बर्नमाउथमाथि क्रुर लिभरपुल

Read Time = 4 mins

लण्डन । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पार्नेक्रममा बर्नमाउथमाथि ९-० को फराकिलो जित हात पारेको छ । लिभरपुलको यो सिजनको पहिलो जित हो । लिभरपुलको फराकिलो जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई-दुई गोल गर्दा हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, भर्जिल भान डाइक फावियो कार्भाल्होले समान एक/एक गोल गर्नुभयो ।

खेलको तेस्रो मिनेटमा नै लुइस डियाजको गोलबाट लिभरपुलले अग्रता लियो । छैटौं मिनेटमा हार्भे इलिओट, २८औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, ३१औं मिनेटमा फिर्मिनो र ४५औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई ५-० अग्रता दिलाउनुभयो ।

दोस्रो हाफको सुरुवातमै क्रिस मेपहामले आत्मघाती गोल गरेपछि लिभरपुल ६-० ले अघि बढ्यो । ६२औं मिनेटमा फिर्मिना, ८१औं मिनेटमा फावियो कार्भाल्हो र ८५औं मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि नवौं गोल गर्दै टोलीलाई ९–० को फराकिलो जित दिलाउनुभयो ।

प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो । यसअघि लिभरपुलले दुई बराबरी खेल्दा एकमा हार बेहोरेको थियो । यो फराकिलो जितसँगै लिभरपुलको चार खेलबाट पाँच अंक पुगेको छ । पराजित बर्नमाउथको चार खेलबाट तीन अंक छ ।

यता चेल्सीले लेस्टर सिटीलाई २-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीका लागि दुवै गोल रहिम स्टर्लिङले गर्नुभयो भने लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काउनुभयो । दोस्रो हाफको सुरुमै रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६३औं मिनेटमा रहिमले दोस्रो गोल गर्नुभयो । ६६औं मिनेटमा हार्भे बार्नेसले जेमी भार्डीको पासमा एक गोल फर्काउनुभयो । यस जितसँगै चेल्सी चार खेलबाट सात अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित लेस्टर एक अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अर्को खेलमा आर्सनलले फुल्हममाथि २-१ गोलअन्तरको जित हात पार्‍यो । आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड र गाब्रियलले एक-एक गोल गर्नुभयो । फुलहमका एलेक्सान्डर मित्रोभिकले एक गोल फर्काउनुभयो । लगातार चौथो जितसँगै आर्सनल म्यानचेस्टर सिटी र ब्राइटनलाई दुई अंकले पछि पार्दै शीर्षस्थानमा रहेको छ । अपराजित आर्सनलको चार खेलबाट १२ अंक रहँदा सिटी र ब्राइटनको समान खेलबाट १० अंक छ । पराजित फुलहम पाँच अंक जोडेर ११औं स्थानमा छ ।

यता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४-२ को सानदार जित हात पारेको छ । यस जितसँगै सिटी चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १० अंक नै रहे पनि ब्राइटन दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस चार खेलबाट चार अंक जोडेर १३ औं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?