन् । उनीहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छन् ।

सामूहिक बेल विवाहका लागि दुपट्टामा बेहुलीझैँ चिटिक्क सिँगारिएका उनीहरू निकै खुसी छन् । बेललाई शिवपुत्र कुमारको स्वरूप मानेर कन्यासँग विवाह गरिन्छ । कन्यालाई एक हातमा सः लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर आमाबाबुले सुवर्ण कुमारलाई कन्या दान गर्छन् । यसैगरी, यही अवसरमा बालकहरूको सामूहिक व्रतबन्ध पनि गरिएको छ । सामूहिक बेल विवाहमा १० जना कन्या र व्रतबन्धमा सातजना बालक सहभागी छन् । बालकबाट जवानीतर्फ प्रवेश गर्ने लक्षण देखिन थालेपछि व्रतबन्ध गरिदिने, ब्रम्हाचार्य पालना गराउने, विभिन्न धार्मिक नीति नियमको बारेमा जानकारी गराउने, हरेक कार्य गर्न उपयुक्त बनाउने, शरीरका अंगहरूलाई वशमा राख्ने विधिको सुरुवात गरिदिनका लागि व्रतबन्ध कार्यक्रम गरिने गरेको तानसेन नेवा गुठीका अध्यक्ष प्रकाश गंगोलले बताउनुुभयो ।

गुठीले तानसेनमा नेवारी मौलिक कला संस्कृति परम्परा हराउँदै गएकाले कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने, टुट्दै गएको भाइचाराको सम्बन्धलाई नजिक बनाउन, सामूहिक भावनाको विकास गर्न, समाजमा बढ्दै गएको तडकभडक र देखासिकी रोक्न तानसेनमा यस्ता कार्यक्रमलाई अभियान रूपमा सञ्चालन गरिँदै आइएको अध्यक्ष गंगोलको भनाइ छ । बेल विवाह तथा व्रतबन्ध घरमा गर्दा लाखौँ रुपैयाँ खर्च हुने गरे पनि गुठीले पाँच हजारदेखि १६ हजारसम्म रकम लिने गरेको छ । आर्थिक अवस्था हेरीकन शुल्क लिने गरेको र तोकिएको न्यूनतम शुल्क पनि तिर्न नसक्ने परिवारका लागि भने निवेदनको आधारमा निःशुल्कसमेत गरिने गरेको उहाँले बताउनुुभयो ।

के हो इही ?
इहीको अर्थ विवाह हुन्छ । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ । तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित । यसलाई नेवार भाषामा इही भनिन्छ । इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ । यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष)सँग विवाह हुन्छ । यद्यपि, सूर्यपूजा र दर्शन मात्रै गरिने, कन्यादान नगरिने हुँदा सूर्यदर्शनलाई विवाह होइन भन्ने मत पनि पाइन्छ । रजस्वला हुनुअघि नै शुवर्णकुमारसँग विवाह भइसकेको हुँदा पछि श्रीमान्को मृत्यु भए पनि नेवार महिलाले रङविहीन अर्थात् वैधव्य जीवन व्यतित गर्नुनपर्ने मान्यता नेवार समुदायमा छ ।

कथमकदाचित नेवार युवतीको विवाह नै भएन भने, सुवर्णकुमारसँग विवाह भइसकेकाले विवाहित हुँ भनेर आफूलाई मनोवैज्ञानिक सान्त्वना दिने आधार पनि छ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ । इही नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो । इही कन्यादानकै एक विधि पनि हो । हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरूले दशकर्म संस्कारलाई मात्रै अनुशरण गर्दै आएको पाइन्छ । तीनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इही । पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इही र बाःराः तयेगु चलाइएको हो । चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इही र बाःराः तयेगु हिन्दू र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?