अपराधको बाटोबाट राजनीतिको शिखर

Read Time = 18 mins

✍️ भुपेन्द्र थापा-माधव

लोकतन्त्रमा जनताको शासन हुन्छ भनिन्छ, तर ३२ वर्षे लोकतान्त्रिक यात्रामा आमनेपाली जनताले दल र नेताको शासन व्यवस्थामात्र भोग्नु पर्‍यो । मुलुक २०४६ सालको जनआन्दोलन पश्चात् लोकतान्त्रिक व्यवस्थामा प्रवेशदेखि यता राजनीति र अपराधबीचको सम्बन्ध निकै प्रगाढ बन्दै गएको पुष्टि हुन्छ । नेपाली राजनीति वृत्तमा आफूलाई लोकतन्त्रका मसिया सम्झनेहरू प्रायः मुख्य राजनीतिक दलका व्यक्तिहरू कुनै न कुनै अपराधमा संलग्न भएको देखिन्छ । ती राजनीतिक दलहरूमा जनप्रतिनिधिहरूको पृष्ठभूमि केलाउँदै जाने हो भने केही न केही सामाजिक, आर्थिक र नैतिक अपराधमा संलग्न भएको देखिन्छ ।

त्यस्ता कयौं सप्रमाण आरोपित र अभियुक्तहरू आज नेपाली राजनीतिमा खुलेआम निर्वाचन जितेर जनताको प्रतिनिधि हुँ भन्दै छाती पिटेर सांसदको गरिमा माथि नै धावा बोल्ने काम गरिरहेका छन् । यसले नेपालको राजनीति अनेकौं अपराधी, भ्रष्टाचारी, तस्करी, कालाबजारी, घुसखोरी उत्पादन गर्ने विश्व विद्यालय र त्यसको संरक्षण एवं विस्तार गर्ने अभिभावक झैं भएको छ । यसो भनिरहँदा गरिब, निमुखा र निरीह श्रमजीवी किसान, मजदुरलाई लोभ, मोह, डर, त्रास देखाएर जसरी पनि निर्वाचन जित्ने आपराधिक प्रवृत्ति आमराजनीतिमा अत्यन्तै कहाली लाग्दो किसिमबाट फैलिँदै गएको कुरा घामझै छर्लंग छ ।

राजनीतिक दलभित्र व्यक्ति हत्यादेखि ठग, तस्कर, भ्रष्टाचार, घुसखोरी, मानव बेचबिखन र बिचौलियासम्मका अपराधीलाई संरक्षण गर्ने र तिनलाई चोख्याउने अड्डा बनेको देखिन्छ । यस्तो परिणतिको पछिल्लो उदाहरणले आमनिर्वाचनमा निर्वाचित भएका हत्या आरोपित लक्ष्मी महत्तोे कोइरी सार्वभौम संसद्मा निर्वाध उपस्थित हुँदासम्म नेपाल प्रहरीले चिन्दैन । प्रहरी प्रशासनले आँखा देख्दैन, उता बाँकेकी निर्मला कुर्मीको अपहरण शरीर बन्धक र हत्याका आरोपित लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीमाथि कुनै कारबाही हुँदैन ?

भ्रष्टाचारको कुरा गर्दा यदि स्वतन्त्र रूपमा छानविन प्रक्रियालाई अगाडि बढाउने हो भने २०४६ सालयता संवैधानिक पद धारण गरेका राजनीतिक, नेतृत्व र उच्चपदमा आसिन भएका सरकारी कर्मचारीलगायत व्यक्तिहरूको सम्पत्ति छानविन गर्ने हो भने लगभग सबै जेल जानेछन् ।

भ्रष्टाचारको त कुरै नगरौँ, यदि स्वतन्त्र रूपमा छानविन प्रक्रियालाई अगाडि बढाउने हो भने २०४६ सालयता संवैधानिक पद धारण गरेका राजनीतिक, नेतृत्व, उच्चपदमा आसिन भएका सरकारी कर्मचारीलगायत व्यक्तिहरूको सम्पत्ति छानविन गर्ने हो भने लगभग सबै जेल जानेछन् । नेपालका परम्परागत राजनीतिक पार्टीहरूमा इमानदार, विचार सिद्धान्त, आदर्श र निष्ठाप्रति बफादार नेता कार्यकर्ताको बर्हिगमन र आर्थिक चलखेल गर्नसक्ने आपराधिक पृष्ठभूमि भएका जस्तोसुकै व्यक्ति भए पनि नेतृत्वले ठूलै तामझामसहित फूलमाला पहि¥याएर ससम्मान भित्र्याउने होडबाजी चल्दैआएको तथ्य र प्रमाण छरपष्टै छन् ।

त्यस्ता आपराधिक मनोविज्ञान र सामाजिक रूपमा पतित भएका व्यक्तिलाई पार्टीको टिकट दिने कार्यमा राजनीतिक पार्टीहरूमा प्रतिस्पर्धा चर्को देखिन्छ । त्यस्ता व्यक्तिलाई टिकट दिएर निर्वाचन लड्न पठाउने प्रवृत्तिले गरिमामय जनताको सार्वभौम अधिकारका लागि निर्माण भएको संसद् अपराध, भ्रष्ट व्यक्तिहरूको क्रीडास्थल बन्दै गइरहेको महसुस हुने गर्दछ । जब यस्ता अपराधी संसद्मा पुग्दछन् तब देशको नियम कानुन यिनको कब्जामा पुग्दछ र देशको समग्र राजनीतिक, आर्थिक, सामाजिकलगायत शासन व्यवस्था नै जोखिममा पुग्दछ ।

जसरी पनि सत्तामा जाने सत्ताको चरम दुरूपयोग गरी आफ्ना विगत-वर्तमानका तमाम कर्तुतलाई ढाकछोप गर्न जस्तोसुकै जोखिममा खेल्न तयार हुने गर्दछन् । त्यसको परिणाम आज मुलुकले भोग्न बाध्य भएको छ । आज मुलुक कमिसनतन्त्रको चौतर्फी माखेजालोमा जेलिएको छ । त्यसले देशको समग्र अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसको चिन्ता, चासो, समाधानको विवेचना कुनै पनि राजनीतिक दलका नेतृत्वलाई छैन । नयाँ संसद् प्रतिनिधिसभामा आशाका केही किरण छिरेको अनुभूति भएको थियो । आज फेरि जनताको उज्यालो अनुहारमा कालो बादल मढारिन थालेको छ । कतै भरोसाको बाँध त फेरि फुट्ने होइन ? कतै दलाल, भ्रष्टाचारको आक्रोसको सिकार इमानदार, सक्षम योद्धा त हुने होइन ?

आज संसद्भित्र सामाजिक रूपमै घिनलाग्दा एक हुल मानिसहरू बेथितिको झोला-तुम्ला बोकेर प्रवेश गरेका छन् । हत्या र भ्रष्टाचारमा मुछिएका कयौं व्यक्तिहरू संसद्मा मुन्टो उठाएर छिर्ने गर्दछन् । नयाँ निर्माण भएको कम्युनिष्ट नेतृत्वको सरकारको अनुहार पनि त्यति चोखो र विवादरहित छैन । भ्रष्टाचारको मुद्दा खेपिरहेका अनुहारहरू पनि सरकारको नेतृत्वमा पुगेका छन् । कुनै व्यक्तिले गरेका अपराधलाई उसको विरासतसँग जोड्नु उचित हुँदैन, चाहे त्यो कांगे्रस, एमाले, माओवादी, राप्रपा, रास्वपा वा अन्य कुनै राजनीतिक पार्टीको नेतृत्व वा कार्यकर्ता किन नहोस् अपराध गरेपछि अपराधी हो भन्ने साहस गर्न सक्नुपर्दछ । जसले उसको अपराधको ढाकछोप गरी बचाउने कोसिस गर्दछन् ती व्यक्ति वा समूह पनि सामाजिक रूपमा अपराधी नै हुन्छन् । विगतका केही राजनीतिक नेतृत्वबाहेक इमानको राजनीति गर्ने नेपालमा अहिलेसम्म खासै कोही देखिँदैनन् । इमानमा बस्ने व्यक्ति वा कुनै नेतृत्व हरहमेसा पुनजीय र आदर्शवान हुन्छन्, उसले आफ्नो दल, कार्यकर्ता, आफन्त, इष्टमित्र, वरिपरिका मानिसभन्दा माथि उठेर सोच्ने हुनुपर्दछ । समाजको मनोविज्ञान, संस्कार जस्तो हुन्छ राजनीतिक दलहरूको चरित्र र नेतृत्वको व्यवहार पनि त्यहीअनुसार विकसित हुँदै गएको हुन्छ ।

यसलाई ठीक बाटो हिँडाउन, सही गन्तव्यमा पुर्‍याउने जिम्मेवारी राजनीतिक दल र त्यसको नेतृत्वले लिन सक्नुपर्दछ । तर, विगत र वर्तमानलाई हेर्दा अवस्था ठीकविपरीत दिशा पक्रिन खोजेको तथा गन्तव्य अर्थात् भविष्य अन्धकारतर्फ उन्मुख भएको प्रष्ट्याउँछ । यस्तो हुनुमा कतै हाम्रो सामाजिक चेत र विवेक नै त कमजोर भएको छैन ? यो प्रश्न प्रत्येक नागरिकका हैसियतले आफूभित्रै उत्तर खोज्ने प्रयास गर्नुपर्दछ । राजनीति समाजको मनोविज्ञानभन्दा टाढा पक्कै हुन सक्दैन । सामाजमा भएका अन्याय अत्याचार, थिचोमिचो विरुद्ध उठाउने प्रश्न र पैरवी गर्ने व्यक्तिले समाजको चेतनाको अभिवृद्धि गर्ने हो, आफ्नो व्यक्तित्व स्थापित गर्ने हो त्यो बुझ्न र पहिचान गर्न सक्ने समाजको मनोविज्ञान आजसम्म निर्माण हुन नसकेको देखिन्छ । त्यसको पछिल्लो उदाहरणका सम्मानित सर्वोच्च अदालतको फैसलापश्चात तुफान गतिमा अघि बढिरहेका रास्वपाका सभापति रवि लामिछानेको राजनीतिक उडानमाथि पूर्णविराम लाग्दा एकसाथ उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिलगायत पद गुमाएलगत्तै पुनः नागरिकता प्राप्ति गर्ने बित्तिकै तीव्र गतिमा फेरि सभापतिमा पुनर्वहाल भएका छन् । जो संघर्षको मैदानमा लडेर पनि फेरि उठ्छ उसैलेमात्र संसार बदल्न सक्छ, जसले हरेक कठिन परिस्थितिको सहजै सामना गर्ने क्षमता राख्छ उसलेमात्र जित्न सक्छ । जसले जित हासिल गर्छ उनै दिनको घामझैँ सूर्य बनेर चम्किरहन्छ, यो भनाइ रविको उदयपछि देखापर्न थालेको थियो तर त्यो पनि कमजोर बन्दै गएको देखिन थालेको छ ।

सिधा कुरा जनतासँग भन्ने कार्यक्रममार्फत सञ्चार क्षेत्रबाट उदाएका रविको राजनीतिमा प्रवेशपछि उनैले बोल्ने गरेका बेथिति, सुशासन, सत्तामोह र भ्रष्टाचारका विषय आज उनीमाथि नै तेर्सिएका छन् । छोटो समयमै राजनीतिक सफलता हासिल गरेका रवि उही बेथितिको बाटो हुँदै, गृहमन्त्रालयमा पुनर्वहाली हुन सत्तासाझेदार दलका प्रमुख नेताद्वयसँग भेट्न बालुवाटारदेखि बालकोट र बालकोटदेखि बालुवाटारको उडान भर्न व्यस्त देखिन्छन् । सत्ता गुमाएर छट्पटिएका रवि दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गर्न नपाउँदै तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धानलाई प्रभावित गर्न खोज्नु कुन सुशासनको हिजो उनले कुरा गरेका थिए ?, सुशासनको घण्टी बजाउँदै जनताको मत सोहोरेका रवि आज कुशासनको शंख फुक्दैछन् ।

यो विषयले सत्तासाझेदार दलमात्र नभएर सार्वजनिक आलोचनासमेत तीव्र बन्दै गएको छ । रविले हिजो देखाएको बाटो र आज उनी हिँड्दै गरेको बाटो कतै फरक त परेन ? यस्तो जटिल समयको ख्याल नगरी शक्तिमा पुग्न फेरि उही परम्परामाथिको निरन्तरता दिन आतुर हुनु रविका लागि त्यति औचित्य देखिँदैन । एकथरी सत्तावरिपरि रहेका मानिसहरूको भनाइ यो गठबन्धन भत्काउन अदालत नै प्रयोग भयो भन्ने गर्दछन् भने अर्को थरी मानिस जो रविका समर्थक मानिन्छन् उनीहरूको भनाइ सर्वोच्च अदालतमा निकै संवेदनशील मुद्दाहरू अलपत्र अवस्थामा छन् जस्तै : ज्यानसम्बन्धी आरोप लागेका पूर्वसांसद, मन्त्री र बाहालवाला सांसदहरू छन् । उनीहरूका सम्बन्धमा किन मुद्दा फैसला हुँदैन ? भ्रष्टाचारका आरोप लागेका पूर्वसांसद, मन्त्री र बहालवाला सांसददेखि मन्त्रीसम्म छन् किन उनीहरूका बारेमा अदालत उदासीन ? पूर्वसभामुख अग्नि सापकोटाको मुद्दा अदालतमा कहाँ पुगेको छ ? किन त्यस मुद्दामा विलम्ब ? गे्रटर नेपालसम्बन्धी मुद्दा सर्वोच्चमा छ त्यो किन फैसला हुन सकेन ? माथिल्लो कर्णालीसम्बन्धी मुद्दाको पेशीसमेत किन चढ्दैन ? राष्ट्रियतासँग जोडिएका अन्य संवेदनशील मुद्दामा किन सुनुवाइ हुँदैनलगायत भ्रष्टाचारसम्बन्धी मुद्दा हजारौं छन् तिनका विषयमा सर्वोच्च अदालत कानमा तेल हालेर किन बसेको छ ?

रवि लामिछानेको मुद्दा यति थोरै समयमा किन र कसरी उनको विपक्षमा फैसला भयो ? अमेरिकाको नागरिकता परित्याग गरी नेपाल र नेपालीको सेवा गर्छु भन्ने रविमाथि किन यस्तो अवस्था सिर्जना गरिँदै छ ? भन्ने प्रश्न रविका शुभचिन्तकबाट उठ्ने गरेको पाइन्छ ।

तर, रवि लामिछानेको मुद्दा यति थोरै समयमा किन र कसरी विपक्षमा फैसला भयो ? संसारको शक्तिशाली र सम्पन्नशाली महाशक्ति राष्ट्र अमेरिकाको नागरिकता परित्याग गरी नेपाल र नेपालीको सेवा गर्छु भन्ने रविमाथि किन यस्तो अवस्था सिर्जना गरिँदै छ ? भन्ने प्रश्न रविका शुभचिन्तकबाट उठ्ने गरेको पाइन्छ । दण्डहिनता लोककल्याणकारी राज्यका लागि ऐँजेरु सावित हुनेछ । कुनै व्यक्ति विशेषले गरेको गैरकानुनी क्रियाकलाप लुकाउने कार्य गर्नु र त्यसलाई सहयोग पुग्ने काम गर्ने समाज, सभ्यता र स्वतन्त्रताविरुद्ध अपराध हुन्छ ।

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि दण्डहिनता हृवात्तै मौलाएको छ । सुशासन र नैतिकताको पाठ ठूलाठूला स्वरमा टेलिभिजनको पर्दामा फलाक्ने रवि परम्परागत राजनीतिक दलभित्र मौलाएको नातावाद, कृपावादविरुद्ध आफ्नो आवाज सशक्त रूपमा राख्ने, इमानदारीको खडेरी नै लागेको, नैतिकता र सुशासन भन्ने कहीँ कतै नदेख्ने व्यवस्था र अवस्थाबीचको खाडल पुर्न राजनीतिमा होमिएका उनले गैरसांसदको हैसियतमा गृहमन्त्रालय चाहियो भनेर हट गर्नु सरासर बेथिति, सुशासनको मर्म र भावना मिच्ने नयाँ राजनीतिक जोगी हुनेछन् । यसले उनको नैतिक धरातलको औचित्य त सावित गर्छ उनको राजनीतिक भविष्य अन्धकारको खाल्टो र गन्तव्य चुडिएको चङ्गाझैँ हुने निश्चित छ ।

अपराध भनेको अपराध नै हो चाहे जो कोहीले गरोस् । अपराधलाई राजनीतिक बुटा भर्ने राजनीतिक आवरणमा संरक्षण गर्न खोज्नु अपराध अनुसन्धानमा अवरोध गर्ने आफ्नो सहयोगी, समूह, भीड प्रयोग गरी न्यायनियन्त्रण गर्न खोज्ने कानुनलाई आफू अनुकूलको व्याख्या विश्लेषण र प्रभावित गरी न्यायको अपेक्षा राखी अनैतिक दबाब सिर्जना गरी समस्याको निदान सम्भव देख्ने प्रवृत्तिलाई समाजले प्रश्रय दिनुभनेको कानुनलाई विभाजित र न्यायलाई विवादित बनाउनुमात्र हो । त्यसैले आफूभन्दा माथि कानुन र मुलुक सम्झेर सोच्ने चेतना निर्माण गरौँ तबमात्र स्वच्छ, इमानदार, देशभक्त र जननेता नेतृत्व निर्माण हुन्छ । अपराधलाई राजनीतीकरण र राजनीतिलाई अपराधीकरणको चंगुलबाट निकाल्न सम्पूर्ण राजनीतिक नेतृत्व, बुद्धिजीवी, एवं आमसचेत नागरिक लागि परौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?