गाउँलाई बजारसँग जोड्न एकै पटक दुई पुल निर्माण

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । केही वर्ष अगाडिसम्म काठेखोला गाउँपालिका–३ धम्जा र, वडा नम्बर ७ रेशमा बाह्रै महिना गाडी संचालन हुँदैनथे । अब गाउँहरुमा हिउँद बर्खा चल्ने छ । गाउँपालिकाको दुई स्थानमा मोटरेवल पुल निर्माण भएपछि स्थानीयसमेत हर्षित भएका छन् । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकसाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नम्बर ७ रेशमा रहेको एक्लेखेत स्थित रेशखोलामा मोटरेवल पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि रेश र धम्जामा अब बाह्रैमास यातयातका साधन चल्ने भएका छन् । काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछी सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“रेशमा वर्खामा खोला बढ्दा सवारीसाधन पार हुन सकेका थिएनन्, केही वर्ष अघि खोलामा ह्मम पाइप राखिएपनि खोलाले बगाएपछि समस्या थियो, केही सवारीसाधनहरु वर्खामा सिगानाको सडक हुँदै घुमेर बजार आउने जाने गरेका थिए” वडा अध्यक्ष लामिछानेले भन्नुभयो “काठेखोलामा दुई पुल एकैसाथ निर्माण हुँदा बर्खामा सवारीसाधन आउजाउ गर्न सहज भएको छ ।”

रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल रेश खोलामाथि निर्माण भएको हो ।

पाँच करोड रुपैयाँ लागतमा पुल निर्माणको लागि निलगिरी नेशनल जेभीले जिम्मा लिएको थियो । २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्त सम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण व्यवसायीको छ । पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ ।
यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ३१ लाख रुपैयाँमा उक्त पुलको निर्माणको जिम्मा समेत निलगिरी नेशनल जेभीले लिएको थियो । २०७७ साल माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता भन्दा दुई वर्ष पछि मात्रै सम्पन्न भएको छ ।

लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिनुभयो । “सवारीसाधन पुलबाटै गुड्न थालेका छन्, हस्तान्तरण र उद्घाटन भएको छैन, केही रङ्गरोगनको काम सकेर हस्तान्तरणका गर्ने निर्माण व्यवसायीको भनाई छ” विकले भन्नुभयो ।

कोरोना माहामारी, बर्खाका कारण निर्माणको काममा केही अवरोधका बीच पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुनिल सिंह खत्रीले बताउनुभयो । रेश र बिँहु जोड्ने पुलले दुवै वडा मात्र नभएर गाँउपालिकाको सबै जनतालाई यात्रामा सहज प्रदान गर्ने काठेखोला गाउँपालिकाले जनाएको छ । पुलसँगै अब सडक पनि स्तरोन्नती गर्न स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?