राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा ब्रान्ट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिनुभयो ।

बेल्जियमका प्रशिक्षक जान डीलाई ६ महिनाका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उहाँ नेपालको महिला र पुरुष दुवै टोलीको प्रशिक्षक हुनुहुनेछ । जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आइपुग्ने भलिबल संघले जनाएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा जान डी नेपाल आउन लाग्नुभएको हो ।

६४ वर्षीय प्रशिक्षक जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम पनि हेरिसक्नुभएको छ । एसियन गेम्सको ४५ दिनअघि नेपाली टोलीलाई प्रशिक्षण दिन उहाँ आउन लाग्नुभएको हो । चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउँदैछ । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण यसै साताबाट सुरु हुने भएको छ । नेपाल भलिबल संघले महिला टिमको प्रशिक्षण फागुन ४ गतेबाट सुरु हुने जनाएको छ ।

दशरथ रंगशालाको कभर्डहलमा हुने बन्द प्रशिक्षणमा १८ देखि २१ खेलाडी राखिने संघको तयारी छ । प्रतियोगिता आगामी मे २० देखि ३० भित्र आयोजना हुने महासचिव श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगितामा नेपालसहित १० टिमको सहभागिता रहनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?