उपाधिका लागि सुदूरपश्चिम र प्रदेश-१ भिड्ने

हिमालय टाइम्स
Read Time = 4 mins

इटहरी । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र प्रदेश-१ भिड्ने भएका छन् । शुक्रबार भएका सेमिफाइनलमा आ-आफ्नो खेलमा जित निकाल्दै दुवै टोली उपाधिनजिक पुगेका हुन् । घरेलु टोली प्रदेश एकले नेपाल एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । त्यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ११४ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि ४६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो । प्रदेश-१ की रुविना क्षेत्री २३ बलमा ३ चौकासहित सर्वाधिक २० रन जोड्नुभयो । यस्तै अप्सरी बेगम र काजोल श्रेष्ठले ९-९ रन बनाउनुभयो । एपीएफको नेरी थापाले एकमात्रै विकेट लिनुभयो ।

त्यसअघि जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले १३.४ ओभरमा ४५ बनाउँदा सबै विकेट गुमाएको थियो । एपीएफकी कप्तान सीता रानामगरले ४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १० रनबाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सक्नुभएन । ओपनर ज्योति पाण्डे ५, राजमती ऐरी ३, रोमा थापा शून्य, ममता चौधरी ४, सरिता मगर १, नेरी थापा २, रेखा रावल शून्य र सुमन विष्टले २ रनमा आउट हुनुभयो । प्रदेश एककी संगीता राईले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिनुभयो । एलिसा खडियाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिनुभयो । सबनम राईले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८० रन बनाएको थियो । सुदूरका लागि कविता कुँवरले ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाउनुभयो । यस्तै कप्तान विन्दु रावल ५२ बलमा ९ चौकासहित ६० रन जोड्नुभयो । पहिलो विकेटका लागि कविता र विन्दु रावलले १२८ रनको सानदार शतकीय साझेदारी गर्नुभएको थियो । त्यसबाहेक कविता जोशी १५ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहनुभयो ।

मधेसकी साना प्रवीन र भूमि सिंहले एक-एक विकेट लिनुभयो । जवाफी ब्याटिङमा मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन बनायो । मधेसकी प्रतिमा शाहले १८ बलमा ३ चौकासहित १९, सीमा कुँवर १६ र एलिसा यादवले ३९ बलमा २ चौकासहित १४ रन बनाउनुभयो । सुदूरकी मनिषा चौधरी र ऋतु कनोजियाले दुई-दुई विकेट लिनुभयो । फाइनल शनिबार हुनेछ । प्रतियोगिता विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वाेत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?