![गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Supreme-Court-demanding-the-suspension-of-Home-Minister-Lamichhane-hita-fornt-page.jpg)
✍️ निर्मलकुमार आचार्य
पाल्पाको त्यो नयनाभिराम सौन्दर्य नियाल्न मन हतारिएको थियो, बेग्लै खालको छटपटी र अनौठो व्यग्रता थियो । लामो समयपछि अन्तर चाहना पूरा हुनलागेकामा मन ज्यादै उत्साहित थियो । साढे छ बजे गोंगबु, काठमाडौंबाट छुटेको गाडी (स्कार्पियो) कालीगण्डकी करिडोर हुँदै जाने कुरोले झन् उमंग थप्यो । नारायणगढ-बुटवल मार्गको दुर्दान्त दुर्दशा व्यहोर्न नपरेकामा सबै जना दंगदास बने ।
कालीगण्डकी करिडोरबाट पहिलोपटक यात्रा गरिरहेका यात्रुहरू घाँटी तानीतानी, आँखा च्यात्दै वरिपरिका दृश्य मानसपटलमा अंकित गरिरहेका थिए । पाल्पाली भूमिमा प्रवेश गर्नासाथ साथीहरू चहकिए । अँगाहाखोलाका बन्धु नारायण जीको मुखबाट सहजै हृदयोद्गार प्रकट भयो-‘आहा, यहाँको हावै फरक, कत्ति शुद्ध, कत्ति पवित्र !’ अन्य यात्रुगणले पनि आ–आफ्नै शैलीमा त्यस भावनालाई परिपुष्ट तुल्याए । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्नुको अर्थ यही हुनुपर्छ । धन्य पाल्पा, धन्य पाल्पाली हावा भन्ने लाग्यो । यहाँको हावा कहिल्यै नबिग्रियोस्, मनमनै सद्कामना पनि गरियो । त्यतिखेर सहसा उब्जिएको काठमाडौंको सम्झनाले चाहिं नराम्ररी चिमोट्यो । केही दिनअघिको कुरो न हो, डाम्मडुम्म गाडीभित्र सवार यात्रुमध्ये एकले आँखै नउघारी नागढुंगामा भनेका थिए ‘हृवास्सै गहृनायो, काठमाडौं छिरियो कि क्या’ हो ?’
पूर्वपश्चिम राजमार्गमा रहेको गैंडाकोटबाट ढोडेनी, बुलिङटार, अकलादेवी, डेडगाउँ, स्याउलीबजार, रामपुर, हुँगी हुँदै सिद्धार्थ राजमार्ग पक्डिएर रातोडाँडा, बेरौटा भई कुदेको गाडी अन्ततः झण्डै साढे चार बजे गन्तव्य स्थल तानसेन पुग्यो । करिब ३८ वर्षपछि पाल्पाली भूमिमा पुनः टेक्न पाउँदा बेग्लै फुर्ती रहृयो ।
उनले नौलो कुरो त भनेका थिएनन्, सबैले भन्दै आएकै हुन् । तैपनि, पाल्पाली सुरभित वायुको बयान सुन्दा काठमाडौंको श्रापित हावालाई बिर्सन सकिएन । चिरिच्याट्ट सडक तर फाट्टफुट्टमात्रै गाडी चल्ने भएकाले चालक रमाउँदै हुइँक्याइरहेका थिए । ठाउँ, ठाउँमा पुलको अभावले गर्दा बर्सातमा चाहिँ गाडी कुद्ने अवस्था रहेनछ । त्यतिखेर कावासोतीबाट रामपुर हुँदै पाल्पा जाँदारहेछन् । पूर्व–पश्चिम राजमार्गमा रहेको गैंडाकोटबाट ढोडेनी, बुलिङटार, अकलादेवी, डेडगाउँ, स्याउलीबजार, रामपुर, हुँगी हुँदै सिद्धार्थ राजमार्ग पक्डिएर रातोडाँडा, बेरौटा भई कुदेको गाडी अन्ततः झण्डै साढे चार बजे गन्तव्य स्थल तानसेन पुग्यो । करिब ३८ वर्षपछि पाल्पाली भूमिमा पुनः टेक्न पाउँदा बेग्लै फुर्ती रहृयो । उतिबेला शिक्षक थियो, यो बबुरो । हेटौंडाबाट शैक्षिक भ्रमणका लागि सिद्धार्थ माविका विद्यार्थी ल्याइएको थियो ।
साँझपख विशाल बजार हुँदै वरपर डुल्दा त्यो पहिलेको रौनक चाहिँ कताकता हराएजस्तो आभास भयो । परम्परागत रूप, बान्की बेपत्तिन तछाडमछाड गरिरहेजस्तो लाग्यो । ढाका र करुवाले कहलिएको पाल्पामा पुराना शैलीका घर फाट्टफुट्ट मात्र देखिए । बजार त बढेछ, पसल, होटल, लज पनि रंगीचंगी रहेछन् तर सम्साँझै शून्यताबोध गराउने पारा नमिठो प्रतीत भयो । कहाँको गुलजार त्यो पाल्पा आज कस्तो नियतिको फल भोगिरहेको रहेछ, अचम्म लाग्यो । गर्मीले उसिनिनुपर्ने भैरहवा, बुटवल नजिकै सिरानमा रहेको सुशीतलस्थल पाल्पाले गाइरहेको कहालीलाग्दो गीत असहनीय थियो । आफ्नै नाभिमा रहेको कस्तुरीको ख्याल नभएको जस्तो देखियो-पाल्पा । ‘हिल स्टेसन’ का रूपमा भारतीय पर्यटकलाई समेत ओइराउन सक्नुपर्ने पाल्पा ‘डिप्रेसन’ को सिकार भए जस्तो पो लाग्यो । तब त, भारतीयको त कुरै छाडौं, आफ्नै देशभित्र पनि यो बिरानो हुँदै गएको रहेछ । कुनै बेला थियो, पाल्पा नगएको मान्छे के मान्छे भने जस्तो हुन्थ्यो तर अहिले मणि हराएको सर्प जस्तो पो बनेको रहेछ- हाम्रो प्यारो पाल्पा ।
खिन्नताले निकै बेर सतायो । केही गर्ने बुता नभएकालाई यस्तो छटपटी हुनुको के अर्थ र ! आफैंले आफूलाई सम्झाएपछि बल्ल निद्रा पर्नथाल्यो । बिहान सबेरै तानसेन, श्रीनगर जाने तरखरले उत्सुकता जगायो । उतिबेला पनि श्रीनगर पुगिएको थियो, काँध, काँधसम्म आउने भएका थिए- सल्लाका बिरुवा । टाढाबाट हेर्दा त टोपी नै झार्लान् जस्ता अग्लाअग्ला देखिन्छन् । नजिक गई हेर्दा तिनका कद, काठी छर्लंग हुनेछन् । बोल्न सक्ने भए कत्तिपछि आएको भनी गुनासा गर्दै भन्दाहुन्-‘अहिले त हाम्रा नाति, नातिनी पनि भइसके ।’
तानसेन अंकित सल्लाघारी भएको श्रीनगर डाँडा जान सबै तम्सिए । ‘मर्निङवाक’ गर्नेहरू त सुरिने नै भए । बिस्तारै लम्काइएका पाइला जसै श्रीनगर नजिक पुग्यो, उल्लास बिरबिरिए झैं सुखद अनुभूति भयो । तर यो सुखदानुभूति दुःखदानुभूतिमा परिणत हुन रत्ती बेर लागेन । लच्किंदै अँगालिन आतुर होलान् भन्ठानिएका ती सल्लाका रुखहरू डढेलोको प्रकोपले असहाय, निरीह, निरुपाय जेनतेन प्राण धानिरहेका पो भेटिए । हालसालै मर्दामर्दा बाँचेका रहेछन् ती बिचराहरू !
तलदेखि माथिसम्मै कोही अछुतो देखिएनन् । गहिरो पीडाले होला, घुँडाघुँडासम्म डढेका सल्लाका कुनै पनि रूखले एक शब्द बोल्नसकेनन् । विवशताको सिकार नबनेका भए तिनको चहक बेग्लै हुन्थ्यो होला, पक्कै महक बेग्लै हुन्थ्यो होला ! यो बबुरो के गर्नसक्छ र तिनका लागि जो गर्नसक्थे, तिनले गरेका भए यस्तो नियति त भोग्नुपर्दैनथ्यो होला ! कल्पँदै खरानिएका बाटो नाप्दै थाप्लामा पुगियो । अग्लो ‘भ्युटावर’ बनाइएको रहेछ । मौसम छ्यांग हुँदा त्यहाँबाट अनुपम हिमाली सौन्दर्य, मनोरम तराईका फाँट र ठ्याक्कै मुन्तिर आकर्षक तानसेन बजार देखिन्छ रे !
यो श्रीनगरले काश्मिरको श्रीनगरलाई पनि मात गर्ला भन्ने उतिबेला लागेको थियो । आजको दशा देख्दा यसले दिशा नै नपहिल्याए जस्तो आभास भयो । नागबेली पारेर सानो ‘छुकछुके रेल’ मात्रै चलाउने हो भने पनि यसको मुहार उजेलिन्थ्यो कि भन्ने लाग्यो । लाग्नुपर्नेलाई केही नलाग्ने र नलागे पनि हुनेलाई चाहिं लाग्नुले के पो अर्थ राख्छ र खै !
उक्लँदै खल्लो मन थियो, ओर्लंदा पनि अलिनो नै रह्यो । सडक समातेपछि गाडीमा सवार भई रानीमहलतिर यात्रा सोझ्याइयो । नजिकै रहेको कोशेढुंगो हेर्दा थाहा भयो-रानीमहलको दूरी १३ किलोमिटर रहेछ । पहिलोपटक ‘मायाको चिनो’ रानीमहल हेर्न गइरहेकाले हुनुपर्छ, ढुकढुकीको चाल पनि बडो मायालु बनेको थियो । तानसेनबाट तल कालीगण्डकीको किनारमा ओर्लन कत्ति बेर लागेन । सामुन्ने चट्टाने भिरालोमा रहेको सुन्दर रानीमहलले हामीलाई न्यानो स्वागत गरे झैं लाग्यो ।
गाडीबाट ओर्लिएर सिधै उत्तरवाहिनी कालीगण्डकीको निर्मल जलस्पर्श गर्दै फर्किई अमर प्रेमको विशिष्ट नमुना रानीमहलमाथि जसै नजर फैलाइयो, ‘खड्ग-तेज’ जगमगिएको आभास भयो । कत्ति माया गर्दारहेछन् खड्गसमशेर आफ्नी रानीलाई, तब त उनको सम्झनामा हृदय नै बिछाइदिए । मुगल बादशाह शाहजहाँले प्यारी रानी मुमताजको सम्झनामा ताजमहल बनाए झैं पश्चिम कमाण्डर खड्गसमशेरले आफ्नी रानी तेजकुमारीदेवीको स्मृतिमा बनाएका रहेछन् यो महल । ‘नेपाली ताजमहल’ का रूपमा चर्चित प्रेममहलमा डुल्दा लाग्यो, यतै, कतै खड्ग र तेज स्वप्निल संसारमा तरेलिंदै मायाका कथा हालिरहेका छन्, जीवनको सार्थकता जताइरहेका छन्, अमरत्वको सन्देश दिइरहेका छन् ।
फर्कने हतारोले भित्तोमा कान दिएर सुन्नसकिएन, नत्र तिनका पनि कहानी हुँदाहुन्, कोही नजिकिंदा हाँस्दा हुन् र टाढिँदा रुँदा हुन् । छानोले चाहिँ ‘जस्ता’ ओढाइएकाले हुनसक्छ, गुनासो गरिरहे झैं लाग्यो । चुना र सुर्कीले ठड्याइएको महलमा सिमेन्टको प्रयोगले गर्दा हुनुपर्छ, सत्तरी र दलिन अलि ठुस्किएका थिए ।
धेरैबेर बस्न सकिएन, जतिसुकै राम्रो ठाउँ भए पनि आखिर छोड्नैपर्दो रहेछ । त्यो प्रेमिल संसारबाट तानसेनतर्फ गाडी हुइँकियो दिउँसो बन्धुमिलनको सुखद कार्यक्रम समापनसँगै बुटवल भई रात्रिबसबाट काठमाडौं जाने निधो भयो । मनोहारी पाल्पामा धेरै ठाउँ पुग्न केही दिन बिताउनै पर्नेरहेछ । बढी नमज्जा किन लाग्यो भने रुप्से, रामपुर, रिब्दीकोट, कुसुमखोला, अँगाहाखोला, पूर्वखोला जाने मनसुबा पनि थाती राख्नुपर्यो ! केराबारी, जोरधारामा बटुक र चुकाउनी नचाख्ने बिरलै हुँदारहेछन् । माथागढीको रसिलो काफलको स्वाद चाहिं अहिले पनि जीब्रोमा झुण्डिए झैं लाग्छ । acharya.nik@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच