पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

इस्लामावाद । पाकिस्तानमा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का नेता शाह मोहमद कुरैशी पक्राउ पर्नुभएको छ । उहाँलाई बिहीबार बिहान इस्लामावाद प्रहरीले पक्राउ गरेको पीटीआईले दाबी गरेको छ । पक्राउपछि उहाँलाई अज्ञात स्थलमा लगिएको छ । पार्टीले ट्वीटरमा साझा गरेको भिडियोमा सादा लुगा लगाएका मानिसहरूले कुरेशीलाई हिरासतमा राखिएको स्थानबाट प्रस्थान गर्नुअघि पार्टी कार्यकर्तालाई हात हल्लाइरहेको देखाइएको छ ।

पक्राउ पर्नुअघि उहाँले रेकर्ड गरेको भिडिओमा भन्नुभएको छ, ‘मलाई पक्राउ गर्न प्रहरी आइपुगेको छ । म एउटा सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ । आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ । ‘उहाँले समर्थकलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएको विरोध देशभर फैलिएको छ । हिंसात्मक प्रदर्शनमा बिहीबारसम्म आठजनाको मृत्यु भइसकेको छ । एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् । प्रधानमन्त्री शहबाज शरीफले विरोध प्रदर्शनलाई आतंककारी गतिविधिको संज्ञा दिँदै भत्र्सना गर्नुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै शरीफले सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयहरूमा थप आक्रमण गरिए कठोर कारबाही गरिने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्री खान र उहाँको दल पीटीआईका कार्यकर्ताले संवेदनशील सैन्य अखडामा आक्रमण गरेको शरीफको आरोप छ । खानका समर्थकले लाहौरस्थित प्रधानमन्त्री शरीफको निजी निवासका साथै एक उच्च सैन्य जनरलको निवासमासमेत आक्रमण तथा आगजनी गरेका छन् । पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार र बुधबार देशका विभिन्न शहरमा गरिएको विरोध प्रदर्शनका क्रममा पञ्जाब प्रान्तमा मात्रै १४ वटा सरकारी भवन तथा प्रहरीका २१ वटा भ्यानमा आगजनी भएको छ । राजधानी इस्लामावादका साथै पञ्जाव र खैबर पख्तुनख्वा प्रान्तमा सेना परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री खानलाई अल कादिर ट्रष्टसम्बन्धी जमिन भ्रष्टाचार मामिलामा मंगलबार त्यहाँको भ्रष्टाचारविरोधी निकाय एनएबीले आफ्नो नियन्त्रणमा लिएको थियो । बुधबार अदालतले खानलाई आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आउनुभएको थियो । पनामा पेपर्सले नवाज शरीफ र उहाँका परिवारका सदस्यहरूले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा हाल्नु भएको थियो । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रूपमा नवाज शरीफलाई दोषी ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।

त्यसपछि प्रमुख विपक्षी दलका नेता रहनुभएका खान सन् २०१८ को अगस्ट १८ तारिखमा प्रधानमन्त्री बन्न सफल हुनुभयो । त्यसको चार वर्षपछि खानविरुद्ध संसद्बाट अविश्वास प्रस्ताव पास भएपछि २०२२ को अप्रिल १० मा उहाँको प्रधानमन्त्री पदबाट मुक्त हुनुभयो । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता रहनुभएका शहबाज शरीफ प्रधानमन्त्री बन्नुभयो । शहबाज नवाज शरीफका भाइ हुनुहुन्छ ।

नवाजका भाइ शहबाज सत्तामा आएपछि प्रतिशोधको राजनीतिक साँधिएको आरोप खान समर्थकहरूले लगाउँदै आएका छन् । अल कादिर ट्रष्टमा भ्रष्टाचार गरेको, प्रधानमन्त्रीको हैसियतमा पाएका उपहार गैरकानुनी ढंगले बेचेको लगायतका आरोप इमरान खानमाथि लागेको छ । विश्वविद्यालय सम्बन्धी अल कादिर ट्रष्टमा इमरान खान र उहाँकी पत्नी बुशरा बिबीमात्र ट्रष्टी हुनुहुन्छ । इमरान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आउनुभएको छ । खान यो मामिलामा दोषी ठहरिए जीवनभर नै चुनाव लड्न नपाउने गरी प्रतिबन्धित हुनुहुनेछ । एजेन्सी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?