काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शनिबार (आज)सम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । समारोहमा शुभकामना दिन विवेकशील साझाले अरू पार्टीका नेताहरूलाई पनि बोलाएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको थियो । पार्टीकी नेता रञ्जु दर्शना र मिलन पाण्डे, प्रकाशचन्द्र परियार लगायतले उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको थियो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टकटक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनुपरेको बताउनुभयो । विवेकशील साझाले स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिनुभएको थियो । झण्डै तीन महिना नेतृत्वविहीन भएको विवेकशील साझामा बाँस्कोटा अध्यक्ष बन्नुभएको थियो । त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उहाँले सुनाउनुभयो । ‘पार्टी नै सकाएर राप्रपाकरण गर्न खोजिएको थियो’, उहाँले भन्नुभयो, ‘दुई लाख १२ हजार मतबाट झरेर तल भयौँ होला, तर पार्टी जोगायौँ ।’ प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको भन्दै उहाँले यो पूर्वअध्यक्ष मिश्रका लागि ठूलो झापड टिप्पणी गर्नुभयो । ‘हारिसकेको मान्छेलाई किन हराउने ? काम गरेर देखाऊँ, यो नै उहाँका लागि झापड हुन्छ,’ अध्यक्ष बाँस्कोटाले भन्नुभयो ।
उज्जवल थापाको नेतृत्वमा खुलेको विवेकशील नेपाली दल र सञ्चारकर्मी रवीन्द्र मिश्रको नेतृत्वमा साझा पार्टी एकीकृत भई २०७४ सालमा विवेकशील साझा पार्टी बनेको थियो । २०७४ को आम निर्वाचनमा दुई लाखभन्दा धेरै मत प्राप्त गरी पाँचाँै ठूलो दल भएको थियो । रवीन्द्र मिश्र अध्यक्ष र उज्ज्वल थापा संयोजक रहेर भएको पार्टी एकता लामो समय जान सकेन । अन्ततः उज्ज्वल थापा त्यहाँबाट बाहिरिनुभयो ।
थापाको निधनपछि पार्टीमा आधिकारिकता विवाद सुरु भयो । तर, पार्टीभित्र मिश्र पक्षकै बहुमत पुग्यो । मिलन पाण्डे पक्ष पार्टीबाट बाहिरन बाध्य भएको थियो । अघिल्लो निर्वाचनमा राम्रो मत पाएको काठमाडौं उपत्यकामा पार्टीको लज्जाजनक हार भयो । त्यसबाट निराश भएको मिश्र पक्षले राप्रपा प्रवेश गर्ने निर्णय ग¥यो । मिश्रको बहिर्गमनपछि पार्टीको नेतृत्व समीक्षा बाँस्कोटाले लिनुभएको थियो । यसबीच धेरै नेता कार्यकर्ताले यो पार्टी छोडिसकेका छन् । पार्टीको सदस्यता संख्या कति छ भन्नेसमेत यकिन छैन । पार्टीका लागि चरम राजनीतिक असहजता उत्पन्न हुँदा र लगभग विघटनको अवस्थामा पुग्दा पनि प्रथम महाधिवेशन आयोजना गर्ने प्रयास गरिएको छ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि तीनजना नेताहरूले दाबी गरेका छन् । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । अहिलेकी अध्यक्ष समीक्षा बाँस्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेदार हुनुहुन्छ । महाधिवेशनमा राजनीतिक केशव दाहालले राजनीतिक दस्तावेज तथा रमेश पौडेलले प्रस्तावित विधान पेस गर्नुभएको छ । महाधिवेशनपछि विवेकशील साझा पार्टी बहुपदीय प्रणालीमा जाने बताइएको छ ।
लोकतन्त्रलाई मासेर वैकल्पिक राजनीति हुँदैन : भट्टराई
पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रभित्रै रहेर वैकल्पिक राजनीति गर्नुपर्ने बताउनुभएको छ । विवेकशील साझा पार्टीको महाधिवेशन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले लोकतन्त्रलाई खतरामा पार्ने वा ध्वंश गर्ने तरिकाले वैकल्पिक राजनीति गर्न नहुने भन्दै डा. भट्टराइले अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पु¥याउने गरी राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । भट्टराईले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताउनुभयो । ‘वैकल्पिक राजनीतिको एजेण्डा समृद्धि र विकास हो’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई जोगाएर अघि बढ्दा मात्रै समृद्धिको लक्ष्यमा पुगिन्छ ।’ वैकल्पिक राजनीति गर्छु भन्नेहरू राजा ल्याउने भन्दै हिँडेको प्रति लक्षित गर्दै डा.भट्टराईले भन्नुभयो, ‘लोकतन्त्र र संघीयतालाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनु भएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन ।’ भट्टराईले यही लोकतन्त्रमा टेकेर अपूर्णतालाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताउनुभयो । लोकतन्त्रको जगमा नै सुशासन र समृद्धि हुने पनि उहाँको भनाइ थियो । नयाँ आएका पार्टीतर्फ इंगित गर्दै उहाँले पुराना पार्टीलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिलाई सुधार गर्दै जानुपर्ने बताउनुभयो ।
लोकतन्त्रमा देश बनाउने शक्ति पार्टी नै हो : भुसाल
नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गर्नुभएको हो । उहाँले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको जिकिर गर्नुभयो । उहाँले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको धारणा राख्नुभयो । भुसालले भन्नुभयोे, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् ।’ उहाँले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताउनुभयो । नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गर्नुभयो ।
नेपालको कानुनले नेतासमक्ष आत्मसमर्पण गर्यो : भण्डारी
नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको बताउनुभएको छ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान् ठान्ने नेताहरू सबै जेलमा हुने बताउनुभएको हो । उहाँले नेपालको कानुनले नेताहरूसमक्ष आत्मसमर्पण गरेको पनि उल्लेख गर्नुभयो । उहाँले आफूहरू लडेर ल्याएको प्रणालीमा सबै फूलहरू फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरूले देशका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । सांसद भण्डारीले युवा नेताहरू पार्टीमा नबोलेको प्रति असन्तोष व्यक्त गर्नुभयो । उहाँले युवाहरूमा अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच