अहिले शिक्षाको सम्बन्ध ज्ञानसँग भन्दा धन, रोजगारी र जीविकोपार्जनसँग छ । जुन शिक्षाबाट धनार्जन गर्न सकिँदैन, जुन शिक्षाका बलमा रोजगार हुन सकिँदैन, जुन शिक्षाले व्यक्तिको यथेष्ट जीविकोपार्जन हँुदैन त्यस शिक्षाको के उपयोगिता हुन्छ ? के औचित्य हुन्छ ? शिक्षा फगत शिक्षाका लागि कि जीवनलाई सुखी र खुशी बनाउन ? शिक्षित बन्नु भनेको हिजो ज्ञानार्जनसँग सम्बन्धित थियो भने अहिले शिक्षाको घनिष्टतम सम्बन्ध धनार्जन, सुखार्जन र खुशीआर्जनसँग छ । शिक्षित हुनु भनेको रोजगार हुनु, धनार्जन गर्नु, त्यसका माध्यमले सुखी र खुशी जीवन बिताउने लक्ष्य र उद्देश्य अहिलेको पुस्ताको प्रमुख प्राथमिकतामा पर्छ । यो स्वाभाविक हो । यसलाई अन्यथा व्याख्या गर्नु पाखण्ड हो ।
व्यक्तिको सुखी, खुशी र साधनस्रोत सम्पन्न हुने प्राथमिकतालाई देशको शिक्षा प्रणालीले व्यवहारमा अनुवाद गर्न सकेन भने त्योे शिक्षा प्रणाली मानवमात्रका लागि धोका हो । हाम्रो शिक्षाको पाठ्यक्रमलाई देशको आवश्यकतासँग जोड्ने विषयमा अविलम्ब पुनर्विचार गर्नु युगको आवश्यकता, जनताको चाहना र समस्या समाधानको निर्विकल्प बाटो हो । देशमा शिक्षितहरूको संख्या जुन अनुपातमा बढेको छ, बेरोजगारहरूको संख्या त्यही अनुपातमा बढ्नु भनेको हाम्रो शिक्षा रोजगारीमूलक बन्न नसकेको प्रमाण हो । शिक्षा र रोजगारीको अन्योन्याश्रित सम्बन्ध छ ।
विद्यमान परिस्थिति र परिवेशलाई सुधार्न शिक्षा असफल भयो भने राजनीति र राजनीतिज्ञहरू मात्रै असफल हुँदैनन् अन्ततः देश नै असफल हुन्छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई समयमै युग र समाजका चुनौतीलाई समाधान गर्न सक्षम बनाउने इमानदार प्रयत्न गर्नुपर्छ ।
नागरिकमा विदेश पलायन हुने मनस्थिति र बेरोजगार हुने परिस्थितिको अर्थ शिक्षाले आवश्यकता अनुसारको व्यावसायिक जनशक्ति उत्पादन गर्ने योजना र कार्यक्रम नभएको अवस्था हो । अर्थात् शिक्षा देश र नागरिकको विकाससँग अन्तरसम्बन्धित नभएको निष्कर्ष हो भन्दा अत्युक्ति हुँदैन । शिक्षालाई देशको साधनस्रोत परिचालन क्षमता, योग्यता बढाउने व्यावसायिक र व्यावहारिक बनाउन हाम्रा योजनाकार असफल भएको प्रमाण हो । शिक्षा किन दिने, शिक्षाले व्यक्तिलाई के दिने, देश ,समाजलाई के दिने भन्ने स्पष्ट नीति बनाउन सरकार र नीति–निर्माताहरूको असफलताको सिकारद देशवासी भइरहेको अवस्था हो ।
शिक्षाले, ज्ञानले, प्रविधि र प्राविधिकले देशमा विविध प्रकारका अवसर सिर्जना गर्नु शिक्षाको व्यावहारिक कर्तव्य हो । देशका साधनस्रोतहरूको उच्चतम परिचालनको लहर सिर्जना गर्नु शिक्षित जनशक्तिको निर्दिष्ट लक्ष्य, कर्तव्य र धर्म हो । व्यावसायिक, प्राविधिक शिक्षाले देशमा व्यवसाय र प्रविधि विकास वस्तारमा योगदान दिन नसक्नु भनेको व्यावसायिक र प्राविधिक पाठ्यक्रम अव्यावहारिक भएको प्रमाण हो ।
फेरि उत्तम विकल्पका व्यावहारिक विविध उपाय अख्तियार गर्नुपर्छ । विद्यमान परिस्थिति र परिवेशलाई सुधार्न शिक्षा असफल भयो भने राजनीति र राजनीतिज्ञहरू मात्रै असफल हुँदैनन् अन्ततः देश नै असफल हुन्छ । शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई समयमै युग र समाजका चुनौतीलाई समाधान गर्न सक्षम बनाउने इमानदार प्रयत्न गर्नुपर्छ । अहिले कक्षा १२ मा पढ्ने विद्यार्थीहरूलाई तिमीले किन पढेको भनेर प्रश्न गर्ने हो भने ८० प्रतिशत भन्दा बढीको संख्याले अमेरिका, अष्ट्रेलिया तथा युरोपका देशहरूमा जान पढेको भन्ने जवाफ गर्वका साथ दिन्छन् । यस्तो उत्तर वास्तवमा हाम्रो राजनीतिक नेतृत्व र शिक्षा प्रणाली पूर्णतः असफलको उदाहरण हो ।
यस्तो अराष्ट्रिय सोच, दृष्टिकोण र विचार उत्पादन गर्ने पनि शिक्षा हुन्छ ? आफ्नो देशलाई स्वर्ग बनाउँछु र गर्वसाथ देशमा बस्छु भन्ने नागरिक उत्पादन गर्न नसक्ने शिक्षा प्रणाली हाम्रो सन्दर्भमा पूर्णतः असफलमात्रै होइन देश र नागरिकको दुर्भाग्यको परिचायक हो । युवापुस्तामा देश नै परित्याग गर्ने दृष्टिकोण विकास गर्ने हाम्रो वर्तमान शिक्षा प्रणाली, नीति र पाठ्यक्रमले आमूल परिवर्तन खोजेको प्रमाणित हुन्छ । देश नै परित्याग गर्ने भाव जगाउने प्रणाली वास्तवमा अराष्ट्रिय प्रणालीभन्दा फरक पर्दैन । युवाहरूमा अनागरिक बन्ने वातावरणको बिजारोपण गर्ने विषयलाई गम्भीरतापूर्वक नलिने राजनीति र राजनेताहरू जनताको अन्धकार भविष्य कोर्ने योजनाकार हुन् ।
यस्तो प्रणाली कार्यान्वयन गर्ने सरकार र नीतिनिर्माताहरू सबै असफल, निकम्मा र राष्ट्रघाती हुन् । हाम्रो शिक्षा सबै शिक्षित नागरिकलाई विदेश पलायन हुने वातावरण बनाउन लक्षित हो कि देशका लागि आवश्यक जनशक्ति उत्पादनमा लक्षित हो ? देशको जनशक्ति उत्पादनमा यदि लक्षित हो भने हाम्रो शिक्षित जनशक्तिको ठूलो हिस्सा किन पलायन भयो ? बाँकी सबै किन पलायन हुन ललायित छन् ? उत्तम विकल्प खोज्न जिम्मेवार किन सधैं असफल भए ? शिक्षित जनशक्ति पलायन हुने कारण के हुन् ? किन पलायन भए ? हाम्रो शिक्षाको सम्पूर्ण लगानी व्यर्थ भएको विषयमा हाम्रा नीतिनिर्माता किन चिन्तित छैनन् ?
उथलपुथल राजनीतिको राप-ताप, थिचोमिचो, भ्रष्टाचारबाट आजित भएर विदेशिएका युवाहरू फर्कने सोच विकसित हुनुभन्दा पनि नेपालमा रहेका युवाहरूमा नेपालमा के छ र किन बस्ने भन्ने प्रश्न कहालिलाग्दो छ । परिणामस्वरूप अधिकांश युवायुवती अनागरिक बन्ने लिगलिगे दौडमा छन् ।
त्यसको वस्तुगत सम्बोधनका योजना किन कार्यान्वयन हुँदैनन् ? नेताहरूका, नीति निर्माताहरूका सबै सन्तति विदेशिने र विदेशको नागरिक बनेको अवस्थाले देशलाई भताभुंग पारेर विदेश पलायन हुने योजनामा त नेतृत्व र नीतिनिर्माता छैनन् ? यो आशंका चुलिएको छ । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको भावनाविपरीतको विचार युवाहरूमा जाग्नुको पछाडिका कारण के हुन् ?
विदेशिने र विदेशी नागरिक बन्ने कारणको निदान खोज्ने जिम्मेवारी निर्वाह गर्न नेतृत्व किन उदासीन र गैरजिम्मेवार बन्यो ? अहिले पढ्न र रोजगारीको शिलशिलामा विदेश जानेहरूको लर्कन थामिनसक्नु छ । जसरी पनि विदेश छिर्ने ध्याउन्नमा युवा लागेका छन् । विदेश जान अवैधानिक बाटो रोज्नेहरूको दुःख कष्ट र पीडा फेरि अर्को भयावह परिस्थितिको छुट्टै कथाव्यथा छ । कसरी देशको सीमाना नाघ्ने भन्ने युवायुवतीहरूमा पलाएको सोच, चिन्तन र दृष्टिकोणको विकास राष्ट्र र समाज साथै देशको सुदूर भविष्यका संवेदनशील विषय हो । तर, सरकार व्यवस्थापन गरेर समस्या समाधानभन्दा बेवास्ता गरेर नागरिकलाई विदेशिन सहजकर्ताको भूमिका खेल्ने अवस्थाले समाधान होइन, विकराल बन्नेछ ।
सुख, सुविधा, शान्ति, प्रगति र आत्मउन्नतिको खोजीमा युवाहरू केन्द्रीकृत हुने विषय अन्यथा भन्नु हुँदैन । यो मानवको जन्मजात गुण हो । जीवनमा सुखसुविधाको चिन्तन र खोजीमा सबैको ध्यान केन्दित हुने विषय स्वाभाविकै हो । देशभित्र रहँदा वर्तमानमा मात्रै होइन भविष्यमा समेत सुविधा र उन्नतिका सम्भावनासम्म नदेखेपछि युवामा पलायनको योजना बन्नु स्वाभाविक हो । देशभित्रको भ्रष्टाचार, नातावाद, परिवारवादको दबदबा र यातायात स्वास्थ, शिक्षा आदिको गुणस्तरहीन अवस्थाले युवालाई विदेशिन दबाब दिएको छ ।
उनीहरू विदेशिनुको पछाडि उनीहरूका रहरको आपूर्तिको दरो सम्भावना विदेशमा अनागरिक बन्ने आफ्नै साथीहरूको भएको कुराको जानकारी र देखासिकी प्रभावले आमयुवाले जीवन जिउने उत्तम विकल्प विदेशमा छ भन्ने निक्र्याैल निकालेकाले विदेशिने हतारमा छन् ।
उथलपुथल राजनीतिको राप-ताप, थिचोमिचो, भ्रष्टाचारबाट आजित भएर विदेशिएका युवाहरू फर्कने सोच विकसित हुनुभन्दा पनि नेपालमा रहेका युवाहरूमा नेपालमा के छ र किन बस्ने भन्ने प्रश्न कहालिलाग्दो छ । परिणामस्वरूप अधिकांश युवायुवती अनागरिक बन्ने लिगलिगे दौडमा छन् । आफ्नो सन्तान अनागरिक बन्दा अभिभावक खुशी हुने अवस्थाले अभिभावकले कति पीडादायक जीवन बिताएका रहेछन् भन्ने अर्को प्रमाण के हुन्छ ? देशको सरकारले नागरिकहरूलाई सुख, शान्ति र खुशी दिन नसकेपछि नागरिक विदेशिन्छन् । देशका होनहार युवाहरूमा भएको तँछाडमछाडले हाम्रो राजनीतिक प्रणाली र नेतृत्व पूर्णतः असफल भएको विषयमा जिम्मेवारहरूले आत्मविश्लेषण गर्नुको विकल्प छैन ।
युवायुवतीहरू किन वेदेशिन्छन् ? किन विदेशिने बित्तिकै अनागरिक बन्ने दौडमा भाग लिन्छन् ? भ्रष्ट नेता र तिनीहरूको स्वार्थपूर्तिको हतियार बन्ने र बनाउने अपराधीकरणजन्य राजनीति भएको छ । भ्रष्ट नेताहरूले उत्पादन र वितरण गरेको कुशासन हो । राजनीतिलाई ठग, ढाँट, छल, अपराधको पर्यायवाची शब्द बनाउने नेतृत्वपंक्तिमा रहन मरिहत्ते गर्ने दुई-चारजना तथाकथित ठूला भनिने पार्टीका नेताहरू र आँखामा पट्टी बाँधेर तिनको पछि-पछि लाग्ने लम्पट विवेक र इमानदारीलाई राजीनामा गरेका कार्यकर्ता पनि हुन् ।
यस्तै भ्रद्रगोल राजनीति र भ्रष्ट र उथलपुथल विज्ञहरूको इर्दगिर्दामा सत्ता र राजनीति केन्द्रीकृत हुँदासम्म यो दौड रोकिने अवस्था देखिँदैन । यस्तै परिस्थितिमा यिनै नैतिकता र इमानदारीमा प्रश्नचिहृन लागेका नेताहरूले समाधान खोज्नु भनेको एकातिर खोलो र अर्कोतिर पुल बनाउने नौटंकीजस्तै हो । समस्याहरूको निकासको पूर्वशर्त इमानदार, नैतिकवान र जवाफदेही नेतृत्व हो न कि फ्याङ्ला भाषण !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच