बैंकिङ प्रणालीमा सामाजिक सुरक्षा भत्ताः पारदर्शी बन्यो, सहज बनेन

जेष्ठनागरिक, अशक्त, अपांगलाई भत्ता बुझ्नै सास्ती

हिमालय टाइम्स
Read Time = 7 mins

सुरेश धामी
बझाङ । बझाङमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि असहज बनेको छ । जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत् घरैमा बसेर भत्ता बुझ्दै आएका जिल्लाका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती हुन थालेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि बैंकिङ प्रणाली अपनाउने सरकारी लक्ष्यअनुसार जिल्लाका ११ वटा स्थानीय तहले चालू आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । अझ साहारा कोही नहुने र आफैं हिँडडुलसमेत गर्न नसक्ने अशक्त, अपांगता भएका व्यक्तिले बिचौलिया खोज्नुपर्ने बाध्यता रहेको छ । बैंक पुग्न अनेकौं कष्ट व्यहोरेका सेवाग्राही बैंकमा पुर्‍याउनुपर्ने प्रक्रियामा रनभुल्ल हुन्छन् ।

बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको लाभग्राहीहरूको गुनासो छ । जिल्लाका ११ वटा स्थानीय तहको केन्द्रमा बैंक स्थापना भएका छन् । बैंकहरूले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था गरेका छैनन् । पालिकाहरूले पालिकाभित्रैका बैंकमार्फत् भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभर हिँड्नुपर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।

अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिसहरुले अरूको सहारा लिनुपर्ने अवस्थाका छन् । परिवारका सदस्य वा छिमेकीको सहारा लिने लाभग्राहीले बुझेको भत्ताको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् । नियमित सवारी नचल्ने भएकाले रिजर्भ गर्दा भाडा महँगो हुने, आवतजावत र अन्य खर्चसमेत स्वयं लाभग्राहीले व्यहोर्नुपर्ने भएपछि भत्ताबापत आउने रकम आधाभन्दा बढी खर्च हुनेगरेको बुंगल नगरपालिका-११ का स्थानिय मोहन बोहराले बताउनुभयो ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा नं ७ काडाचौरकी रेवती गुरुर्धामी ७५वर्ष पुग्नुभयो । ढल्किँदो उमेर, वृद्धावस्था र खुट्टा दुख्ने समस्याले उहाँ राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न् । विगतमा घरैमा भत्ता बुझ्ने उहाँलाई अहिले सरकारले दिने वृद्धभत्ता लिन झोताबजार पुग्नुपर्छ । बैंकसम्म पुगेर भत्ता लिन गाह्रो भएको उहाँकाे दुखेसो छ । काडाँचौर बाट झोता बजार पुुग्न गाडिमा ५ घण्टा लाग्छ भने हिडेर जान छोटो बाटोबाट ४ घण्टा लाग्ने भएपनि बाटो अप्ठ्यारो भएको कारण जेष्ठनागरिक, अशक्त, अपांगले गाडीमै यात्रा गर्नुपर्ने हुन्छ । रेवती जस्तै केदारस्युँ गाउँपालिकाका अरू लाभग्राहीले पनि अनेक कष्ट गरेर अहिले झोता बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताबारे जानकारी नपाएका लाभग्राहीको बुझाइ आफूहरूलाई दुःख दिन मात्रै बैंक धाउन लगाएको भन्ने छ । जिल्लाका अधिकांश ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट लिन निकै झन्झटिलो भएको बताएका छन् । सामाजिक सुरक्षा भत्ता लिन बैंकमा पुग्ने कतिपय ज्येष्ठ नागरिकहरूले घन्टौँ पालो कुर्नुपर्ने र बैंकका कर्मचारीको व्यवहार राम्रो नभएको बताउछन् ।

साइपालमा सेवाग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बझाङ जिल्लामा रहेका १२ वटा स्थानियतह मध्ये १ स्थानियतहले मात्रै सेवाग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । पालिकाको केन्द्रमा बैङ्कको शाखा नभएपछी साइपाल गाउँपालिकाले सेवाग्राहीको घरमै पुगेर भत्ता वितरण गर्न सुरु गरेको हो । मुलुकभरका ७५३ स्थानीय तहमध्ये साइपालमा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ तलकोट गाउँपालिका हो । जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ ।

यस गाउँपालिकाले बैङ्किङ सेवाकै लागि गाउँपालिकाको सम्पर्क कार्यालय बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ । यसबारे राष्ट्र बैङ्कमा दुई पटक पत्र पठाइसकेको तर कुनै सुनुवाइ नभएको गाउँपालिकाकाे भनाइ छ । अत्यन्तै विकट भएको कारण साइपालमा शाखा लैजान नसकिएको एभरेस्ट बैङ्कले जनाएको छ । साइपाल क्षेत्र भौगोलिक हिसाबले निकै टाढा छ । यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटसँग जोडिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?