पार्टी सुदृढीकरणका लागि एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्दै, तोकिए अनुगमनकर्ता र फिल्ड कमाण्डर

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आज (फागुन १ गते) देखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान थालेको छ ।

पार्टीको सचिवालयको पन्ध्रौं बैठकले उक्त निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

सोमबार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियान सञ्चालनबारे स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्नुभयो। सातै प्रदेशमा एकैपटक चैत मसान्तसम्म चल्ने सो अभियानमा केन्द्रीय पदाधिकारीहरू पनि खटिने भएका छन् ।

उक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राख्नुभएको थियो । महासचिव शंकर पोखरेलले बैठकमा एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।

पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ । साथै, अभियान सञ्चालन अघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ ।

उक्त बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ ।

एमालेले वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको ठहर गर्दै मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय समेत गरेको थियो ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । सातै प्रदेशमा हुने कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

एमालेले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रुपमा नेताहरुलाई जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश १ अनुगमनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझी फिल्ड कमाण्डर तोकिनुभएको छ। त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुहुनेछ भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर गर्ने एमालेले जनाएकाे छ ।

वागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिनुभएको छ भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिनुभएकाे छ ।

त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिनुभएको छ । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिनुभएको छ ।

सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल अनुगमनकर्ता र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिनुभएको छ ।

पछिल्लो पटक बसेको एमाले सचिवालय बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको थियो ।

जसअनुसार पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटव्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी तोकेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?