पोखरामा एन प्याब्सन खेलकुद महोत्सव सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेशनल प्याब्सन कास्कीले आयोजना गरेको ‘१३औँ नेशनल प्याब्सन कास्की खेलकुद महोत्सव २०७९’ पोखरामा औपचारिकरूपमा सुरु भएको छ । मंसिर २३ गतेसम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सवको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले गर्नुभयो । सो अवसरमा बोल्दै सदस्य-सचिव घिसिङले बालबालिका लक्षित खेलकुद कार्यक्रमले खेलकुदको जग बलियो बनाउन अहं भूमिका खेल्ने बताउनुभयो ।

‘खेलकुदमा विद्यालयहरूको अग्रणी भूमिकाले नै राष्ट्रिय प्रतिभा प्राप्त गर्न सक्छ । राखेपले खेलकुदको विकासका लागि विद्यालयहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न तयार छ,’ उहाँले भन्नुभयो ।

नेपालमा विद्यालयस्तरको राष्ट्रिय खेलकुदको अपरिहार्यता रहेको औंल्याउँदै सदस्य-सचिव घिसिङले राखेपले त्यस्ता खेलकुद आयोजनाका लागि योजना बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट नै देश चिनाउने मात्रै नभई सिंगो जीवनका लागिसमेत खेलकुद सबैका लागि उत्तिकै अपरिहार्य रहने बताउनुभयो ।

एक अर्को प्रसंगमा उहाँले पोखरा आफैँमा खेलकुदको जग बलियो शहरका रूपमा स्थापित रहेको उल्लेख गर्दै पोखरा म्याराथन र आहा रारा गोल्डकपले त्यसको जगलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सो अवसरमा सदस्य-सचिव घिसिङले १३औँ एन प्याब्सन स्पोटर््स मिटअन्तर्गत सञ्चालन भएको खेलकुद महोत्सवको ब्यानर उडाएर उद्घाटन गर्नुभएको थियो ।

पोखरा रंगशालामा भएको उद्घाटन कार्यक्रममा एन प्याब्सनमा आबद्ध ४७ विद्यालयहरूले मार्च पास गरेका थिए । उक्त मार्चपासमा अञ्जुली बोर्डिङ स्कुल र युनिभर्स स्कुल प्रथम भएका छन् । त्यसैगरी कास्की मोर्डनाइज्डले द्वितीय स्थान प्राप्त गर्दा गण्डकी एकेडेमी तृतीय र लेभिन रेशिडेन्सियल बोर्डिङले चौथो स्थान प्राप्त गरेका छन् ।

खेलकुद महोत्सवअन्तर्गत नै १५०० मिटर छात्रतर्फको दौडमा चिल्ड्रेन एकेडेमीका अस्मित शिरपाली प्रथम, कास्की मोर्डनाइज्डका प्रमोद थापा द्वितीय र अक्सफोर्डका सफल गुरुङले तृतीय स्थान प्राप्त गर्नुभएको छ । त्यसैगरी छात्र ८०० मिटर दौडमा एल.पी. देवकोटा मेमोरियलकी छात्रा मेनुका अधिकारी प्रथम, ज्ञानज्योति माविकी पल्लवी नेपाली द्वितीय र चिल्ड्रेन एकेडेमीकी रीति बसेलले तृतीय स्थान हासिल गर्नुभएको छ ।

‘एन प्याब्सन कास्कीको मान्यता-विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मूलनाराका साथ सुरु भएको खेलकुद महोत्सवमा कास्कीका ४६ विद्यालयका सात हजार विद्यार्थीहरूको सहभागिता रहेको कास्की प्याब्सनका सचिव मानकाजी गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र÷छात्रातर्फ भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्सका खेलहरू सञ्चालन भइरहेका छन् । कक्षा १ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएको उक्त प्रतियोगिता करिब २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?