(धनै छ सर्वोत्तम सार जे छ धनैमहा विश्व भुलिरहेछ )
समयका चापले नेता जन्माउँछ ।
नेपाली भाषाको यो उखान समाजमा आजकै जस्तो चतुष्पाश्र्विक निराशा, विसंगति, अकर्मन्यता बढेका बेला बनेको जस्तो देखिन्छ । किनभने यसले धनी पैसावालको समाजमा बोलवाला हुन्थ्यो भनेर सकारात्मक संरचनामा नकारात्मक कुरो गरेको देखिन्छ । कविशिरोमणि लेखनाथले पनि यसैको दृष्टान्त दिएका छन् । जो आजको नेपालमा व्याप्त भएको छ । नेपालमा भएका राजनीतिक दलमध्ये नेपाली कांग्रेस सबैभन्दा पुरानो र अनेकौं प्रकारका संघर्ष गरेर खपेर तपेर आएको पार्टी हो । यसमा अहिले भएका नेताको नै कुरो गर्दा पनि अनेकौं प्रकारका विसंगतिका विरुद्ध लोमहर्षक संघर्ष गरेर आएका नेताको बाहुल्य नै छ ।
नराम्रो राम्रो बनेको उदाहरण बिरलै देखिन्छ, राम्रो नराम्रो बनेको भने निकै उदाहरण भेटिँदारहेछन् । नेपाली कांग्रेसमा विधान पालन गर्ने नेता अहिलेसम्म जन्मेन । बिपी देशले आकारै नलिएका बेला नेता बनेर देखापरे उनको सिधा राजासँग संघर्ष भएको थियो । पहिला पारिवारिक शासक राणा आम्नेसाम्ने भए । तिनका विरुद्धको लडाइँ त्यत्तिकै चुनौतीपूर्ण थियो । राजालाई समेत साथमा लिएर बिपीले नेपाली प्रजातान्त्रिक लडाइँ गर्नुपरेको थियो । त्यस बेला भारतमा पनि ब्रिटेनको उपनिवेश थियो र पहिला त उनले छात्रावस्थादेखि नै भारतीय स्वतन्त्रता संग्राममा भाग लिएर सामाजिक र राजनीतिक क्रान्ति गर्न सिकेका थिए । हजारीप्रसाद द्विवेदी, शान्तिस्वरूप गुप्त, जवाहरलाल नेहरूजस्ता नेतासँग उनको बसउठ भएको थियो ।
नेपाली कांग्रेस सापेक्षित रूपमा नेपालका अरू दलभन्दा जेठो, बढी संघर्ष गरेको र प्रजातान्त्रिक पद्धति र परिपाटीका लागि विश्वले चिनेको र विश्वास पनि गरेको दल हो तर सुशील कोइरालाको स्वर्गवासपछि यसले राजनीतिक स्वरूप, विरासत र नैतिक धरातल नै गुमाउँदै आएको छ ।
आचार परमो धर्मः भन्ने त्यो बेलाका मान्छेमा रहेको देखिन्थ्यो । हिन्दुस्थानमा पनि आचार, अहिंसा तर स्वराज्यका लागि ‘देहं वा पातयेयं कार्यं वा साधयेयम्’ सर्वत्र उद्घोष रन्कन्थ्यो । सशस्त्र संघर्षबेगर स्वतन्त्रता हात लाग्दैन भन्ने सुभाषचन्द्र बोस पनि थिए । हिर्काए एक गालामा अर्को गाला फिराईद्यौ भन्ने गान्धीले अन्ततः भारतलाई स्वतन्त्र गराए । गान्धीमा भारतीयले आफ्नै वैदिक कालदेखिको संस्कार, संस्कृति र भारतको वेदपरक आत्मा मुखरित भएको देखे । त्यसैगरी विश्वेश्वरप्रसाद कोइरालामा नेपालले समग्र संस्कार, संस्कृति र त्यसमा लागेका ऐँजेरु ताछेर असल नेपाल बनाउनसक्ने क्षमता देखेका हुनाले नेपाली जनताले उनलाई पाएपछि राजा र राणालाई पनि मरेका कुखुरालाई उपियाँले छाडेझैँ छाडेका थिए ।
पुराना टकमा खिया लागेझैँ आज नेपाली कांग्रेसमा खिया लागेको छ । अब यो खिया हटाएर टल्काउँछौँ भन्ने पनि अहिले बग्रेल्ती देखापरेका छन् तर खुट्टी हेर्दा यिनले सिन्की खाँद्लान् भनेर नेपाली जनताले विश्वास गर्न सकिरहेका छैनन् तर पनि एउटा त्यस्तो नेताको आवश्यक्ता पनि छ । एउटा सत्तालोलुप उरन्ठेउलो केटाले घन्टी बजाउँदा के निहुँ पाऊँ र कनिका भए पनि बुक्याऊँ भन्ने विदेशीका पाउसेवीलाई त क्रान्तिकारी भेटेजस्तो लाग्ला तर माटोभक्त नेपालीले पत्याएका छैनन् । अज्ञात कुलशीलस्य वासो देयो न कस्यचित् । कुलशील नजानेकालाई वासपनि नदिनू भन्ने नीति अनुसार कुलशील, संस्कार भएका मान्छे नेकामा वैकल्पिक शक्तिका रूपमा आउँनै लागेका छन् प्रतीक्षा गरौँ ।
निविड अन्धकारमा नै उज्यालाको महत्व हुन्छ
अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीनवटै दलमा नैतिकता, संस्कार, संस्कृति र जनता तथा देशप्रतिको चिन्तनभन्दा सत्ता, शक्ति र कालोधन कसरी धेरै जम्मा गर्ने भन्ने होडबाजी मात्रै देखिन्छ । नेपाली कांग्रेस सापेक्षित रूपमा नेपालका अरू दलभन्दा जेठो, बढी संघर्ष गरेको र प्रजातान्त्रिक पद्धति र परिपाटीका लागि विश्वले चिनेको र विश्वास पनि गरेको दल हो तर सुशील कोइरालाको स्वर्गवासपछि यसले राजनीतिक स्वरूप, विरासत र नैतिक धरातल नै गुमाउँदै आएको छ । अहिले यो न प्रजातन्त्रिक संस्कार संस्कृति न त साम्यवादी चरित्रसँगै नजिकको देखिन्छ । न धर्म न धारणा थोत्रा कपडाको बुख्याँचा बनेर ठडिएको छ । यो त अहिले अनुहार हाँसको खुट्टा कागका र जिउ हुँडारको बनाएर हिँडिरहेको छ ।
यसलाई शुद्ध चरित्र र स्वरूपमा ल्याउन निकै मिहिनेत गर्नुपर्ने भएको छ । वर्तमान सभापतिले कांग्रेसलाई नीतिविहीन, चरित्रविहीन मात्रै बनाएका छैनन् संगठन र भरोसाविहीन पनि बनाइदिएका छन् । देशमा शिक्षा तलदेखि माथिसम्मै काम नलाग्ने गरी धुजाधुजा बनाइएको अवस्था छ । लोकसेवा आयोगले खरिदार, मुखिया, बहिदारको विज्ञापन गरेझैँ देशका विश्वविद्यालय हाक्ने उपकुलपति, शिक्षाध्यक्ष र राजिष्ट्रारको विज्ञापन गरिटोपलेर आफ्नै आसेपासे भर्ना गर्ने काम लाजै नमानी गरिएको छ । स्वास्थ्यक्षेत्र पनि घिटिकघिटिक नै भएको छ । कहिले उत्तरी सीमाका त कहिले दक्षिणी सीमाका डनलाई ल्याएर स्वास्थ्य निकाय विश्वासै गर्न नसकिने गरी धनअसुल गर्ने ठाउँ बनाइएको छ ।
कृषिको दूर्दशा त्यस्तै कहालीलाग्दो छ । व्यापारमा विदेशीको बोलवाला छ । देशको पटक-पटक अर्थमन्त्री बनेको मान्छे सुन तस्करी र रक्तचन्दन तस्करीको वैदेशिक नाइकेसँग बसउठ गरेको प्रमाणित हुँदा पनि खोजेर ल्याएर उसैलाई अर्थमन्त्री बनाइन्छ, किनभने चुनाव हारेका शन्ठलाई पोस्यपूतका रूपमा देशको अर्थमन्त्री बनाइन्छ । पहाड बाँझिएको छ भने तराई थेग्न नसक्ने गरी गुल्जारमात्रै होइन घनाजनशंकुल बनेको देखिन्छ । भूमाफियाका कमाउ धन्दाले देशका सानातिना वन जंगल नासिएर बस्तीका नक्साले भरिन लागेका छन् एकातिर भने अर्कातिर डोजरे विकासले भूक्षयको काहालीलाग्दो अवस्स्था सिर्जना भएको छ ।
किसानले बेलामा मल, बिउबिजन पाउँदैनन् । झोलामा पैसा बोकेर सरकार गुहार्दा पनि वस्तु उपलब्ध छैन । नेता भनाउँदा नै सहकारी, मिटरब्याजीका संरक्षक बनेर देखिएका छन् । सरकार फेर्ने मन्त्री बन्ने, नयाँ नयाँ निर्वाचन क्षेत्र छानेर जनता झुक्याउने, सत्ताका लागि बकुल्लाले माछा ढुके झैँ ढुक्ने चरित्रहीन राजनीतिकर्मीका पोल्टाबाट देश र जनताले मुक्ति नपाउने अवस्था आएको छ । यस्तै बेलामा सही नेतृत्व जन्मन सक्नुपर्छ । अहिले नेपाली भूमिमा डा.शेखर, गगन, विश्वप्रकाश, प्रदीप, बद्रीहरू जस्ता आसलाग्दा मान्छेहरू मैदानमा भए पनि मूल्यबोध, संस्कार संस्कृतिविहीन सत्तालिप्सुले बुढा गोरुले कोरली गाई ओगटेर बसेझैँ बसेका छन् । तीनै दलमा तिनलाई विधिपूर्वक चाँडोभन्दा चाँडो किनारा लाउन सक्नुपर्दछ । ओली र पुकदामा आफू नमरी स्वर्ग देखिँदैन भन्ने दृढ विश्वास छ ।
नेता भनाउँदा नै सहकारी, मिटरब्याजीका संरक्षक बनेर देखिएका छन् । सरकार फेर्ने मन्त्री बन्ने, नयाँ नयाँ निर्वाचन क्षेत्र छानेर जनता झुक्याउने, सत्ताका लागि बकुल्लाले माछा ढुके झैँ ढुक्ने चरित्रहीन राजनीतिकर्मीका पोल्टाबाट देश र जनताले मुक्ति नपाउने अवस्था आएको छ ।
त्यहाँका युवा पुस्ता तिनका सामु चुँ पनि गर्न सक्दैनन् । कांग्रेसमा शेखर-गगनका जोडाले आच्छुआच्छु पार्दै ल्याएको देखिन्छ तर पनि निर्णायक तहमा अझै पु¥याउन सकेका छैनन् । उता शेरबहादुर पनि वैधानिक समयपछि पनि एक वर्ष थपेर यिनका सपना चकनाचुर बनाउने षड्यन्त्रमा लागेको आशंका गर्न लागेका छन् साधारणभन्दा साधारण जनता पनि । यस अवस्थामा चाँडो चुनाव (अर्लि इलेक्सन) को नारामा जनता, कार्यकर्ता, बौद्धिक समुदाय, अन्तर्राष्ट्रिय बन्धुबान्धव, शुभेच्छु र मित्रशक्तिलाई पनि चाँडो निवार्चन गरेर कांग्रेसलाई यसभन्दा बढी भत्कन बिग्रन नदिन अनुरोध गर्नुपरे पनि पछि हट्नु हुँदैन । जुन दिनसम्म यो देशको राजनीतिमा ओली, प्रचण्ड र शेरबहादुरको हाईहुकुम चल्छ त्यो दिनसम्म देशमा कुनै पनि राम्रा काम हुन सक्दैनन् भन्ने कुरो अब लाटाले पनि बुझिसकेको अवस्थामा बेला पर्खेर बस्नुको औचित्य छैन ।
सोच, चाहना र नैतिकताको खाँचो
नेपालमा बीपीभन्दापछि राजनेताको सर्वथा अभाव भयो । सबै राजनीतिकर्मी मात्रै भए । राजनीतिकर्मी र राजनेताको पार्थक्यका सम्बन्धमा म केही भन्न चाहन्न । नेपालमा ९४ प्रतिशत जनता सनातन वैदिक धर्मावलम्बी छन् । तिनले लाउने यज्ञोपवित (जनै) पनि चीनले बनाएर पठाउने गरेको छ । धानचामल निर्यात गर्ने देश आज पैठारी गर्न लागेको छ । नेपाली दूध सडकमा पोख्छन् किसान सरकार भारतको तरकारी दूध र माछा, मासु, निर्बाध पैठारी गराउँछ । यस्तो कुरो गरे जनताले भने जनता समातिन्छन्÷ पिटिन्छन् तर मिटरब्याजी पूजिन्छन् ।
नागरिक फर्जी, पासपोर्ट फर्जी, चारवटी पाँचवटी नारीको जीवन बरवाद गरेर पनि लाज, घिन शर्मबेगरको बनेर उपप्रधानमन्त्री बन्ने स्वप्न पूरा गर्नतिर लाग्न सक्नेका आसमा नेपाली जनता लागेको देख्दा भने मलाई आश्चर्य लागेको छ । हुन त उनका पार्टीमा पढालेखा नारी पनि त्यस्तै कोही विदेशीसँग बिहा गरेर लोग्नेविना बसेका छन् त कुनै अर्की नारीकी सौता बनेर गएकाहरूकै बाहुल्य रहेको छ भन्ने सुन्छु । आचरण, चरित्र र नैतिकता राजनीतिमा नहेर्ने, नखोज्ने जुन सामन्ती परम्परा थियो राजाका पालादेखि चलेको त्यसलाई प्रजातन्त्रकालमा पनि निरन्तरता दिनाको दुष्परिणाम हो यो । नीति देशको, समाजको, व्यक्तिको पनि हुन्छ भने नैतिकता व्यक्तिको मात्रै हुँदैन । समुदायको पनि हुन्छ, देशको पनि हुन्छ र नीतिनियमको गोरेटो नै नैतिकता हो ।
नीति-नियम पालन नगर्नेले समाज धमिल्याउन सार्वजनिक पदमा जानु हुँदैन र लानेले पनि लानु हुँदैन । व्यक्तिलाई लागेका कुरा गर्न पाइने त पशुजगत्मा पनि हुँदैन । यो त मानव जगत् हो अतः ज्यानमारा सभामुख, यौनदुराचारी सुन तस्करी पनि सभामुख बने÷बनाइएको देखेर सभ्य समाजले के भन्ला भन्ने पनि हामीले ख्याल गरेनौं । सुनतस्कर, रक्तचन्दन तस्कर पटकपटक अर्थमन्त्री भएका छन् । सिसीटिभी खन्चुवा, छुत अछूत विभेदकारीलाई पटक-पटक मन्त्री बनाइएको छ । यो देशमा जनता छन् कि मूर्दैमूर्दा छन् भन्ने पनि प्रश्न उठ्ने बेला भयो अब त ।
जनता जागेर ठाउँका ठाउँ दुई-चार यस्ता निर्घृणीलाई सडक कारबाही नगरेसम्म यो देशको कानुन परिचालन गर्ने निकायका गिदीको बोसो नपग्लने भयो । के यो गिदीमा लागेको बोसो पगाल्न जनता झिर तताएर सडकमा आउनै पर्ने हो ? उत्तर ओली, शेरबहादुर र पुकदाले दिनैपर्छ । यो देशलाई यो अवस्थामा पुर्याउने यिनै तीनजना हुन् । भोलि देश र जनतालाई दुःख दिने पनि यिनै तीनजना हुनेछन् । अतः जनता हो उठ, जाग, राम्रो पाएर निश्चिन्त नहुउन्जेल जागरुक बन । उत्तिष्ठतः जग्रतः प्राप्यवरान्निबोधत ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच