मेरो अतीत मेरो अनुभव : अध्ययन, व्रतबन्ध र विवाहका प्रसंग

Read Time = 12 mins

✍️ रमेशप्रसाद गौतम

गत पुस ७ गतेको अंकबाट क्रमशः

यसै सन्दर्भमा मलाई एउटा सम्झना आउँछ । म सानै थिएँ । मेरो घरमाथि भैंसी आहल बस्ने डिलमाथि भैया दाइ नामका मानिस बस्थे । उनका बारीमा अम्बा, नासपाती, आरू खुब फल्थे । फलफूलका सिजनमा कहिलेकाहीँ साथीहरू सँग म पनि उनका पुग्दथिए । म त्याहाँ पुग्दा साथ उनले बडोमाया गरेर बारीका फलफूल हातमा दिएर डोर्‍याएर आफ्ना फलैँचामा राखेको सम्झना अझै ताजा छ । ती भैया दाइले मेरा पिताजीसँग १००० रुपैयाँ सापटी लिएका रहेछन् । उनले बेला बेलामा ठेकीमा घ्यू कहिले दही कहिले फलफूल ल्याएको सम्झन्छु । हरेक वर्ष ब्याज स्वरूप १०० दिने गर्दथे । उनले पिताजीसँग सापटी लिएको १० वर्ष पुगेछ ।

अनि नम्रतापूर्वक मेरा पिताजीलाई दुःख बताउन थाले । आफूले प्रयत्न गर्दागर्दै पनि कान्छाबालाई साँवा दिन सकिन भने । त्यसपछि पिताजीले त्यो एक हजारको तमसुक झिकेर च्यात्दै अब तिमीले साँवा ब्याज केही पनि बुझाउनु पर्दैन । अब घर व्यवस्था आफ्ना केटाकेटीलाई राम्रो गर कुनै दुःख पर्‍यो भने आऊ अब निश्चिन्त भएर जाऊँ भनेर पठाउनुभयो । ती भैया दाइ बहुत खुशी भए । भैया दाइले म ठूलो भएपछि पनि कहिलेकाहीँ त्यतातिर देखे भने आऊ बाबु भनेर केही खुवाउने, माया गर्ने गरेको सम्झना ताजै छ । मेरो पिताजीले यस्ता उदार व्यवहार गर्नु भएको धेरै देखेको थिए ।

व्रतबन्ध गरेको केही महिनासम्म रूख चढ्नु हुन्न, दहमा ढुंगा फाल्नु हुँदैन । लसुन, प्याज, गोलभेडा खानु हुँदैन, झुटो बोल्न कसैलाई गाली गर्न, कसैको मन दुखाउन हुँदैन, दत्तिउनले दाँत बेस्सरी धुनुपर्छ भनेर आमाले बताउनुभयो ।

मेरी आमाले यो मेरो छोरो स्वर्गबाट आएको भन्दै बढी धार्मिक कुरा पूजा पाठ गर्दा सँगै राख्दै आउनु भयो । २०११ सालतिरको कुरा हुनुपर्दछ मेरा दाजु र भतिजाहरूको व्रतबन्ध गर्ने निर्णय भयो । म पनि दाजुसँगै व्रतबन्ध गर्छु भन्न थाले । पिताजीले मान्नु भएन । म ५ वर्षको मात्र थिएँ । यति सानो उमेरमा कसरी आफ्नो नित्यकर्म गर्न सक्छ यो हँुदैन भन्न थाल्नुभयो । म आमासँग ब्रतवन्ध गराउन रुन कराउन थाले । आखिरी समयमा मेरो पनि दाजुको साथै व्रतबन्ध भयो । म सानैदेखि पाँच बजे उठेर नुहाउने जप गर्ने आमासँगै पूजा गर्ने भए । यसले गर्दा म अझ सबैको प्यारो भए ।

व्रतबन्ध गरेको केही महिनासम्म रूख चढ्नु हुन्न, दहमा ढुंगा फाल्नु हुँदैन । लसुन, प्याज, गोलभेडा खानु हुँदैन भन्ने थियो । झुटो बोल्न कसैलाई गाली गर्न, कसैको मन दुखाउन हुँदैन भनेर आमाले बताउनु भयो । कानमा जनै राखी दिसा, पिसाब गर्नुपर्छ । दत्तियनले दाँत बेस्सरी धुनुपर्छ । लोटामा पानी बोकेर टाढा दिसा गर्न जानुपर्छ । दिसा र पिसाब गर्दा बोल्नु हुँदैन । खाने बेलामा पनि मौन रहेर इसाराले माग्नुपर्छ । यस्ता थुप्रै नियम पालना गरियो ।

दशैँको नौ दिन उठेर न्वाइधुवाइ गरी दुर्गापाठ गर्नुपर्दथ्यो । त्यसपछि फूल अक्षेता बोकेर घरमाथिको ठूलो उकालो चढेर देवीस्थान गएर पूजा गर्दथ्यौँ । पूजामा थुप्रै हुन्थे । रमाइलो मान्दै सबै जान्थ्यौँ । पूजा सकेर फर्केपछि लम्साल पाखामा लिंगे, जाँते पिङ खेल्दथ्यौँ । हामीसँगै जाने ठूलो दाजु र भतिजाहरू हुन्थे । उनीहरूले हामी सानालाई बिस्तारै मच्चाएर खेलाउँथे । त्यसपछि हामी घरतर्फ लाग्थ्यौँ घर नजिकै पाखामा लिंगेपिङ हालेको हुन्थ्यो । त्यहाँ पनि खेल्दै घर आउँथ्यौँ । घरमा आएर भात खाइसकेपछि आमाले बाहिर जान पुग्यो अब घरमै बस भन्नुहुन्थ्यो ।

मेरो बाल्यकालका साथीहरू नाति र नारायण आइपुग्थे । घरमुनि देउताथानतिर घुम्न जाऊँ भन्थे । आमासित सोधेर साथीहरूसँगै जान्थेँ । अलिकति ढिलो भयो भने घर नजिकको ठाडो बाटोको हाइटबाट आमा रमेश भनेर कराउनुहुन्थ्यो । म दगुर्दै आमा भए ठाउँमा पुग्थेँ । यसरी बाल्यकालका हरेक क्षण गए । २०१५ सालतिरको कुरा हो दाजु र भतिजाहरू सँगै शान्ति निकुञ्ज स्कुलमा भर्ना भए । स्कुल अउँदा कमिजसुरुवाल र टोपी लगाएर आउँथेँ । साथीहरू प्राय पाइन्टर सर्ट वा कुर्था र पाइजामा लाउँथे । काठमाडौं सहरका साथीहरू हामीलाई गाउँले भन्थे । हामी गाउँमा बस्छौँ गाउँले भनेर के भो र भन्ठान्थेँ । यसमा प्रतिकार गर्दैनथेँ । उमेर सानु भए तापनि कुरा भने बुझ्थेँ । पछिल्ला दिनहरूमा मेरो शिरको टोपी खोसेर भकुण्डो खेल्न थाले । यो चाहिँ असैहृय भयो । अनि म रिसले बेञ्च उचालेर पिट्न जाइलागेँ । साथीहरू भाग्दै गए र हेडसर गजसुन्दर प्रधानले मैले लखेटेको कुरा सुन्नुभयो ।

अनि मैले भने टोपी खोसेर भकुण्डो खेले, मलाई गाउँले भनेर हेपे भनेँ । उहाँले उनीहरूले केही गरे भने सिधैं मलाई भन्न आऊ भन्नुभयो । आइन्दा उसको टोपी खोस्यौ भने तिमीहरूलाई खाजा खान दिन्न भन्नुभयो । त्यसको ५ वर्षपछि २०११ चैत महिनामा मेरो व्रतबन्ध भयो भने विवाह भने २०२८ साल असार महिनामा भयो । विवाहको निमित्त ललितपुरस्थित कुपुण्डोलका सरदार उपेन्द्रपुरुष ढकालकी कान्छी छोरीको कुरा मेरो साइलाबाकी जेठी बुहारी मेरी भाउजूले आफ्नी कान्छी बहिनीको कुरा ल्याउनु भयो । भाउजूले सो कुरा आमालाई भन्नुभयो ।

मेरी आमा र सरल सोझी र कट्टर धार्मिक विचारकी हुनुहुन्थ्यो । नाम चलेका धार्मिक निष्ठावान ठूलाबडाको घरबाट कुरा आउँदा आमा खुशाी भएर विवाह गर्न तत्पर देखिनु भयो । म वि.ए. को जाँच दिँदैथिए । परोपकार हाइस्कुलमा म पढाउँदै थिएँ । म आफ्नो विवाह गर्न समय नभएको भन्दै इन्कार गर्दैथिएँ । मेरा दाजु श्रीधर पनि मेरै कुरामा सहमत हुनुहुन्थ्यो तर आमाको ढिपी बढ्दैगयो ।

आमा सरदार उपेन्द्रपुरुष समाजमा सबैले मानेका ठूलाबडा हुनुका साथै आफ्नो धर्मकर्म र निष्ठामा रहनुभएकाले उहाँको कुलै असल, त्यस्ताकी छोरी पक्कै असल कुलिन हुन्छिन् । विवाह गर्न नाइ नभन भन्न थाल्नुभयो । तैपनि मैले म आफ्नो खु्ट्टामा उभिने भएपछि विवाह गर्छु भने । मसँग विवाह गर्ने भए कम्तिमा अर्को वर्ष कुर्नुपर्ने सर्त राखेँ । आमा रुन थाल्नुभयो । त्यसपछि आमालाई भने म विवाह गर्न तयार छु तर पछि घरको कुनै काम गर्न नसकेर भाउजूहरूको मन दुखेर अशान्त भए तपाईं व्यहोर्नु हुन्छ भने । आमाले तैँले केही चिन्ता लिनु पर्दैन सबै घरव्यवहार म मिलाउँछु भन्नुभयो ।

आमा सरदार उपेन्द्रपुरुष समाजमा सबैले मानेका ठूलाबडा हुनुका साथै आफ्नो धर्मकर्म र निष्ठामा रहनुभएकोले उहाँको कुलै असल, त्यस्ताकी छोरी पक्कै असल कुलिन हुन्छिन् । विवाह गर्न नाइ नभन भन्न थाल्नुभयो । तैपनि मैले म आफ्नो खु्ट्टामा उभिने भएपछि विवाह गर्छु भने ।

आमाको उमेर ५४ वर्ष थियो होला, उहाँ फूर्तिली पनि हुनुहुन्थ्यो । घरव्यवहार काम गर्न हिच्किचाउनु हुन्नथ्यो । त्यसले गर्दा मेरो विवाहपछि भान्छाको काम म गर्न सक्छु त्यसमा तँ चिन्ता नले भन्न थाल्नुभयो । आमाको इच्छा र रहरलाई मैले इन्कार गर्न सकिनँ । केटीको पिताजीले मसँग भेट्नुभयो । उहाँले प्रश्न गरेर मेरी छोरीका लागि लायक वर तपाईं नै हुनुहुन्छ । कन्यालाई पनि हेर्नुहोस्, उनी पनि तपाईंलाई हेर्छिन् दुवैको मञ्जुरीमा विवाह यसै असार महिनामा गरौँ भन्नुभयो । मैले जवाफमा भने, ‘मैले भर्खरै बिए परीक्षा दिएको छु, नतिजा आउँछ । त्यसपछि यस विषयमा कुरा गरौँला भनेँ ।

उहाँले प्रेमपूर्वक भन्नुभयो, ‘यहाँले परीक्षा दिएर आफ्नो कर्म पूरा गर्नुभएको छ । अवश्य फल राम्रो हुनेछ । यसमा कुनै फिक्री गर्नु पर्दैन । विवाह यसै साल गर्न आग्रह गर्दछु ।’ उहाँले यसो भनेर बहुत नम्रता र सालिनतापूर्वक प्रस्ताव राखिरहनु भयो । उहाँको मिठास र प्रेमभावले म आकर्षित भएँ । उहाँले अर्को हप्ता कुपुण्डोल मेरो घरमै अरू दाजुहरूलाई पनि लिएर आउनुहोस् त्यहीँ अन्तिम टुंगो लगाऊँ भन्नुभयो । अझै मैले भने त्यति हतार नगरौँ हजुर कम्तीमा ६ महिनापछि गरौँ भनैँ । उहाँले अझै जिकिर गर्दै भन्नुभयो, ‘त्यस दिनसम्म पनि चित्त नबुझे अरू कुरा गराँैला, अहिले रोकौँ ।’ अर्काे दिन कुपुण्डोलमा भेटघाट हुने नै भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?