प्राणीको आवश्यकता र त्यसको आपूर्तिका बीचमा हुने हरेक क्रियाकलाप अर्थतन्त्र हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन । त्यसो भन्दै गर्दा आफैँले उत्पादन गर्ने र आफैँले उपयोग गर्ने अर्थात् विनिमय नगर्ने जीवहरूमा अर्थतन्त्रको यो अवधारणा लागू हुन्छ कि हुन्न भन्ने प्रश्न उठ्नसक्छ । बिना कुनै विनिमय आफ्नो आवश्यकताको निमित्त प्राप्त गर्ने र त्यसको उपभोग या उपयोगमात्र गर्ने अवस्थामा अर्थतन्त्रको उपस्थिति हुँदैन । एक आर्थिक एकाई र अर्को आर्थिक एकाइबीच विनिमय वा लेनदेन नभएको अवस्थामा अर्थको गति नै पैदा हुँदैन । अर्थतन्त्रको अस्तित्व देखिन यस्तो लेनदेन वा विनिमय एकै प्रजातिबीच हुनुपर्ने हुन्छ । भोजनचक्रमा भोजक र भोज्य उत्पादक र उपभोक्ता जस्तै सम्बन्ध रहन्छ वा देखिनसक्छ ।
तर, यस प्रकारको विनिमयलाई अर्थतन्त्र भन्न सकिन्न । विनिमय एकै प्रजातिभित्र हुन्छ भनेमात्र त्यस्ता लेनदेनले अर्थतन्त्र निर्माण गर्दछ । यहा“ प्रयुक्त प्रजाति शब्द एकै जीववैज्ञानिक नामधारी जीवलाई जनाउन प्रयोग गरिएको हो । प्रजातिभित्रको फरक फरक किसिमलाई आवश्यकता अनुसार उपजाति शब्द प्रयोग गरिनेछ । उसै पनि अर्थशास्त्र मान्छे अर्थात् होमो सेपियन्सबीचको विनिमय वा लेनदेनको घेरामा रहेको छ । चाहे पूर्वीय होस् वा पश्चिमा सबै अर्थशास्त्रले मान्छेमान्छेबीच गतिशील अर्थतन्त्रको कुरा गर्दछ । विश्वमा मान्छेबाहेक अन्य कुनै प्राणीमा पनि यस्ता आर्थिक गतिविधि, क्रियाकलाप भेटिन्छन वा भेटिँदैन भन्ने बारेमा सम्भवतः अध्ययन भएको छैन वा अध्ययन गर्न आवश्यक ठानिएको छैन ।
त्यसैले अहिलेलाई अर्थ, अर्थको गति तथा दिशा, अर्थतन्त्र, अर्थशास्त्र आदि अवधारणा केवल मानव प्रजातिभित्र नै रहेका हुन्छन् भन्ने मान्यता स्थापित भएको छ । खेतीपाती, पशुपालन, कीटपालन आदि आधारभूत तथा प्राचीन उत्पादन प्रणाली निश्चय नै अर्थतन्त्रका आधारशीला हुन् । तर, यसमा पनि मान्छे र अन्य प्रजातिबीच भएका आदानप्रदान अर्थतन्त्र होइन । यो भोजनचक्रको उभोक्ता र उपभोग्यको सम्बन्ध हो ।
अर्थतन्त्रको आरम्भ बिन्दु उत्पादन हो र अन्तिम गन्तव्य त्यस उत्पादनको उपभोग हो । यो यात्रा सहज बनाउनको निमित्त राज्य, राजस्व, मुद्रा, व्यापार आदि जस्ता कुराको उत्पत्ति भएको हो । दाना, छाना तथा नाना जस्ता आधारभूत आवश्यकताको निमित्त हुने माग, त्यसको आपूर्तिमा मात्र अर्थतन्त्र सीमित रहेको छैन । उत्पादन र उपभोगबीच बचत हुने वा बचत गरिने प्रवृत्तिले सञ्चयको अभिलाषाले सम्पत्ति बन्छ । सो सम्पत्ति निर्धाबाट बलियाले हरण गर्ने समाजको स्वभाव हुन्छ । त्यो नियन्त्रण गर्न त्यसलाई नियमन गर्न शासकको आवश्यकता उत्पन्न हुन्छ । शासक र सामान्यजनहरूको समुच्चयले राज्य अनि राष्ट्रको धारणा बन्छ । एक आर्थिक एकाइले गरेको उत्पादन आफ्ना सबै माग पूरा गर्ने किसिमका नहुन सक्छन् ।
एक आर्थिक एकाईले उत्पादन गरेको उत्पादको उपभोक्ता अर्को एकाईको सहज पहु“चमा नहुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा एकातिर आवश्यकताको वस्तु एकले प्राप्त गर्न नसक्ने र अर्कोले उत्पादको उपभोक्ता नपाउने हुन्छ । यस विषम परिस्थितिले मुद्रा, व्यापारजस्तो अवधारणा उत्पन्न भयो ।
त्यसैले आफ्ना उत्पादन अर्को आर्थिक एकाइसँग भएको आफ्नो आवश्यकता अनुसारका सामानसँग साटफेर गर्ने कार्य वस्तु विनिमय हो । एक आर्थिक एकाइ भन्नाले एकसाथ उत्पादन गर्ने र उपयोग गर्ने सबैभन्दा सानो एकाइलाई भन्न खोजिएको हो । अपवादबाहेक एक आर्थिक एकाइ भन्नाले एकसाथ उत्पादनका विभिन्न काम गर्ने र सो उत्पादन साथसाथ उपभोग गर्ने समूह हो । सामान्यतया यो एक परिवार हुन्छ । साम्यवादले भन्ने गरेको कम्युन अर्थात् सामूहिक परिवारको अवधारण यसैको विस्तारित रूप हो । अर्थात् पूरा समुदाय एक आर्थिक एकाइ अर्थात् परिवार ।
यस्तो परिवार जसमा सबैले मिलेर उत्पादन गर्दछन् अनि आफ्नो आवश्यकता अनुसार उपभोग गर्दछन् । यसको बचत र त्यसले बन्ने सम्पत्ति कम्युनको हुन्छ । यो सहकार्य, आपसी सद्भाव अनि मिलेर काम गर्ने अवधारणा सैद्धान्तिक रूपले अत्यन्त राम्रो लाग्छ । तर, यो अवधारणा मानव स्वभावको विपरीत भएकाले यस्ता कम्युनलाई आफ्नो अस्तित्व कायम राख्न कठिन हुन्छ । समाज एकल परिवारतिर आकर्षित भइरहेको युगमा संयुक्त परिवार नै अव्यावहारिक हुँदै गएको छ । यस्तोमा समुदाय परिवार अर्थात् कम्युनको अस्तित्व त्यति सम्भव छैन ।
एक आर्थिक एकाइले उत्पादन गरेको उत्पादको उपभोक्ता अर्को एकाइको सहज पहुँचमा नहुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा एकातिर आवश्यकताको वस्तु एकले प्राप्त गर्न नसक्ने र अर्कोले उत्पादको उपभोक्ता नपाउने हुन्छ । यस विषम परिस्थितिले मुद्रा, व्यापारजस्तो अवधारणा उत्पन्न भयो । यसले आर्थिक गतिविधिको सहजकर्ता संरचना तयार भयो । उत्पादकले सिधैं उपभोक्ता खोज्नुपरेन र उपभोक्ताले पनि सिधैं उत्पादक खोज्नुपरेन । उत्पादकले उत्पादन मुद्रामा विनिमय गर्न पायो र उपभोक्ताले पनि मुद्राको सहायताले आवश्यक वस्तु पायो । उत्पादकको उत्पादन उपभोक्तासम्म पुर्याउने काम व्यापार वा वाणिज्यले गर्यो ।
मागनुसार एक स्थानबाट वस्तु अर्को स्थानसम्म लैजाने काम यही व्यापारले आफू बिचौलिया भएर गर्दछ । उत्पादक र उपभोक्ताबीच व्यापार सेतुको काम गर्दछ अर्थात् बिचौलियाको काम गर्दछ । यो प्रक्रियाको सुरक्षा, सहजीकरण आदिको निमित्त शासकले काम गर्दछ । शासक, राज्यजस्ता संरचनाको उत्पत्ति नै यही कर्तव्य निर्वाहको निमित्त भएको हो । त्यसैले शासकले उत्पादन प्रणालीको संरक्षण, संवद्र्धन गर्नुपर्ने कुरा, उत्पादन बढाउन आवश्यक प्रबन्ध गर्नुपर्ने कुरा शास्त्रहरूले निर्देश गरेका छन् ।
यो शासकको पहिलो कर्तव्य हो । यसको निमित्त शासकले जनकल्याणकारी अर्थनीति निर्माण गर्छ । अर्थनीतिलाई व्यवहारमा ल्याउँछ र अर्थतन्त्रलाई गति दिन्छ । यदि राज्यका शासकहरू यो काममा असफल हुन्छन् भने उनीहरू शासन गर्न अयोग्य हुन्छन् । जुन राज्यले अयोग्य शासकलाई योग्य शासकद्वारा प्रतिस्थापन गर्न सक्दैन त्यो समाप्त हुने बाटोमा लाग्छ । आर्थिक असन्तोषले जन्माएको विद्रोह अन्य कारणले जन्मिएको विद्रोहभन्दा ज्यादा असरदार हुन्छ । अन्य विषयभन्दा आर्थिक विषय पेटसँग जोडिएको हुन्छन् । त्यसैले भोका पेटहरूले गरेको विद्रोह सबैभन्दा भयानाक हुने गर्दछ ।
उत्पादन तथा उपभोगको यो यात्रा केवल दाना, छाना र नानासँग मात्र सिमित छैन । यसमा अन्यभन्दा अलग देखिँने चहानाले पनि काम गरेको हुन्छ । सम्पत्ति सञ्चय र त्यस सञ्चयको आधारले विषेश ध्यानको इच्छाले अर्थतन्त्रलाई केवल आधारभूत आवश्यकतामा मात्र सीमित रहन दिँदैन । अरूलाई अप्राप्य वा सहज प्राप्त नहुने वस्तु आफूसँग हुनु र त्यसको प्रत्यक्ष वा परोक्ष प्रदर्शन गर्नु मान्छोको स्वभाव हो । उदाहरणका निमित्त हीराले मान्छेको दाना, छाना र नानाको आवश्यकतामा प्रत्यक्ष असर राख्दैन । तर, त्यो हिरा दाना, छाना र नानाको निमित्त चाहिने हरेक वस्तुभन्दा मूल्यवान हुन्छ । केवल आधरभूत वस्तुहरूको उत्पादन र उपयोगले अर्थतन्त्रको आकार ठूलो हुन सम्भव छैन । अर्थतन्त्र ठूलो हुन मान्छेको यो अतिरिक्त चाहनाको भूमिका हुन्छ । मान्छेको यस्तै चाहनाको निमित्त उसले सम्पत्ति प्राप्त गर्न ज्यादा प्रयत्न गर्दछ । यो ज्यादा प्रयत्न नियमन गर्न प्रवद्र्धन गर्न र यस क्रममा हुन सक्ने अपराध रोक्न शासकीय संयन्त्रको आवश्यकता हुन्छ ।
अर्थिक गतिविधिलाई तीव्रता दिन बैंकजस्ता वित्तीय संस्थाहरूको आवश्यकता हुन्छ । यस्ता वित्तीय संस्थाहरूसम्म समाजका हरेक तहका मान्छेहरूको पहुँच पुगेको छ कि छैन भन्ने रेखदेख गर्न र नपुगेको भए पुर्याउन काम गर्नु राज्यको अर्थनीतिका प्रमुख काममध्ये एक हो । यस्ता लेनदेन, ऋण वा कर्जाहरूमा लिनेदिनेहरूको सम्बन्ध न्यायोचित राख्ने काम शासकको हो । शेक्सपियरको ‘मर्चेन्ट अफ भेनिस’ मा वर्णित साइलक प्रवृत्तिले यस्ता ऋणी तथा धनीबीच अन्यायको जन्म नहोस् भन्ने कुरा शासकको कर्तव्यभित्र पर्दछ । धनी सबै बेठीक र ऋणी सबै ठीक भन्ने मान्यता सही होइन । ऋण लिने तर त्यो नतिर्ने भन्ने कुराले अर्थतन्त्र फष्टाउन सक्दैन । उत्पादन नभई कुनै पनि अर्थतन्त्र सहज चल्न सक्दैन । धेरैजसो आर्थिक समस्या, अराजकता आदिको कारण त्यो अर्थतन्त्रमा उत्पादन घट्छ । उत्पादन नहुने वा न्यून हुने परिस्थितिमा आर्थिकमन्दीको सम्भावना उच्चतम हुन्छ । मुद्रास्फीतिको दर र उत्पादन वृद्धिको दर व्युतक्रमानुपाती हुन्छ । अर्थात् एकको दर बढ्दा अर्कोको दर घट्छ ।
सामान्यतया व्यापारीको निमित्त उत्पादन उसको बिक्रीले प्राप्त नाफा हो, वित्तीय संस्थाहरूको उत्पादन उसले कमाउने नाफा हो । त्यस्तै सरकारको उत्पादन उसको राजस्व संकलन हो तर यी सबै उत्पादन होइनन् यी कमाइ हुन् । उत्पादन र कमाइ शब्दबीच झिनो अन्तर छ, उत्पादनले ज्ञानेन्द्रियले थाहा पाउने वस्तुहरू पैदा गर्दछ भने कमाइले पैदा गर्ने वस्तु भावले थाहा पाउँछ ज्ञानेन्द्रिय अनुभूति हुँदैन । कमाइ गरेको मुद्रा देख्न छुन सकिए पनि त्यो मुद्रा भने उत्पादित वस्तु होइन केवल त्यो भावको विनिमयमा प्राप्त मुद्रा हो । त्यसैले कमाइ भयो भन्दैमा उत्पादन भयो भन्नु त्यति ठीक कुरा होइन । उत्पादनबेगरका कमाइहरूले अर्थतन्त्र बढाउन सहयोग गर्दैनन् । उत्पादनको साथमा बढेका कमाइहरूले भने अर्थतन्त्र बढाउँछन् । जनताको उत्पादन नबढाई गरिएका व्यापारिक कमाइ, वित्तीय संस्थाहरूको कमाइ र सरकारको कमाइले अर्थतन्त्रमा नकारात्मक असर नै गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच